१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

यूएस-बंगला विमान दुर्घटना : मृतकको शव पहिचान हुन सकेन

यूएस यूएस बंगला विमान दुर्घटना
सुरज कुँवर

काठमाडौँ — अवतरणका क्रममा सोमबार त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको यूएस बंगला विमानमा ज्यान गुमाउने ४९ यात्रुको शव अझै पहिचान हुन सकेको छैन । सबै शव पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा राखिएका छन् । त्यहाँका प्राध्यापक हरिहर वस्तीले बुधबार साँझसम्म २५ वटा शव हेसरसकिएको तर पहिचान गर्न नसकिएको बताए ।

यूएस-बंगला विमान दुर्घटना : मृतकको शव पहिचान हुन सकेन

‘पोकामा राखिएका शव जाँच गर्दैछौं । हेरेर पहिचान गर्न सकिने अवस्थामा शव छैनन् । एउटै शवलाई जाँच्न, मुचुल्का उठाउन दुई अढाई घन्टासम्म समय लागिरहेको छ,’ वरिष्ठ चिकित्सक वस्तीले कान्तिपुरसँग भने ।


उनले अधिकांश शवको छालामात्र नभई हड्डीसम्म जलेको बताए । अनुहार वा बाहिरी संरचनाबाट पहिचान गर्न नसकिने भएपछि चिकित्सकहरुले दातको बनावट, फिलिङ्ग, आकार, शरिरका अंगमा लगाइएका गरगहना, अपांगता लगायतबाट पहिचान गर्न सक्छ । ‘यही तरिकाले एक हप्ता लाग्न सक्छ तर डिएनए परिक्षण नै गर्नुपर्ने अवस्था आइलागे एक महिनासम्म समय लाग्न सक्नेछ,’ फरेन्सीक विज्ञान विशेषज्ञ वस्तीले भने ।


बंगलादेशको राजधानी ढाकाबाट ६७ जना यात्रु र चालक दलका चार सदस्यसहित ७१ जना सवार बोकेको क्यानेडियन बमबार्डियर डयास एट क्यू फोर हन्ड्रेड विमान दुर्घटनामा ४९ को मृत्यु भएको थियो । त्यसमा ३३ नेपाली, ३६ बंगलादेशी, एक/एक चिनियाँ र माल्दिभ्सका नागरिक थिए । घटनामा २२ जनाको उद्धार गरिएको थियो । उद्धार गरिएकामध्ये तीन जना उपचारपछि घर फर्केको प्रहरीका केन्द्रिय प्रवक्ता मनोज नेउपानेले बताए । ‘हालसम्म मृतकको संख्या ४९ हो । २२ जना अस्पतालमा भर्ना गरिएका थिए । यीमध्ये तीन जना उपचारपछि घर फर्किसकेका छन्,’ डिआइजी नेउपानेले भने । उनले शव हालसम्म आफन्तजनलाई नबुझाइएको बताए ।

प्रकाशित : फाल्गुन ३०, २०७४ २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?