कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल–चीन सीमा बैठक: प्रवेशाज्ञा लागू गर्न माग

बलराम घिमिरे

रसुवा — नेपाली पक्षले रसुवाबाहेकका अन्य जिल्लाका बासिन्दालाई चीनको केरुङसम्म जानका लागि एकदिने पासको व्यवस्था लागू गर्न चिनियाँ अधिकारीलाई अनुरोध गरेको छ । नेपाल र चीनका सीमावर्ती जिल्लाका अधिकारीका बीचमा शनिबार केरुङमा भएको बैठकमा उक्त माग गरिएको हो ।

नेपाल–चीन सीमा बैठक: प्रवेशाज्ञा लागू गर्न माग

चिनियाँ अधिकारीले यस्तो व्यवस्था लागू गर्न पहल गरिने र केन्द्रीय स्तरबाट सहमति भएमा एकदिने पास लागू गर्न सकिने जानकारी दिएको रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए । एकदिने पासको व्यवस्था नहुँदा रसुवा जिल्लाभन्दा बाहिरकालाई व्यापार गर्न सास्ती भएको छ । गाडी चालकसमेत त्यहाँ जान सकिरहेका छैनन् ।

व्यापारी उत्तम गौतमले पासको व्यबस्था नहुदा केरुङसम्म जान नसकेको गुनासो गरे । ‘रसुवा जिल्लाभन्दा बाहिरका व्यापारी र चालकलाई केरुङसम्म जाने पहुँच छैन । त्यहाँ सामान कस्तो अवस्थामा राखिएको छ, थाहा नै हुँदैन । त्यहाँ जान खुकुलो व्यवस्था भए व्यापार–व्यवसायले गति लिनेछ,’ उनले भने ।

रसुवाका सुरक्षा अधिकारी र चीनको जिलोङ काउन्टीका स्थानीय सुरक्षा अधिकारीका बीचमा बैठक भएको थियो । बैठकमा जिलोङ काउन्टीका सुरक्षा अधिकारी कर्णेल गाओ हुइहाइ र भन्सार, क्वारेन्टाइन तथा अध्यागमनका अधिकारीलगायतको सहभागिता थियो ।

दुवै पक्षका बीच सीमा नाकाबाट हुन सक्ने मानव बेचबिखन, अवैध लागूपदार्थ ओसारपसार, वन्यजन्तुका अंग तथा जडीबुटी निकासी र सुन तस्करीजस्ता अवैध गतिविधि हुन नदिन सुरक्षा गस्ती बढाउने सहमतिसमेत भएको छ । दुवै देशले एक अर्को राष्ट्रका विरुद्ध आआफ्नो भूभागमा कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धता जनाउँदै उच्च सुरक्षा सतर्कता अपनाउने जनाएका छन् । ‘यस्ता गतिविधि हुन नदिन समयमै सुचना आदानप्रदान गर्ने सहमति भएको छ,’ प्रजिअ न्यौपानेले बताए ।

बैठकमा दुवै देशका स्थानीय प्रशासन, भन्सार, अध्यागमन तथा सुरक्षा निकायबीच समय समयमा बैठक बसी दुवै पक्षको समन्वयलाई थप प्रभावकारी बनाउनेबारे पनि छलफल भएको छ । प्रजिअ न्यौपानेले बैठकमा सीमा नाकाको सुरक्षा व्यवस्था कडा पार्न तथा आवतजावतलाई झन् सुदृढ बनाउन आवश्यक पर्ने उपकरण सहयोग गर्न चिनियाँ पक्ष इच्छुक रहेको बताए ।

त्यस्ता सामग्री ल्याउन थप छलफल गरी प्रस्ताव पठाउन चिनियाँ पक्षले आग्रह गरेको उनको भनाइ छ । उनले भने, ‘रसुवागढी नाकामा भएको अध्यागमन, भन्सार, क्वारेन्टाइन (निकासी र पैठारी) को समस्या र समाधानका विषयमा पनि छलफल भएको छ ।’ उनले रसुवागढी नाकाबाट व्यापारिक कारोबार बढे पनि भौतिक अवस्था नाजुक भएकाले सामान जाँचका कुनै पनि उपकरण नहुँदा समस्या बल्झिरहेको बताए । भन्सारमा भेहिकल एक्सरे, मेटल डिटेक्टर र सीसी क्यामेरालगायत उपकरण जडान नहँुदा छामछुमका भरमा सुरक्षा जाँच गर्नुपर्ने बाध्यता छ ।

प्रकाशित : फाल्गुन २८, २०७४ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?