१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

तेस्रो राष्ट्रपति आज चुनिँदै

राजेश मिश्र

काठमाडौँ — मुलुकले संघीय गणतन्त्रात्मक शासन प्रणाली अपनाएयता तेस्रो राष्ट्रपति चयनका लागि मंगलबार निर्वाचन हुँदै छ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ ।

तेस्रो राष्ट्रपति आज चुनिँदै

आगामी राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी तथा कुमारी लक्ष्मी राई चुनावी मैदानमा उत्रिएका छन् । भण्डारीलाई सत्तारूढ वाम गठबन्धन तथा राईलाई विपक्षी नेपाली कांग्रेसको समर्थन छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन संघीय संसद् तथा प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुन्छ । कानुनले संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ तोकेको छ । प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ गरी संघीय संसद्का ३ सय ३४ र सातवटै प्रदेशसभाका ५ सय ५० सदस्य मतदाता हुने व्यवस्था छ । आयोगले संघीय संसद्का ३ सय ३१ र प्रदेशसभाका ५ सय ४९ जनाको अन्तिम नामावली प्रकाशित गरेको छ जसमा नामावली प्रकाशनपछि मात्रै शपथग्रहण गर्न पाएका राष्ट्रिय सभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत ३ सदस्यले मतदान गर्न पाउनेछैनन् । प्रदेशसभामा मनाङबाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) को नाम पनि अन्तिम नामावलीमा छैन । अदालतबाट दोषी प्रमाणित भई सजाय सुनाइएका मनाङे फरार छन् ।


राष्ट्रपति निर्वाचन एकै स्थानमा काठमाडौंमा मात्रै हुनेछ । संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमै मतदान केन्द्र तोकिएको छ । आयोगका प्रवक्ता सहसचिव नवराज ढकालले बिहान १० देखि अपराह्न ३ बजेसम्मका लागि मतदान गर्ने समय तोकिएको बताए । मतदाताको मतभार फरक–फरक रहेकाले त्यसैअनुसार मतपत्रसमेत दुई थरीको बनाइएको छ । संघीय संसद्का सदस्यहरूले सेतो कागजमा हरियो रङले छापिएको र प्रदेशसभाका सदस्यले सेतो कागजमा रातो रङले छापिएको मतपत्र पाउनेछन् । मतपत्रमा दुई उम्मेदवारको नाम उल्लेख रहने र मतदाताले नामको अगाडि स्वस्तिक चिह्न लगाएर मतदान गर्नुपर्ने आयोगले जनाएको छ ।


कानुनअनुसार कुल मतदाताको ५० प्रतिशत बढी मत ल्याउने उम्मेदवार विजयी हुनेछन् । संघीय संसदका ३ सय ३४ जनाको मतभार २६ हजार ३ सय ८६ तथा प्रदेशसभाका ५ सय ५० जनाको कुल मतभार २६ हजार ४ सय हो । तर, आयोगले मतदाता नामावलीमा ८ सय ८० जनाको नाम मात्रै प्रकाशित गरेकाले उनीहरूको कुल मतभार ५२ हजार ५ सय १ हुन्छ । त्यसअनुसार राष्ट्रपति निर्वाचित हुने व्यक्तिले २६ हजार २ सय ५१ मत ल्याउनुपर्छ । एमाले र माओवादीसहितको वाम गठबन्धनकै मतदाताबाट उक्त मत पुग्ने देखिन्छ । अझ राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमको समेत समर्थन वाम गठबन्धनलाई रहेकाले भण्डारीले सहजै चुनाव जित्ने सम्भावना कायम छ ।


२०७२ असोज ३ गते संविधान जारी भएपछि भएको निर्वाचनबाट चुनिएकी भण्डारीले पहिलो कार्यकाल २ वर्षभन्दा थोरै बढी पूरा गरेकी छन् । आगामी कार्यकाल पाँच वर्षको हुनेछ । यसअघि पहिलो संविधानसभा निर्वाचनपछि नेपाली कांग्रेसका नेता रामवरण यादव राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनी संविधानसभाले संविधान जारी गरेपछि मात्रै बिदा भएका थिए । यादव ७ वर्ष बढी राष्ट्रपतिको पदमा बहाल रहेका थिए ।

प्रकाशित : फाल्गुन २९, २०७४ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?