पर्सिसम्म मन्त्रिमण्डल पूर्णता पाउने : दाहाल

रासस

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले शुक्रबारसम्म मन्त्रिमण्डल पूर्णता पाउने बताएका छन् ।  

किराती राष्ट्रिय मुक्ति मोर्चा र नेपाल लोकतान्त्रिक किरात राई संघद्वारा बुधबार यहाँ आयोजित ‘प्रदेश नं १ का संघीय तथा प्रदेशसभा सदस्यलाई सम्मान तथा बधाई कार्यक्रम’मा उनले भने- 'बिहीबार वा शुक्रबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउँछ ।'

अध्यक्ष दाहालले मन्त्रिमण्डलले पूर्णता पाएसँगै मुलुक नयाँ दिशामा अगाडि बढ्ने बताउँदै 'वाम गठबन्धनले सयुक्त रुपमा जारी गरेको घोषणापत्रको आधारमा सरकार काम गर्ने छ,” भने । प्रदेशको नामकरण जनताको भावनाअनुसार राख्नुपर्नेमा जोड दिदैं उनले भने- 'प्रदेशको नामकरण प्रदेश नं ६ को जस्तै जनताको भावना, एतिहासिकता र भूगोललाई समेटेर राख्नुपर्दछ ।'

अध्यक्ष दाहालले 'केन्द्रबाट हामीले त्यस्ता नाम राख्नका लागि सहज वातावरण बनाउने छौ,' भन्दै संविधानबाट नै प्रदेशको नामकरण गर्ने विषयमा धेरै छलफल चले पनि पछि विवाद आउने भएकाले प्रदेशसभालाई सो जिम्मेवारी दिइएको बताए ।
प्रदेश नं १ राजनीतिक र आर्थिक आन्दोलनमा नेतृत्व खेलेकाले राष्ट्रले पनि उक्त प्रदेशबाट अग्रगामी भूमिका खेल्ने अपेक्षा राखेको पनि उनले बताए ।

उक्त अवसरमा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले जनताको भावना अनुसारको प्रदेशको नामाकरण गर्नुपर्ने बताउँदै निर्वाचनमा वाम गठबन्धनले व्यक्त गरेका प्रतिबद्धतालाई अलिकति पनि तलमाथि नहुने गरी काम गर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा प्रदेश नं १ का संघीय तथा प्रदेशसभा सदस्यलाई सम्मान गरिएको थियो । प्रदेश नं १ को नाम किरात राख्नुपर्ने माग राख्दै सहभागी केही सदस्यले माओवादी केन्द्रका अध्यक्ष दाहाल, पूर्व सभामुख नेम्वाङ र मुख्यमन्त्री राईलाई ज्ञापनपत्रसमेत बुझाइएको थियो ।

प्रकाशित : फाल्गुन ३०, २०७४ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्

उपराष्ट्रपति निर्वाचन चैत ९ गते

रासस

काठमाडौँ — निर्वाचन आयोगले उपराष्ट्रपतिको निवाचन चैत ९ गते गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षता बुधबार बसेको बैठकले उपराष्ट्रपतिको निर्वाचन सो मितिमा गर्ने निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । 

आयोगका अनुसार चैत ९ गते शुक्रबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा मतदान हुनेछ ।

निर्वाचन कार्यतालिकाअनुसार, चैत १ गते मतदाता नामावली प्रकाशन, चैत ३ गते उम्मेदवारी दर्ता तथा चैत ४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।
राष्ट्रपतिको निर्वाचन भई परिणाम घोषणा भएको सात दिनभित्र आयोगले उपराष्ट्रपति निर्वाचनको मिति तोक्ने कानूनी व्यवस्था छ ।

उपराष्ट्रपति पदका लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सोभन्दा फरक लिङ्ग वा समुदायका व्यक्तिलाई उम्मेदवारका रूपमा मनोनयन गर्नुपर्ने व्यवस्था छ ।

फागुन २९ गते सम्पन्न राष्ट्रपति निर्वाचनबाट नेपालको राष्ट्रपतिमा खस आर्य समुदायका महिला श्रीमती विद्यादेवी भण्डारी निर्वाचित भइसकेकी छन् ।

उपराष्ट्रपति पदका लागि सोही लिङ्ग वा समुदाय भन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिको मनोनयनपत्र मात्र दर्ता गर्न गराउन पाइने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले उपराष्ट्रपतिको निर्वाचन तोकिएको मितिमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गर्न तयारी सुरु गरिसकेको जनाएको छ ।

प्रकाशित : फाल्गुन ३०, २०७४ १७:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्