कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

विवादित प्रधानन्यायाधीश पराजुलीबाट राष्ट्रपतिले शपथ लिने कि नलिने ?

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच्च अदालतका न्यायाधीशले अयोग्य ठहर्‍याएका प्रधानन्यायाधीश गोपाल पराजुलीबाट शपथ लिने कि नलिने भन्ने नवनिर्वाचित राष्ट्रपतिलाई नैतिक संकट सिर्जना हुने भएको छ ।

विवादित प्रधानन्यायाधीश पराजुलीबाट राष्ट्रपतिले शपथ लिने कि नलिने ?

राष्ट्रपतिको निर्वाचन मंगलबार जारी छ । परिणाम घोषणा भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ कार्यकालका लागि शपथ लिएर आफ्नो पदभार सम्हाल्नुपर्नेछ ।

राष्ट्रपतिको शपथ प्रधानन्यायाधीशले गराउने व्यवस्था छ ।


विवादित व्यक्तिबाट शपथ लिने कि नलिने भन्ने विषयले सत्तारुढ दल र राष्ट्रपतिनिकट व्यक्तिहरुबीच पनि अनौपचारिक बहस हुन थालेको स्रोतले जनाएको छ । राष्ट्रपतिसमक्ष समेत प्रश्न उठ्न सक्ने भएकाले कुनै न कुनै रुपमा पराजुलीलाई बहिर्गमन बाटोमा लैजानुपर्ने दबाब सत्तापक्षका नेताहरुसमक्ष बढेको छ ।


पराजुलीको किर्ते प्रकरणले न्यायालयकै गरिमामा आँच पुगेको भन्दै न्यायालय जोगाउने उपाय खोज्ने सत्तारुढ दलका नेताहरुले अप्रत्यक्ष रुपमा शीर्ष नेतृत्वलाई सुझाव दिएका छन् । सर्वोच्चकै न्यायाधीशले समेत उनको अयोग्यताबारे इजलासबाटै घोषणा गरिसकेकाले पराजुलीको निरन्तरता हुन नुहने उनीहरुको धारणा छ ।


पार्टी भित्रैबाट समेत यस्ता धारणा आउन थालेपछि प्रधानमन्त्री एवं वाम गठबन्धनको दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पराजुलीको किर्ते प्रकरणलाई गम्भीर रुपमा लिएका छन् । यो विषयमा प्रधानमन्त्री ओली र दहालबीच मंगलबार अनौपचारिक छलफल भएको छ ।


पराजुलीले तत्कालै विदामा बस्नु उपयुक्त हुने उनीहरुको सुझाव थियो, तर पराजुली त्यो नगरी मंगलबार पनि नियमित काममा रहेपछि समस्या सिर्जना भएको हो । अबका दिनमा कसरी अघि बढ्ने भन्नेमा राष्ट्रपतिको मंगलबारको चुनाव सकिएपछि थप कुराकानी हुने सम्भावना रहेको एक नेताल जानकारी दिए ।


सर्वोच्चका न्यायाधीश चोलेन्द्र शम्शेर जबराले सोमबार पराजुलीले किर्ते गरेर अहिले पदमा बसिरहेका भन्दै इजलासबाट आफ्नो राय सुनाएका थिए । पराजुलीको जन्ममिति अनुसार, उनी गत साउनमै पदमुक्त भइसकेको घोषणा गर्दै जबराले कान्तिपुर र गोविन्द केसीमाथि परेको अवहेलनासम्बन्धी मुद्दाको बृहत इजालास बस्न अस्वीकार गरेका थिए । जबराले पराजुलीको अयोग्यता घोषणा गर्दै इजलास बस्न अस्वीकार गरेपनि सर्वोच्चका अन्य न्यायाधीशहरुले पनि पराजुलीलाई पद छाड्न सुझाएका छन् ।


तर सर्वोच्चका अन्य न्यायाधीशहरुको सुझाव लत्याउँदै पराजुलीले मंगलबार आफैंले न्यायाधीशहरुलाई इजलास तोकेका छन् । उनी पदमुक्त भएको घोषणा गर्ने न्यायाधीश जबरलाई भने तोकेका छैनन् ।

प्रकाशित : फाल्गुन २९, २०७४ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?