कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

चैतदेखि २० वर्ष पुराना गाडी हटाइने

दीपेन्द्र विष्ट

काठमाडौँ — सरकारले आगामी चैत १ देखि मुलुकभर २० वर्षभन्दा पुराना गाडी चलाउन नदिने भएको छ । पुराना गाडीले प्रदूषण बढाएको भन्दै हटाउने निर्णय लिएको हो ।

चैतदेखि २० वर्ष पुराना गाडी हटाइने

गत वर्ष फागुनमै यस्ता गाडी हटाउने निर्णय भए पनि पूरै कार्यान्वयनमा आउन सकेको थिएन । काठमाडौंबाट विस्थापित गाडी उपत्यकाबाहिर सञ्चालनमा छन् । यातायात व्यवस्था विभागले अब मुलुकभरिबाटै २० वर्ष पुराना गाडी हटाइने जनाएको छ । पहिलो चरणमा गाडी धनीलाई चेसिज, इन्जिन बुझाएर पुराना गाडी ‘पत्रु’ गर्न अनुरोध गरिसकिएको विभागका निर्देशक तुलसीराम पौडेलले बताए । ‘तर, अहिलेसम्म कसैले बुझाएका छैनन्,’ उनले भने, ‘चैत १ देखि ट्राफिक प्रहरीसँग समन्वय गरेर पुराना गाडी नियन्त्रणमा लिन्छौं ।’


मुलुकभरका यातायात कार्यालयलाई पुराना गाडी नियन्त्रणमा लिन निर्देशन दिइसकेको पौडेलले बताए । सामान्यत: गाडीको आयु २० वर्ष मानिने भएकाले विभागले सञ्चालन अनुमति पनि त्यति अवधिलाई नै दिन्छ ।


बीस वर्ष नाघेका गाडीको यकिन संख्या विभागसँग पनि छैन । ‘५५ सय रहेको अनुमान गरेका छौं,’ निर्देशक पौडेलले भने । प्रदूषण बढाउने, खर्चिलो हुने, दुर्घटना बढाउने भएकाले पुराना गाडी हटाउनुको विकल्प नभएको उनले बताए । उपत्यकालगायत सहरी क्षेत्रमा प्रदूषण मात्रा उच्च छ । उपत्यकामा वायु प्रदूषणको मुख्य कारक सवारीबाट निस्कने धूलो र धूवाँ रहेको वातावरण विज्ञको भनाइ छ । उनीहरूका अनुसार सवारीबाट हुने प्रदूषणमा पनि पुरानाको प्रभाव बढी छ । त्रिभुवन विश्वविद्यालय वातावरण विभागका प्राध्यापक केदार रिजालले वायु प्रदूषण कम गर्न २० पुराना गाडी हटाउने निर्णय व्यावहारिक भएको बताउँछन् । ‘समयमै गाडी मर्मत नगर्नु, गुणस्तरीय इन्धन नहुनु, स्तरीय सडक नहुनुले गाडी चाँडो पुराना हुन्छन्,’ उनले भने, ‘त्यसकारण तिनले चाँडै विषाक्त धूवाँ फाल्छन्, वायु प्रदूषण बढाउँछन् ।’


नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला भने पुराना गाडी हटाउने निर्णय वैज्ञानिक नभएको बताउँछन् । ‘यातायात क्षेत्रमा अर्बौंको लगानी भइसकेको छ, निर्णयमाथि पुनर्विचार गर्नुपर्छ,’ उनले भने । गाडीको मापदण्ड र स्तर निर्धारण गरेर नयाँ गाडी खरिद गर्दा सरकारले भन्सार छुटको व्यवस्था गर्नुपर्ने सिटौलाको भनाइ छ । उनका अनुसार मुलुकभर गरी २० वर्ष पुराना करिब ७–८ हजार गाडी सञ्चालनमा छन् ।

प्रकाशित : फाल्गुन २९, २०७४ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?