वडा कार्यालय पुग्न ४ घण्टा

कान्तिपुर संवाददाता

पटुके (परासी) — नगरपालिका घोषणा भएपछि यहाँको बर्दघाट २ पटुकेका बासिन्दालाई विकट गाउँमा सडक, बिजुली, खानेपानी सुविधा आउला भन्ने आस लागेको थियो ।

सिंहदरबारको अधिकार गाउँमा पुर्‍याउने जनाउँदै स्थानीय तह कार्यान्वयन भएपछि सबैले २ घण्टा लगाएर साबिकको धुरकोट गाविस जानुपर्ने बाध्यता हट्छ भन्नेमा ढुक्क भए । सबै काम वडामै होला भन्ने लाग्यो । भौगोलिक विकटताले यहाँका स्थानीयको दु:ख जस्ताको तस्तै छ । व्यवस्था फेरिए पनि उनीहरूका दु:ख उस्तै छन् । सर्वसाधारणले स्थानीय सरकारको अनुभव गर्न सकेका छैनन् ।

करिब ३ सय जनसंख्या रहेको बस्तीका बासिन्दा आफ्नै वडा कार्यालय पुग्न ४ घण्टा पैदल हिँड्नु पर्ने बाध्यता छ । वडा कार्यालयसम्म यातायात सञ्चालन नहुँदा यहाँका बासिन्दा छिमेकी प्रदेश ४ को दुम्किबास भएर बर्दघाट पुग्नुपरेको स्थानीय नरबहादुर ढेंगा बताउँछन् । ‘आफ्नै वडा कार्यालय पुग्न ४ घण्टा हिँड्नुपर्छ,’ उनले भने, ‘योभन्दा त बरु पहिलेकै गाविस हुँदा हामीलाई सहज थियो ।’ नगरपालिकाको केन्द्र र वडा कार्यालय जान यातायात सुविधा नहुँदा पटुकेका सर्वसाधारण प्रदेश ४ को दुम्किबास हुँदै जाँदा करिब १५० रुपैयाँ खर्च हुने गर्छ ।

यो बस्ती विकट पहाडी खोंचमा छ । स्थानीय तहको सीमांकन समयमा यहाँका बासिन्दाले आफूहरूलाई बर्दघाट नगरपालिका जान असहज हुने र भौगोलिक विकटताको कारण सेवा प्रवाहमा समेत असर पुग्ने भन्दै नजिकै केन्द्र रहेको विनयीत्रिवेणी गाउँपालिकामा गाभ्न प्रशासन र राजनीतिक दलका नेतालाई ध्यानाकर्षण गराएका थिए । पटक–पटक जिल्ला प्रशासन र साबिक जिविस घेराउ कार्यक्रम गर्दासमेत सुनुवाइ नभएपछि अहिले सामान्य सिफारिसका लागि पनि घण्टौं पैदल यात्रा गर्नुपर्ने स्थानीयको बाध्यता छ । ‘पहिले समयमा जानकारी गराउँदा पनि भोट गनेर आफ्नो पल्ला भारी हुनेतिर हामीलाई राखे,’ स्थानीय भूमिसरा रानाले भनिन्, ‘हामीलाई सुविधा हुनेतर्फ भन्दा नेतालाई भोटको मात्रै पिरलो हुने रहेछ ।’

सकेसम्म पायक पर्ने स्थानमा गाउँ सारिदिनुपर्‍यो, होइन भने पायक पर्ने स्थानमा वडा कार्यालय सार्न स्थानीयले माग गरेका छन् । मनोरम बस्ती भए पनि यहाँ खानेपानीका लागि १ घण्टाभन्दा टाढा जानुपर्ने बाध्यता छ । बल्लतल्ल आएको खानेपानी पाइप पनि बर्खामा बाढीले बगाएपछि मर्मत हुन सकेको छैन । जीर्ण रहेको प्राथमिक तहको सामुदायिक विद्यालयको अध्ययनपछि माध्यमिक तहको अध्ययन गर्न २ घण्टाभन्दा बढी पैदल हिँड्नुपर्ने भएपछि अधिकांस बालबालिकाले प्राथमिक तहमा अध्ययन छाड्ने गरेका छन् । नगरपालिका प्रमुख धीरज शर्माले पटुकेका बासिन्दाका लागि वडा कार्यालय केही अपायक परे पनि सडक सञ्जालले जोडिएकाले अब सहज हुने बताए ।

‘सीमांकनको समयमा प्रदेश नम्बर ४ को स्थानीय तहमा राखेको भए स्थानीयलाई सहज हुने थियो,’ उनले भने, ‘अब उनीहरूकै लागि भनेर सडक निर्माण गरी यातायात सञ्चालन गर्ने तयारी भएकाले पटुकेका बासिन्दालाई केन्द्रमा आउन सहज हुनेछ ।’ नगरपालिकाले पटुकेमा खानेपानी योजना, सडक विस्तार र पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न योजना सञ्चालनको तयारी गरेको छ । संसारकोटमा होमस्टे स्थापना गरी प्रमुख पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै स्थानीयको आयआर्जनमा टेवा पुर्‍याउने लक्ष्य नगरपालिकाको छ ।

सडकको आस
बर्दघाट नगरपालिकाले वडा २ को पटुके बस्तीलाई केन्द्र र वडासँग जोड्न कच्ची सडक निर्माण गरिएको छ । मानिस हिँड्ने सामान्य ट्रयाक मात्र रहेको स्थानलाई नगरपालिकाले सवारी सञ्चालन गर्न सकीने गरी फराकिलो बनाएको छ । यो सडकलाई प्रदेश ५ को बर्दघाट नगरपालिका र प्रदेश ४ को दुम्किवासको डाँडाजोर जोडेर दाउन्ने खण्डको विकल्पका रूपमा प्रयोग गर्न सकिने गरी थप विस्तार गर्न नगरपालिका जुटेको छ । सडक बनेपछि यहाँका बासिन्दाले अब भने गाउँमै सवारी आउने र आफ्ना उत्पादन बजार पुर्‍याउन सहज हुने भन्दै खुसी भएको बुद्धि मगर बताउँछन् । ‘सडकले जोडिएपछि अब गाउँमा विकास होला भन्ने आशा लिएका छौं,’ उनले भने । बाटो आएपछि खानेपानी र बिजुलीका लागि नगरपालिकामा स्थानीयले माग गरेका छन् ।

बर्दघाट नगरपालिका १० भुताहादेखि विनयी त्रिवेणीको दुम्किवाससम्म १४ किमि सडक निर्माण गरिएको हो । यस सडकले प्रदेश ४ र ५ लाई समेत जोडेको छ । तत्काललाई नगरपालिकाले करिब २० लाख खर्च गरी सडक फराकिलो पारेको र थप मर्मत र पक्की सडक बनाउन नगरपालिकाले प्रदेश र केन्द्रीय सरकारलाई आग्रह गरेको छ । १४ किमि सडकको संसारकोटमा भ्यु टावर निर्माण गरी आन्तरिक तथा बाहय पर्यटक भित्र्याउने र पिकनिक स्पटका रूपमा विकास गर्न लागिएको छ ।

प्रकाशित : फाल्गुन ३०, २०७४ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?