३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

शंकास्पद मृत्युको अनुसन्धान जटिल

शंकास्पद मृत्युका घटनामा यकिन कारण पत्ता लगाउन ‘डाइटम कम्पेयर टेस्ट’ प्रविधि  अभाव रहेको चिकित्सकको भनाइ
प्रदीप मेन्याङ्बो

धरान — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘डाइटम कम्पेयर टेस्ट’ प्रविधि नहुँदा शंकास्पद मृत्युका घटनाको अनुसन्धान जटिल बनेको छ । प्रविधि नभएकै कारण गत असारमा भोजपुरका तीन बालिकाको शव भेटिएको प्रकरण अझै सुल्झिन सकेको छैन । 

यो प्रविधिले निधन, हत्या, आत्महत्या वा दुर्घटना कुन कारणले भएको भन्ने छुटयाउन सघाउँछ । प्रतिष्ठानमा ‘डाइटम कम्पेयर टेस्ट’ प्रविधि जडान गर्न बढीमा पाँच लाख रुपैयाँको माइक्रोस्कोप भए पुग्छ । तर, गृहमन्त्रालयको लिखित स्वीकृति पनि चाहिन्छ । प्रविधि नभएकै कारण बालबालिकाको सामूहिक मृत्युको कारण खुलाउन नसकिएको प्रतिष्ठानको फरेन्सिक विभागले जनाएको छ ।


गत असार १२ गते भोजपुरको अरुण–३ का १४ वर्षीय रञ्जिव सापकोटा, १३ वर्षीया सुष्मा फुयाल र ८ वर्षीय प्रदीप फुयालको स्थानीय तोरण कार्कीको माछापोखरीमा डुबेको अवस्थामा शव भेटिएको थियो । उक्त प्रकरणमा प्रहरीले प्रतिष्ठानको फरेन्सिक विभागका चिकित्सकलाई थप तथ्य पत्ता लगाउन सहयोग मागेको थियो । प्रतिष्ठानका विशेषज्ञले जाँच गर्दा तीनैजनाको घाँटीमा खाद्य पदार्थ अड्किएको फेला पारेका थिए । उनीहरूको घाँटीमा चुइगम, बदाम र प्याजका टुक्रा भेटिएको थियो । प्रदीपको श्वासप्रश्वास नलीसमेत खानेकुराले थुनिएको थियो । चिकित्सकका अनुसार बालबालिकाको शरीरमा अन्य चोटपटक, दागधब्बा र विषादी केही थिएन । उनीहरूको मृत्यु डुबेरै भएको वा हत्या गरेर पोखरीमा फालिएको भन्ने छुटयाउन डाइटम कम्पेयर टेस्ट गर्नुपर्ने फरेन्सिक विशेषज्ञको भनाइ छ ।


चिकित्सकले भिसेरा (आन्द्रा, भुँडी, मुटु, कलेजो, मिर्गौला, फोक्सो, रगत आदि र पेटमा रहेको खाद्य पदार्थ) मा भएका डाइटम र घटनास्थल पोखरीमा पाइएको डाइटम तुलना गर्न प्रहरीलाई जिम्मा दिएको थियो । तर, काठमाडौं, सामाखुसीस्थित प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालाले प्रविधि अभाव देखाउँदै ‘डाइटम कम्पेयर टेस्ट’ गर्न नसकेको रिपोर्ट निकालेको थियो ।


प्रतिष्ठानका फरेन्सिक विशेषज्ञ सहायक प्राध्यापक डा. विकास साह र जुनियर रेसिडेन्ट डा. दीक्षान्त पोखरेलको टिमले बालबालिकाको मृत्युको यकिन कारण खुलाउन नसकेको भनी साउन अन्तिम साता प्रहरीलाई रिपोर्ट बुझाइसकेको छ । ‘सुरुमा हामीले डुबेर मृत्यु भएको हो कि भनेर डाइटम टेस्टका लागि प्रहरीको प्रयोगशालामा भिसेरा पठायौं तर प्रहरीले तुलना गर्ने प्रविधि नभएको रिपोर्ट पठायो,’ डा. साहले भने, ‘हाम्रो ल्याबमा पनि ती डाइटम तुलना गरेर रिपोर्ट दिने प्रविधि छैन । त्यस्तो ल्याब राख्न गृहमन्त्रालयको अनुमति पनि छैन । त्यसैले मृत्युको कारण यही हो भनेर खुलाउन नसकेको रिपोर्ट पठाएका छौं । बाँकी काम प्रहरीले गर्ने हो ।’


मृतक बालबालिकाको शरीरमा पाइएको र पोखरीको पानीको डाइटम तुलनापछि मात्र मृत्युको सही तथ्य फेला पार्न सकिने साहले बताए । ‘शरीरमा पाइएको डाइटमसँग पोखरीको डाइटम मेल नखाए एउटा रिपोर्ट आउन सक्छ, मेल खाए अर्कै आउँछ,’ उनले भने, ‘आफ्नो मुलुकमा यो प्रविधि नभए अन्य मुलुकमा लगरे भए पनि जाँच गर्न सकिने सल्लाह दिएका छौं तर यो काम सरोकारवालाहरूको हो ।’


के हो डाइटम ?

फरेन्सिक चिकित्साशास्त्रअनुसार सबै पोखरी, तलाउ, खोलाखोल्सी, कुलो, नहरको पानीमा डाइटम नामक तत्त्व पाइन्छ । कोही अचानक डुबेमा नाक र मुखबाट एकैचोटि फोक्सोमा पानी पुगी रक्तसञ्चार रोकिएर मृत्यु हुन सक्छ । यस क्रममा पोखरीको पानीको डाइटम मृतकको शरीरमा पुगेको हुन्छ । मृतकको शरीरमा सोही पोखरीको पानीमा पाइने डाइटम फेला नपरे उसको हत्या गरेर फालिएको सम्भावना बलियो हुन्छ ।

प्रकाशित : फाल्गुन २७, २०७४ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?