नगरप्रमु्ख चौधरी माथि आक्रमणमा संलग्न रहेकाे आशंकामा ३ जना पक्राउ

डीआर पन्त

धनगढी — घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि भएको आक्रमणमा संलग्न रहेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

नगरप्रमु्ख चौधरी माथि आक्रमणमा संलग्न रहेकाे आशंकामा ३ जना पक्राउ

कैलाली प्रहरी प्रमुख बिनोद घिमिरेको नेतृत्वको टोलीले सोमबार राति सुखड क्षेत्रबाट ३ जनालाई पक्राउ गरेको हो । उनीहरुको नाम सार्वजनिक गरेको छैन । प्रहरीले उनीहरु नेकपा माओवादी (विप्लव समुह) का कार्यकर्ता हुनसक्ने अनुमान गरेको छ । थप अनुसन्धान भइरहेकाले नाम सार्वजनिक गर्न नमिल्ने प्रहरीले जनाएको छ ।


सोमबार राति ८ बजेर १० मिनेटतिर सुखड बजार नजिकै रहेको आफ्नो घरभित्र बसिरहेका नगर प्रमुख चौधरीलाई अपरिचित समूहले काम छ भन्दै बाहिर बोलाएर गोली र खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । चौधरीको कम्मरमुनि गोली लागेको र टाउको तथा दाँया हातमा खुकुरीको चोट लागेको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताएका छन् ।


उनलाई पहिले खुकुरी र पछि गोली हानिएको थियो । घटना लगत्तै नगर प्रमुख चौधरीलाई सुखडस्थित घोडाघोडी अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि राति नै नेपालगञ्ज मेडिकल कलेज लगिएको छ । गम्भीर चोट लागे पनि उनको अवस्था भने खतरामुक्त रहेको बुझिएको छ । उपचारमा संलग्न चिकित्सकले चौधरीको अवस्था खतरामुक्त रहेको जानकारी गराएको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक घिमिरेले बताए ।


बोक्सीको आरोपमा कुटिएकी युवतीको घटना प्रहरी चौकीमै मिलाएको भन्दै नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले नगर प्रमुख चौधरीलाई जनकारबाही गर्ने धम्की दिएको थियो । विप्लव समुहका नेता ओमप्रकाश पुनले सामाजिक सञ्जालमा बोक्सी प्रकरणमा नगरप्रमुखलाई कारवाही नगरे ‘जनसत्ता’ले कारवाही गर्ने चेतावनी दिएका थिए ।

३ वटा मोटरसाइकलमा आएको समूहले घर बाहिर बोलाएर आक्रमण गरेको बुझिएको प्रहरी उपरिक्षक घिमिरेले बताए । घटनास्थलबाट प्रहरीले से २ प ३६७१ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । उक्त मोटरसाइकल कसको हो भन्ने अबेर रातिसम्म खुलेको छैन ।


नगर प्रमुख चौधरीका छिमेकी बिशाल पाण्डेयले घटनालगत्तै स्कुटीमा राखेर उनलाई अस्पताल पुर्‍याइएका थिए । घरभित्र बसेका बेला बाहिर बन्दुक पड्किएको आवाज सुनेपछि बाहिर आउँदा आक्रमण भएको थाहा पाएको पाण्डेयले बताए । ‘घरमा पुगेकै बेला मेयरमाथि आक्रमण भएको देखेपछि दुवै जनाले आक्रमणकारीलाई रोक्न खोजे, तर पेस्तोल देखाएर तर्साए,’ पाण्डेयले भने, ‘मेयरकी भाउजुले पनि रोक्न खोज्नु भएछ । आक्रमणकारी पेस्तोल देखाउँदै मार्ने धम्की दिएर भागे ।’

प्रकाशित : फाल्गुन २९, २०७४ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?