१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

लिलामी नभएपछि संग्रहालयमा राखिँदै

सेनाका हवाई साधन
चन्द्रशेखर अधिकारी

काठमाडौँ — लिलामीमा राखिएका हवाई साधन बिक्री नभएपछि नेपाली सेनाले छुट्टै ‘हवाई संग्रहालय’ को अवधारणा अघि बढाएको छ । सेनाले ९ हवाई साधन लिलामीमा राखेकामा ४ वटाको मात्र बिक्री प्रक्रिया अघि बढेको छ । 

लगातारका टेन्डरपछि ४ हेलिकप्टरको बिक्री प्रक्रिया अघि बढेको भए पनि ५ वटाका विषयमा प्रक्रिया नै अघि नबढेकाले तिनको व्यवस्थापनका लागि सेनाले यस्तो अवधारणा ल्याएको हो । सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले कान्तिपुरसँग भने, ‘बिक्री नभएका हवाई साधनलाई कतै म्युजियम बनाएर राखी ह्यांगर खाली गर्ने योजनाबारे छलफल भइरहेको छ ।’ हेलिकप्टरको बिक्रीबारे सेनाभित्रैबाट पनि प्रश्न उठिरहेको अवस्थामा हवाई साधन ‘म्युजियम’ मा राख्ने तयारी भएको हो । म्युजियम कहाँ स्थापना गर्ने भन्ने बारेमा छलफल गरेर टुंगोमा पुग्ने अधिकारीहरूले जनाएका छन् ।

सेनाको हवाई निर्देशनालयले आफूसँग रहेका तीन थान पुमा तथा सुपर पुमा हेलिकप्टर, एक चिता हेलिकप्टर, एक एभ्रो हवाईजहाज, दुई एलौट हेलिकप्टर तथा दुई थान एमआई १७ हेलिकप्टर र त्यसका पार्टपुर्जा लिलाममा राखेको थियो । लिलामीमा राखिएका सबै हवाई साधन र पार्टपुर्जाको कुल न्यूनतम मूल्य ६५ करोड ७६ लाख ५८ हजार निर्धारण गरिएको थियो । बिक्री प्रक्रिया अघि ४ मध्ये एउटा हेलिकप्टर अफ्रिकी मुलुकमा उड्ने निश्चित भइसके पनि अन्य २ हेलिकप्टर र एउटा एभ्रो विमानको अझै टुंगो लाग्न सकेको छैन । एउटा हेलिकप्टरको सबै प्रक्रिया टुंगिसकेको भए पनि अन्य तीनवटा प्रक्रियामा नै रहेको नेपाली सेनाका अधिकारीले जानकारी दिए । हवाई साधनसँगै तीनमा उपयोग हुने पार्टपुर्जासमेत बिक्रीका लागि राखिएको छ । सेनाले मर्मतमा धेरै खर्च लाग्ने भन्दै यस्ता हेलिकप्टर र त्यसमा उपयोग हुने पार्टपुर्जा बिक्री गर्न लागेको थियो ।

धेरैपटक मर्मत गर्नुभन्दा नयाँ खरिद प्रक्रिया मुलुकको हितमा रहेको सेनाको निष्कर्ष छ । ‘हवाई संग्रहालय’ मा पुराना हवाई साधन पार्टपुर्जा, गाडी, रोबोटलगायत राख्न सकिने अधिकारीहरूले बताए । टेन्डरमा नबिकेकालाई कवाडीमा बेच्नुभन्दा म्युजियममा राख्दा पछिल्लो पुस्तालाई यसबारेमा जानकारी हुनेसमेत सेनाको भनाइ छ । नेपाली सेनाको छाउनीमा रहेको संग्रहालयमा पुराना हतियार, लडाइँका तस्बिर संगृहीत छन् ।

बिक्री प्रक्रिया अघि बढेको एउटा पुमा हेलिकप्टर भने केही सातामै अफ्रिकी मुलुक पुग्नेछ । अफ्रिकी महादेशमा रहेका आफ्ना सेनाका अधिकृतमार्फत समेत सेनाले बिक्रीको लबिइङ गरिरहेको भए पनि अन्यमा प्रगति हुन सकेको छैन । उक्त पुमा सामान्य मर्मतपछि उडान भरेरै लैजान सकिने इन्जिनियरिङ परीक्षणको रिपोर्ट छ ।

प्रकाशित : फाल्गुन २८, २०७४ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?