२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

‘प्रेसलाई अंकुश लगाए देशै रहन्न’

अवधेशकुमार झा

राजविराज — कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले न्यायपालिकाले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोज्नु गलत भएको बताएका छन् । ‘प्रेसमाथि अंकुश लगाउन थालियो भने नेपाल रहँदैन, प्रजातन्त्र रहँदैन, फेरि हामी पुरानै अवस्थामा फर्किन्छौं,’ सप्तरीको राजविराजमा शनिबार मुस्लिम संघ नेपालको दोस्रो अधिवेशन उद्घाटनमा कोइरालाले भने ।

‘प्रेसलाई अंकुश लगाए देशै रहन्न’

प्रेसमाथि अंकुश लगाएर नेपाललाई पुरानै युगमा फर्काउन खोजिएको आरोप उनले लगाए । ‘प्रेस स्वतन्त्र रहेन भने निर्वाचित प्रधानमन्त्री त हुन्छ, तर उसले जे मन लाग्छ त्यही गर्छ । गलत कार्यहरू प्रेसमा आउन सक्दैन,’ उनले भने । प्रेस स्वतन्त्रता कांग्रेसका लागि महत्त्वपूर्ण भएको बताउँदै कोइरालाले न्यायपालिकाले प्रेस स्वतन्त्रताको विषयलाई गम्भीरतापूर्वक नलिएको जिकिर गरे । ‘बजारमा आएको कुरालाई प्रेसले उजागर गर्ने हो, त्यसलाई छिनोफानो गर्ने निकायहरू छन्,’ उनले भने, ‘न्यायपालिकाले प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने जुन काम सुरु गरेको छ, त्यो गलत हो ।’


प्रेस स्वतन्त्रताबिना प्रजातन्त्र रहन नसक्ने उनले बताए । शक्तिसन्तुलनका आधारमा मुलुक नचल्दा निरकुंशतन्त्र हाबी हुन सक्ने बताउँदै कोइरालाले लोकतन्त्र जोगाउने जिम्मेवारी कांग्रेसको काँधमा रहेको बताए । प्रधानमन्त्री केपी ओलीको भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने अभिव्यक्तिप्रति कोइरालाले व्यंग्य गरे । ‘ओलीजीले प्रधानमन्त्री हुनुभन्दा दुई/चार दिनअघि ब्ल्याक मनीलाई हवाइट बनाए हुन्छ भन्नुभएको छ,’ उनले भने, ‘व्यवसायी अजेय सुमार्गीले नाजायज किसिमले कमाएको पैसा राष्ट्र बैंकले रोकेको छ । अब हेर्नु छ, ओलीजी र प्रचण्डजीले मिलेर कसरी त्यो रकम निकाल्नुहुन्छ र सुमार्गीलाई हवाइट मनी बनाउन दिनुहुन्छ । सरकारको शून्य सहनशीलता यसैमा देखिन्छ ।’

प्रकाशित : फाल्गुन २७, २०७४ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?