कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भण्डारी नै राष्ट्रपति

कुल मतदाता ८८०
प्राप्त मतभार: – भण्डारी ३९,२७५ – राई ११,७३०
१८ अनुपस्थित
८ जनाको बदर
कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित भएकी छन् । उनी लगातार दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएकी हुन् ।

भण्डारी नै राष्ट्रपति

मंगलबार भएको निर्वाचनमा उनले ३९ हजार २ सय ७५ मत ल्याइन् । सत्तारूढ एमाले र माओवादी केन्द्रसहितको वाम गठबन्धनको प्रस्तावमा उनी उम्मेदवार बनेकी थिइन् । भण्डारीलाई राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालसहितका दल तथा अन्य स्वतन्त्र सांसदहरूले समेत समर्थन गरेका थिए ।

प्रतिपक्षी दल कांग्रेसको प्रस्तावमा उम्मेदवार भएकी कुमारी लक्ष्मी राईले ११ हजार ७ सय ३० मत पाइन् । राष्ट्रपति पदका लागि संघीय सांसद र प्रदेशसभाका सांसद मतदाता थिए । एक जना संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सांसदको मतभार ४८ निर्धारण गरिएको थियो ।

संघीय संसद् भवन रहेको बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बिहान १० देखि दिउँसो ३ बजेसम्म भएको मतदानमा कुल ८ सय ८० मतदातामध्ये १८ जना अनुपस्थित रहेका थिए । राष्ट्रिय सभामा मनोनीत भएर ढिलो गरी शपथ लिएका ३ जना र प्रदेशसभामा निर्वाचित एक जनाको नाम मतदाता नामावलीमै समेटिएको थिएन । संघीय संसदका ५ र प्रदेशसभाका १३ सांसद मतदानमा अनुपस्थित रहे ।

त्यसमध्ये नयाँ शक्ति, विवेकशील साझा र नेमकिपाका सांसदले मतदानमा भाग लिएनन् । आठ जनाको मत बदर भएको थियो । संघीय संसदका ३ र प्रदेशसभाका ५ जना सदस्यको मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रवक्ता नवराज ढकालले भण्डारीलाई निर्वाचित भएको प्रमाणपत्र मंगलबार नै प्रदान गरिएको बताए । राष्ट्रपतिले बुधबार अपराह्न ४ बजे शपथग्रहण तय गरिएको छ । निर्वाचित राष्ट्रपतिले प्रधानन्यायाधीशबाट शपथ लिने कानुनी व्यवस्था छ ।

यसअघि २०७२ कात्तिक ११ गते भएको निर्वाचनबाट भण्डारी मुलुकको दोस्रो र पहिलो महिला राष्ट्रपतिका रूपमा चुनिएकी थिइन् । राष्ट्रपति पदमा बहाल रहेकै अवस्थामा उनले पुन: उम्मेदवारी दिएकी थिइन् । पहिलो कार्यकाल करिब २९ महिना बिताएकी उनी यस पटक भने पाँचवर्षे कार्यकालका लागि चुनिएकी हुन् । प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव भएपछि संविधानको नयाँ व्यवस्थाअनुसार पाँचवर्षे कार्यकालका लागि राष्ट्रपति चुनाव भएको हो । पहिलो राष्ट्रपति रामवरण यादवले लगातार ७ वर्ष पदमा बस्न पाएका थिए ।

पहिलो संविधानसभा निर्वाचनपछि ०६५ सालमा चुनिएका यादव संविधान जारी भएपछि मात्रै शीतल निवासबाट बाहिरिएका थिए । भण्डारीले यसअघि एमालेको दुई कार्यकाल उपाध्यक्ष, सांसद र मन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् । एमालेका तत्कालीन महासचिव स्वर्गीय मदन भण्डारीकी पत्नी भण्डारी पञ्चायतकालदेखि विद्यार्थी राजनीतिमा सक्रिय थिइन् । पतिको दासढुंगा दुर्घटनामा मृत्यु भएपछि उनी पार्टीको सक्रिय राजनीतिमा लागेकी थिइन् । ०५० सालको उपनिर्वाचनमा काठमाडौं १ बाट कांग्रेस नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेपछि भण्डारीको प्रभाव पार्टी र सरकार दुवैमा बढ्दै गएको हो ।

प्रकाशित : फाल्गुन ३०, २०७४ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?