कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित भएकी छिन् । उनी लगातार दोस्रो कार्यकालका लागि राष्ट्रपति भएकी हुन् । मं‌गलबार भएको निर्वाचनमा भण्डारीले ३९ हजार २७५ मत ल्याइन् । उनका प्रतिद्वन्द्वी कुमारी लक्ष्मी राईले ११ हजार ७३० मत प्राप्त गरेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । 

राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित

संघीय संसद् भवन परिसर नयाँ बानेश्वरमा मंगलबार भएको निर्वाचनमा ८६२ जनाले मत खसालेका थिए ।

आयोगका प्रवक्ता ढकालका अनुसार संघीय संसद् ३२६ र प्रदेशसभाका ५३६ जनाले मतदान गरे । मतदानको समय बिहान १० देखि दिउँसो ३ बजेसम्मका लागि तोकिएको थियो ।


कानुनले संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ तोकेको छ । प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ गरी संघीय संसद्का ३ सय ३४ र सातवटै प्रदेशसभाका ५ सय ५० सदस्य मतदाता थिए।

भण्डारी सत्तारूढ वाम गठबन्धनको समर्थनमा राष्ट्रपति बनेकी हुन् । राई विपक्षी नेपाली कांग्रेसको समर्थनबाट राष्ट्रपतिको उम्मेदवारी बनेकी थिइन् ।


कस्तो छ भण्डारीको विगत ?

दोस्रो कार्यकालका लागि निर्वाचित भण्डारीको नाममा नेपालको पहिलो महिला राष्ट्रपतिको इतिहास लेखिएको छ ।


२०७२ कात्तिक ११ मा गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिका रूपमा निर्वाचित भण्डारी त्यसअघि एमालेको दुई कार्यकाल उपाध्यक्ष, सांसद र मन्त्री भइसकेकी व्यक्ति हुन् ।


दासढुंगामा मारिएका एमालेका तत्कालीन महासचिव मदन भण्डारीकी पत्नी भण्डारी पञ्चायतकालदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय थिइन् । तर, उनको राजनीतिक सक्रियता भने श्रीमान्‌को निधनपछि अझै बढ्यो । श्रीमान्‌को निधनपछि २०५० सालमा काठमाडौं–१ को उपनिर्वाचनमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई हराएपछि उनी एमाले राजनीतिको फ्रन्टलाइनमा आइन् ।


महेन्द्र मोरङ क्याम्पस विराटनगरको स्ववियु कोषाध्यक्ष हुँदै उनले एमाले भातृ संगठन अनेम संघको अध्यक्षको भूमिका समेत निर्वाह गरिन् । एमालेको आन्तरिक समिकरणभित्र सधैं भण्डारी केपी ओलीको समूहमा संलग्न रहिन् । त्यसैले ओली एमालेको नेतृत्वमा आएपछि भण्डारीका लागि राजनीतिक वातावरण अनुकूल भयो । त्यसैले नयाँ संविधान जारी भएपछिको संक्रमणकालीन अवस्थाको राष्ट्रपतिका लागि ओलीले नै पार्टीमा भण्डारीको नाम अघि सारे ।


राष्ट्रपति भएपछि भण्डारीको प्रत्यक्ष दलीय आवद्धता त समाप्त भयो, तर शितल निवास र ओली निवासको दूरी भने घटेन । भण्डारीका काममा ओलीले समर्थन गरिरहे र कतिपय काममा ओलीको मनस्थितिअनुसार भण्डारीले आफ्ना गतिविधि गरिन् । त्यही सम्बन्धको सुमधुरतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पनि भण्डारीले विश्वासमा लिन सफल भइन् । जसको परिणाम उनी दोस्रो कार्यकालका लागि राष्ट्रपति बनेकी छन् ।


प्रकाशित : फाल्गुन २९, २०७४ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?