कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

न्यायाधीशहरूले पराजुलीलाई भने–‘तपाईं हट्नुस्’

‘केहीबाहेक हामी धेरैजसोले अब तपाईं न्यायपालिकाबाट अलग हुनु राम्रो हुन्छ भनेर स्पष्ट शब्दमा भनिसक्यौं । योभन्दा बढी के भन्नु ?’
कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच्च अदालतका अधिकांश न्यायाधीशले जन्ममिति विवादमा मुछिएका प्रधानन्यायाधीश गोपाल पराजुलीलाई ‘बहिर्गमन’ को बाटो रोज्न सुझाव दिएका छन् ।

न्यायाधीशहरूले पराजुलीलाई भने–‘तपाईं हट्नुस्’

कान्तिपुर दैनिक र डा. गोविन्द केसीविरुद्धको अवहेलना मुद्दामा न्यायाधीश चोलेन्द्रशमशेर राणाले दिएको आदेशपछि सर्वोच्चमा बसेको अनौपचारिक ‘फुलकोर्ट’ बैठकमा न्यायाधीशहरूले पराजुलीलाई तत्काल ‘न्यायालयबाट अलग हुन’ सुझाव दिएका हुन् ।

‘आफू अल्पमतमा पर्ने डरले उहाँले फुलकोर्ट बोलाउनुभएको थिएन, हाम्रै आफ्नै अग्रसरतामा उहाँलाई भेटेका थियौं,’ सर्वोच्चका एक न्यायाधीशले कान्तिपुरसित भने, ‘केहीबाहेक हामी धेरैजसोले अब तपाईं न्यायपालिकाबाट अलग हुनु राम्रो हुन्छ भनेर स्पष्ट शब्दमा भनिसक्यौं । योभन्दा बढी के भन्नु ?’

बैठकमा सहभागी अर्का न्यायाधीशका अनुसार आफ्नो भनाइको शैली फरक भए पनि अधिकांशले ‘तपाईं अब पदमा नबस्नु नै उत्तम हुने’ सुझाव दिएका थिए । ‘न्यायपालिकाको यो कुर्सी तपाईंभन्दा निकै ठूलो र आदरयोग्य हो,’ एक न्यायाधीशको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईंले शृंखलाबद्ध रूपमा गर्नै नहुने काम र गल्ती दोहोर्‍याउनुभयो । अब पेसी सूची बनाउनेदेखि न्यायसम्पादन र न्यायप्रशासनका सबै कामबाट तत्काल पराजुली अलग हुनुपर्छ भन्ने हाम्रो मत हो ।’ हालसम्म मुख नखोलेका न्यायाधीश केदार चालिसेले समेत ‘तपाईंले अब निकास दिनु राम्रो हुन्छ’ भनेर सुझाव दिएको स्रोतले बतायो ।

सर्वाेच्चका न्यायाधीशहरूले ‘न्यायालय असहज अवस्था उन्मुख भएको’ तथ्यसहित प्रधानन्यायाधीश पराजुलीलाई ‘मार्गप्रशस्त’ गर्न आग्रह गरेका हुन् । न्यायाधीश चोलेन्द्रशमशेर राणाको आदेशपछि दिउँसो प्रधानन्यायाधीशसँगको अनौपचारिक बैठकमा न्यायाधीशहरूले ‘तत्काल निष्कर्षसहितको समाधान दिनुपर्ने’ धारणा राखेका थिए । अनौपचारिक बैठक सवा घण्टा जति चलेको थियो । बैठकमा राणाबाहेक धेरैजसो न्यायाधीश उपस्थित थिए । ‘टी ब्रेक’ पछि कुनै इजलाससमेत बस्न सकेन । सबै न्यायाधीशहरू निकै गम्भीर मुद्रामा प्रस्तुत भएका थिए ।

पराजुलीको कामकारबाहीको समर्थन गर्दै आएका केही सीमित न्यायाधीशसमेतले उनको पक्षमा मुख नखोलेको स्रोतले बतायो । एक न्यायाधीशले मात्र घुमाउरो शैलीमा पराजुलीको पक्षमा धारणा राखेको स्रोतले उल्लेख गरेको छ, स्रोतले उनको नाम भने उल्लेख गरेन । प्रधानन्यायाधीश पराजुलीले भने न्यायाधीश राणाको कार्यशैली गलत रहेको भन्दै आफ्नो प्रतिरक्षा गर्न खोजेका थिए । न्यायाधीशहरूका अनुसार यथास्थितिमा अब इजलास बस्न कठिन हुने भएको छ । ‘तपाईंले भोलिदेखि कजलिस्ट तोक्नुभयो भने पनि बेन्च बस्न सक्दैन र पर्सिदेखि त कजलिस्ट तोक्न पनि कठिन हुनसक्छ,’ एक न्यायाधीशले भने ।

‘बुद्धिमत्ता देखाएर बहिर्गमन हुनु राम्रो हुन्छ । समयमै मार्गप्रशस्त नहुने हो भने अझ विकराल अवस्था आउन सक्छ । जतिजति यस्तो स्थिति रहिरहन्छ, त्यति नै बढी न्यायालयलाई क्षति पुग्छ । न्यायालय संक्रमण र अस्थिरतातिर जान्छ । सुरक्षित अवतरण खोज्नु तपाईं र न्यायालयकै हितमा रहन्छ,’ उनले भने ।

अदालत जनआस्थामा चल्ने संस्था भएको उल्लेख गर्दै उनीहरूले जनआस्थामा ह्रास आउनुमा न्यायालयको नेतृत्वकर्ताको कार्यशैली जिम्मेवार रहेको धारणा राखेका थिए । अर्का एक न्यायाधीशले भने, ‘वस्तुस्थिति चर्काएर लैजानु न्यायालयको हितमा छैन ।’ बैठकमा पराजुलीले धेरै बोलेनन् । उनको भनाइ थियो, ‘म अदालतमा रहने अब थोरै समय मात्र हो । म आत्मसम्मान साथ बहिर्गमन हुन चाहन्छु । त्यस निम्ति तपाईंहरूले वातावरण निर्माण गरिदिनुपर्‍यो ।’ एक जनाबाहेक अरू कुनै पनि न्यायाधीश पराजुलीको प्रतिरक्षामा उत्रिएनन् । कसैले पनि न्यायाधीश राणाको आदेशविरुद्ध एक शब्द पनि बोलेनन् ।

केही दिनदेखि सर्वोच्चका न्यायाधीशहरूले प्रधानन्यायाधीशको कार्यशैलीप्रति विरोध जनाउँदै आएका थिए । पटक–पटकको आग्रह नसुनेपछि उनीहरूले केही सांकेतिक विरोधसमेत गरेका थिए । गत शनिबार पराजुलीले आयोजना गरेको वनभोजमा ९ जना न्यायाधीश अनुपस्थित थिए । न्यायाधीशहरू चोलेन्द्रशमशेर राणा, दीपक कार्की, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारी योजनाबद्ध रूपमै अनुपस्थित भएका थिए । एक न्यायाधीशले कान्तिपुरसित भने, ‘तपाईंका गलत क्रियाकलापमा हामी साक्षी बस्न सक्दैनौं भनेर हामीले स्पष्ट सन्देश दिन खोजेका थियौं ।’ केही साताअघिको फुलकोर्टमा समेत न्यायाधीशहरूले ‘नेतृत्वको उन्मादीले न्यायपालिकाको साख गिरेको’ भन्दै संयम अपनाउन सुझाव दिएका थिए ।

प्रकाशित : फाल्गुन २९, २०७४ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?