१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

‘मिडिया नियन्त्रण गर्न खोज्नु गलत’

प्रेसमाथि सेन्सरसिप
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सञ्चारमाध्यम माथि अंकुश लगाउन खोज्नु गलत भएको बताएका छन् । काठमाडौंमा रिपोर्टर्स क्लबद्वारा शनिबार आयोजित कार्यक्रममा पूर्वसञ्चारमन्त्रीसमेत रहेका राईले संविधानले नै प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेकाले कसैले पनि मिडियामा अंकुश लगाउन सम्भव नरहेको बताए ।

‘मिडिया नियन्त्रण गर्न खोज्नु गलत’

राईले तीनै तहमा नागरिक सरकार बनिसकेकाले संविधान विपरीतका कुनै पनि काम हुन नदिइने बताए । ‘कान्तिपुरमाथि जुन अवहेलनाको मुद्दा लगाइएको छ, सर्वोच्च अदालतले त्यसको निरूपण संविधानबमोजिम आफ्नो मर्यादालाई ख्याल गरेर, संविधानको मूल मर्म र भावनाअनुरूप गर्नुपर्छ,’ उनले भने, ‘मिडियामाथि नियन्त्रण र अंकुशको कुनै गुञ्जायस रहँदैन ।’ राईले मिडियामाथि नियतपूर्वक नियन्त्रण गर्ने हिसाबले अंकुश लगाउन खोज्नु र निसाना बनाउनु गलत भएको बताए । ‘संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था गरेका छौं । कसैले पनि मिडियामाथि अंकुश लगाउन र निसाना बनाउन सक्तैन,’ उनको भनाइ थियो ।


मुख्यमन्त्री राईले प्रदेश १ को राजधानी र नामांकन जेठ महिनाअगाडि नै हुने जानकारी दिए । ‘छिट्टै औपचारिक रूपमै राजधानी र प्रदेश नामांकनको प्रस्ताव प्रदेश संसद्मा लैजाँदैछौं,’ उनले भने । उनले नामांकन र राजधानीका विषयमा सरकारले सहजीकरणको भूमिका मात्रै निर्वाह गर्ने उल्लेख गर्दै भने, ‘प्रदेशसभाको दुई तिहाइले राजधानी र प्रदेशको नाम टुंग्याउँछ ।’


कसैको दबाब, आक्रोश र भावनामा प्रदेश राजधानीको निर्णय र प्रदेशको नामांकन हुन नसक्ने स्पष्ट पार्दै मुख्यमन्त्री राईले भने, ‘सबैको भावना र प्रस्तावलाई समेट्ने प्रयास हुन्छ ।’

प्रकाशित : फाल्गुन २७, २०७४ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?