कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बोक्सी आरोपमा कुटपिट गर्नेलाई हदै कारबाही : गृहमन्त्री

पीडितलाई क्षतिपूर्ति र दोषीलाई कडाभन्दा कडा कारबाही माग गर्दै तीन विद्यार्थी संगठनद्वारा ज्ञापन
विमल खतिवडा

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले कैलाली घोडाघोडीकी १८ वर्षीया राधा चौधरीलाई बोक्सी आरोपमा कुटपिट गर्नेहरूलाई कानुनअनुसार कारबाही हुने बताएका छन् । गृह मन्त्रालयमा शनिबार तीन विद्यार्थी संगठनको ज्ञापनपत्र बुझदै थापाले घटनामा संलग्नले कठोरभन्दा कठोर सजाय पाउने आश्वस्त पारे । 

बोक्सी आरोपमा कुटपिट गर्नेलाई हदै कारबाही : गृहमन्त्री

‘अपराधीहरूले सजाय पाउनुपर्छ, आज अपराधीहरूकै कारण देश अशान्त छ,’ उनले भने, ‘त्यसैले अपराध अन्त्यको माग आजको आवाज हो ।’ अपराध अन्त्य गर्न गृहलाई युवाहरूको साथ चाहिएको थापाले बताए । ‘समाजमा जुन कुरीति छन्, यसमा टेकेर अपराध भइरहेको छ,’ उनले भने, ‘ती अपराधीविरुद्ध विद्यार्थी संगठनले उठाएको आवाज जायज छ, यो अरू युवाका निम्ति प्रेरणा हुन सक्छ, यसका लागि तपाईंहरूको आवाजमा गृह मन्त्रालयको पूर्ण रूपमा समर्थन तथा साथ रहने छ ।’


उनले अपराधीहरूकै कारण देश गरिबीको दुश्चक्रमा फसेको बताए । ‘केही समयअघि निर्वाचन भयो, जनताको जनादेश अपराधीलाई समाप्त पारेर गरिबी र दुश्चक्रबाट देशलाई मुक्त गर भन्ने हो,’ उनले भने । सत्तापक्ष र प्रतिपक्ष एक भएर ज्ञापनपत्र बुझाउन आएकामा खुसी लागेको बताउँदै मन्त्री थापाले एकढिक्का भएर अपराधीविरुद्ध नयाँ अभियान छेड्नुपर्ने बताए ।


एमाले, कांग्रेस र माओवादी विद्यार्थी संगठन अनेरास्ववियु, नेविसंघ र अखिल (क्रान्तिकारी) ले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन् । उनीहरूले बोक्सीको आरोपमा घटाइएको पाशविक, बर्बर र जघन्य घटनाले आफूहरूको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै दोषीमाथि अविलम्ब कारबाही गर्न माग गरे । ‘१२ कक्षामा अध्ययनरत चौधरीलाई कथित बोक्सी आरोप लगाउँदै ६ घण्टासम्म लगातार कुटपिट गरी मरणासन्न बनाएको घटनाले सिंगो नेपाली सभ्यतालाई लज्जित तुल्याएको छ,’ केही दिनअघि पर्साको सुगौली पर्तेवामा ८ वर्षीया बालिकालाई बलात्कार गरिएको घटना सार्वजनिक भएको उल्लेख गर्दै ज्ञापनपत्रमा भनिएको छ, ‘यस खालका बर्बर घटनाप्रति घोर निन्दा र भत्र्सना गर्दै दोषीलाई तत्काल नियन्त्रणमा लिई हदैसम्मको कारबाही गरी पीडितलाई न्याय दिन माग गर्दछौं ।’


ज्ञापनपत्रमा पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि माग गरिएको छ । कानुनको खुकुलोपन र राज्यको दण्डहीनताका कारण बारम्बार यस्ता घटना दोहोरिने गरेको औंल्याउँदै विद्यार्थी संगठनहरूले विद्यमान ऐनमै संशोधन गरी यस्ता अपराधीलाई कडा कारबाहीको व्यवस्था गर्न सरकारसित माग गरे । ‘अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेको समयमा कैलालीको घोडाघोडीमा बोक्सी आरोपमा भएको घटना निकै निन्दनीय र हृदयविदारक छ, नेपाली समाजका लागि यो निकै दु:खद विषय हो,’ अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले भने, ‘यस्ता प्रकारका घटनामा संलग्नलाई हदैसम्मको कारबाही गर्न तीन विद्यार्थी संगठन जोडदार माग गर्छौं ।’


अनेरास्ववियुकी अध्यक्ष नविना लामा, नेविसंघका अध्यक्ष नैनसिंह महर र अखिल (क्रान्तिकारी)का अध्यक्ष तामाङको संयुक्त हस्ताक्षरमा ज्ञापनपत्र गृहमन्त्री थापालाई बुझाइएको हो ।

प्रकाशित : फाल्गुन २६, २०७४ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?