१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

अमेरिकाको लोभ देखाएर लेबनान

नेपाली युवतीलाई चरम यातना
अवैध कामदार फर्कनै कठिन
मानव तस्करलाई कारबाही नहुन्जेल समस्या : दूतावास
चन्द्रशेखर अधिकारी

काठमाडौँ — आकर्षक पारिश्रमिक र अमेरिका जान पाउने लोभ देखाएर पछिल्लो समय नेपाली महिलालाई लेबनान पुर्‍याउने क्रम बढेको छ । जबकि लेबनानमा कार्यरत महिला भने अध्यागमनमा जरिवाना तिरेर भए पनि स्वदेश फर्कन खोजिरहेका छन् । 

अमेरिकाको लोभ देखाएर लेबनान

लेबनान पुग्ने नेपाली महिला कामदारले भनेजस्तो सजिलो काम नपाउने मात्र होइन, चरम यातनासमेत भोग्ने गरेको बताइन्छ । लेबनानसमेत हेर्ने इजिप्टस्थित नेपाली दूतावासका अनुसार अवैध रूपमा त्यहाँ पुग्ने नेपाली कामदारलाई स्वदेश फर्कन पनि सजिलो छैन । अध्यागमन शुल्क बुझाएर मात्र पनि फर्किन सकिँदैन, लामो कागजी झन्झट पूरा गरेर चर्को शुल्क बुझाउनुपर्छ । ‘नेपाली महिलाका लागि लेबनान न काम गर्न सहज छ न फर्किन नै,’ दूतावासका एक अधिकारीले भने ।

‘लेबनान, युद्धग्रस्त सिरियासहित अन्य अफ्रिकी मुलुकमा पछिल्लो समय नेपाली महिला घरेलु कामदार अलपत्र पर्ने क्रम बढेको छ,’ इजिप्टका लागि नेपाली राजदूत झविन्द्र अर्यालले भने, ‘हामी लगातार उद्धारमा लागिरहेका छौं । यता पठाउनेहरूलाई पत्ता लगाएर कारबाही नगरेसम्म त्यो शृंखला रोकिँदैन ।’

दूतावासले फिर्ता पठाएका पीडितको बयान र उजुरीका आधारमा मानव तस्करीमा संलग्नलाई तत्काल कारबाही गर्न र जनचेतना फैलाउनसमेत उनले सरकारलाई सुझाएका छन् । जनचेतनाको कमीले पनि यस्ताको लोभमा नेपाली महिला पर्ने गरेको उनको भनाइ छ । लेबनान अमेरिकी प्रभाव रहेको मुलुक भएको र त्यहाँ नेपाली शान्ति सेना खटिएको भन्दै मानव तस्करले कामदार लैजाने गरेका छन् । शान्ति सेना भएका कारण समस्या नपर्ने र पछि अमेरिका जानसमेत सहज हुने झूटो आश्वासन दिएर घरेलु कामदारका रूपमा नेपाली महिला त्यहाँ पुर्‍याउने गरिएको छ । कतिपयलाई युरोप लैजाने भनेर पनि त्यहाँ पुर्‍याइएको जानकारी आएको पनि दूतावासले उल्लेख गरेको छ ।

राजदूत अर्यालका अनुसार लेबनानबाट पछिल्लो तीन महिनामा दुई पटक गरी १७ नेपाली महिलाको उद्धार गरिसकिएको छ । काठमाडौं विमानस्थलबाट अर्कै मुलुक पुर्‍याई त्यहाँबाट लेबनान लैजाने काम भइरहेको जानकारी दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको छ । लेबनानमा ८ सय ७२ नेपाली सैनिक शान्ति मिसनमा छन् । लामो समयदेखि लेबनानमा अवैध रूपमा बस्दै आएका ६ नेपाली महिलालाई आइतबार काठमाडौं पठाइएको पनि दूतावासले जनाएको छ ।

प्रकाशित : फाल्गुन २९, २०७४ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?