कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

दोषीलाई जघन्य अपराधको मुद्दा चलाइने

बोक्सी आरोपमा यातना
प्रदेशसभामा सांसदहरूले गरे कारबाही माग
मुख्य आरोपी भोलेबाबा फेरि पक्राउ, केही गाउँ छाडेर फरार
हदैसम्मको कारबाही गर्छु : गृहमन्त्री
डीआर पन्त, अर्जुन शाह

धनगढी — कैलालीको घोडाघोडी नगरपालिका देउकलीमा बिहीबार बोक्सी आरोपमा युवतीलाई बर्बर यातना दिइएको घटनामा संलग्नमाथि प्रशासनले मुद्दा चलाउने तयारी गरेको छ । नगरपालिका–५, देउकलीकी १८ वर्षीया राधा चौधरीलाई बोक्सी आरोपमा ६ घण्टासम्म निर्घात कुटपिट गरेर यातना दिइएको थियो । सख्त घाइते चौधरीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । 

‘मुद्दा चलाउने तयारी भइरहेको छ,’ कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भने, ‘जघन्य अपराधअन्तर्गत घटनामा संलग्न सबैलाई कारबाही हुन्छ ।’ प्रहरीले मुख्य आरोपी भोलेबाबा भनिने रामबहादुर चौधरीलाई पुन: पक्राउ गरेको छ । घटनामा संलग्न अन्य सबैको खोजी भइरहेको प्रजिअ रिजालले बताए । काम गरिरहेको समयमा घरबाट राधालाई बाँधेर लैजाने किस्मती चौधरीसहित ७ जनालाई भने शनिबारसम्म पनि पक्राउ गरिएको छैन । प्रहरी नायब उपरीक्षक सागर बोहराले संलग्न सबै स्थानीय बासिन्दा भएकाले आवश्यक अनुसन्धान भइरहेको बताए । घटनालगत्तै इलाका प्रहरी कार्यालय सुख्खडमा मिलापत्र गराएकोमा जिल्ला प्रहरी कार्यालयले २४ घण्टे स्पष्टीकरण सोधेको छ । घटनालाई ढाकछोप गर्ने उद्देश्यले घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीको रोहबरमा मिलापत्र गराई मुख्य अभियुक्त रामबहादुर चौधरीलाई प्रहरीले छाडेको थियो । मिलापत्र गराउने प्रहरी नायब निरीक्षक दिनेश विष्टले जनप्रतिनिधिको रोहबरमा मिलापत्र गराएको तर्क गरे ।

नगरपालिकाका प्रमुख चौधरीले भने शनिबार पत्रकार सम्मेलन गरी आफूलाई अनावश्यक रूपमा मुछिएको भन्दै बचाउ गरे । ‘घटनाबारे मैले साँझ अबेर मात्र जानकारी पाएको हुँ,’ उनले भने, ‘घटना भइरहँदा म आफन्तको मलामी गएको थिएँ ।’ शुक्रबार मिलापत्र गराउन लागिपरेका चौधरीले पत्रकारसँग भने जघन्य अपराध भएकाले घटनामा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । प्रहरीले पनि नगरप्रमुख चौधरीले नै प्रहरी कार्यालयमा पुगेर घटना मिलाउन दबाब दिएको दाबी गरेको छ ।

मुख्य आरोपी भोलेबाबा पक्राउ परेलगत्तै गाउँका सयौं सर्वसाधारण उनलाई प्रहरी नियन्त्रणबाट मुक्त गराउन जनप्रतिनिधिसहित इप्रका सुख्खड पुगेका थिए । जनप्रतिनिधिको दबाबमा मुख्य आरोपी चौधरीलाई कागज गराएर छाड्न बाध्य भएको प्रहरीको तर्क छ । घटना सञ्चारमाध्यममा आएपछि प्रहरीले कुटपिट गर्ने चौधरीलाई पुन: पक्राउ गरेको हो । घटनामा प्रत्यक्ष संलग्न ७ जनाभन्दा बढी गाउँ छाडेर भागेका छन् ।

बोक्सी आरोपमा घरबाट जबर्जस्ती लैजाने किस्मती चौधरीसहितका अन्य फरार भएका हुन् । सेती अञ्चल अस्पतालमा उपचार गराइरहेकी पीडित युवतीको पेट, छाती, टाउको, खुट्टा, घाँटी, नाक, कानलगायत शरीरका विभिन्न भागमा चोट छन् ।

उपचारमा संलग्न चिकित्सकका अनुसार बाहिरी भागमा भन्दा पनि युवतीको भित्री भागमा चोट बढी लागेको छ । पीडितलाई भेट्न अस्पताल पुगेकी कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले उनको उपचारको सम्पूर्ण खर्च प्रदेश सरकारले बेहोर्ने बताएकी छन् । पूर्णा जोशी, मालामती राना, चुनकुमारी चौधरीलगायत प्रदेश महिला सांसदहरू अस्पताल पुगी उनको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् । मानव अधिकार आयोगको टोली पनि घटनाबारे बुझ्न शनिबार घटनास्थल पुगेको छ । आयोगको क्षेत्रीय कार्यालय धनगढीको टोली गाउँ पुगेको हो ।

घटनामा संलग्नलाई राजनीतिक दबाबमा उन्मुक्ति दिने प्रयास भइरहेको पीडितले आरोप लगाएकी छन् । घटना सार्वजनिक भएदेखि नै राजनीतिक रूपमा घटना लुकाउने दबाब आएको उनका दाजु दीपेश चौधरीले बताए । अभियोग लागेका भोलेबाबा बताउने रामबहादुर चौधरीले थुप्रैका श्रीमतीलाई बोक्सी आरोपमा कुटपिट गर्ने, हप्काउने, धम्क्याउने गरेको पनि पीडित पक्षको आरोप छ ।

प्रकाशित : फाल्गुन २७, २०७४ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?