प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन हुँदैनः कांग्रेस नेता पौडेल

कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुली विरुद्ध महाअभियोग लगाउन नहुने बताएका छन् । 

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन हुँदैनः कांग्रेस नेता पौडेल

प्रधानमन्त्री केपी ओलीले पराजुलीलाई राजीनामा दिन सुझाव दिइरहेका र महाअभियोग लगाउने चर्चा चलिरहेको बेला कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बुधबार आयोजित एक कार्यक्रममा पौडेलले आपत्ति जनाए ।


यसअघि तत्कालीन प्रधानान्यायधीश सुशीला कार्की विरुद्ध महाअभियोग लगाउने पार्टीको निर्णयसंग समेत आफू असहमत रहेको बताउँदै पौडेलले भने,‘दुई तिहाई बढीको समर्थन खोजेको यसैको लागि हो ? यसरी नै संवैधानिक अंगका पदाधिकारी माथि महाअभियोग लगाउँदै जाने हो भने मुलुकमा कम्यूनिष्ट सर्वसत्ताबाद आउँछ, तपाईंहरु सचेत रहनु होला ।’

कांग्रेसले बुधबार प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यहरुका लागि संसदीय अभ्यास र मुलुकको आर्थिक तथा परराष्ट्र नीतिसम्वन्धी आयोजित प्रशिक्षण कार्यक्रममा पौडलले त्यस्तो धारणा राखेका हुन् ।


उनको धारणापछि कान्तिपुरको जिज्ञासामा पौडेलले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएर सबै संवैधानिक अंगका पदाधिकारीलाई आतंकित बनाउने खेल भइरहेको भन्दै त्यसलाई बचाउनु पर्ने बताए ।


‘यो एउटा मुद्दा या व्यक्ति विशेषको कुरा होइन, यसअघि पनि सर्वोच्चका तीन जना न्यायधीशबिरुद्ध महाअभियोग लगाउने प्रयास भएको थियो । अहिले फेरि चर्चा चलाइँदै छ,’ उनले भने,‘पराजुली माथि महाअभियोग आयो भने कम्यूनिष्ट सर्वसत्तावादतर्फ मुलुक जान्छ । त्यतिबेला प्रेस स्वतन्त्रतालाई बचाउनका लागि जुलुस लाउनु पर्ला ।’


कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सरकार र वाम गठवन्धनबाट लोकतन्त्रको पक्षमा आउन सक्ने चूनौतीको सामना गरेर अघि बढ्न आग्रह गरे । महामन्त्री शशांक कोइरालाले पार्टी संगठन बलियो बनाउनका लागि सबै सांसदहरुलाई आ–आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।

प्रकाशित : फाल्गुन ३०, २०७४ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?