३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

डीएसपीका दुई राहदानी

कान्तिपुर संवाददाता

नेपालगन्ज — तीन वर्षीय छोरासहित पत्नीलाई घर निकाला गर्ने सशस्त्र प्रहरीका नायब उपरीक्षक (डीएसपी) देवबहादुर बोहराले फरक बेहोरा देखाएर दुईवटा राहदानी (पासपोर्ट) लिएको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँके र राहदानी विभागबाट उनले झूटो विवरण लेखाएर फरक–फरक मितिमा राहदानी लिएको खुलेको हो ।


शान्ति मिसनअन्तर्गत सुडान जानुअघि डीएसपी बोहराले ४ महिनाको अन्तरमा २ वटा पासपोर्ट बनाएको स्थानीय प्रशासनको अभिलेखबाट खुलेको छ । सन् २०१२ जनवरी १७ मा अफिसियल पासपोर्टमा निकटतम व्यक्ति अर्थात् बहिनी कमला ऐरी उल्लेख छ । बाँकेबाट सन् २०१२ मे २७ मा उनले लिएको अर्को पासपोर्टमा निकटतम व्यक्ति पत्नी कमला बोहरा उल्लेख गरिएको छ । उनले पदीय दुरुपयोग गरी फरक मितिमा फरक विवरण देखाउँदै दुईवटा पासपोर्ट बनाएको देखिएको छ ।


नियम–कानुनको अक्षरश: पालना गर्ने र गराउने जिम्मेवारी पाएका सुरक्षा निकायका अधिकृतले झूटो विवरण पेस गरेर राहदानी विभागबाट दुई पासपोर्ट लिएको फेला परेपछि अनुसन्धान गर्न माग गरिएको छ । प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले डीएसपी बोहराले बाँकेबाट लिएको पासपोर्टमा निकटतम व्यक्ति पत्नी कमला बोहरा उल्लेख भएको बताए । तर विभाग (कार्यालय) बाट बनाएको पासपोर्ट हेर्न नपाएको उनले जनाए । ‘बाँकेबाट डीएसपी बोहराले एउटा पासपोर्ट बनाएको देखिन्छ । कार्यालयबाट बनाएको पासपोर्टको अध्ययनपछि मात्रै त्यसबारे यकिन हुन्छ,’ उनले भने, ‘तर कानुनले एउटै व्यक्तिले फरक विवरण देखाएर दुईवटा पासपोर्ट बनाउन पाइँदैन ।’ पासपोर्टमा उल्लिखित नामअनुसार डीएसपी बोहराकी पत्नी र बहिनीको नाम एउटै भए पनि नाता र थर फरक देखिन्छ । डीएसपी बोहराले जेठी पत्नी गीता वली बोहरालाई सम्पत्ति दिन नपरोस् भन्दै पासपोर्टमा फरक नाम लेखाएको आरोप छ ।


आफूलाई यातना दिएको, घर निकाला गरेको र दोस्रो विाह गरेकोलगायत आरोप लगाउँदै गीताले पतिमाथि कारबाहीको माग गर्दै सशस्त्र प्रहरी मुख्यालय, नेपाल प्रहरीको महिला सेल, राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोग, स्थानीय प्रशासन, महिला तथा बालबालिका कार्यालयलगायतका दर्जनभन्दा बढी सरकारी निकायमा उजुरी दिएकी छन् ।


तर डीएसीमाथि कारबाही हुन नसक्दा पीडितले न्यायको अनुभूति गर्न पाएकी छैनन् । आफूमाथि हिंसा भइरहेको जानकारी सशस्त्र प्रहरी मुख्यालयमा दिएपछि डीएसपी बोहराको आधा तलब गीताले पाउँदै आएकी छन् । मुख्यालयमा र विभिन्न निकायमा उजुरी दिएको भन्दै उनले थप शारीरिक तथा मानसिक यातना भोगिरहेको गुनासो गरिन् । डीएसपी बोहरा हाल तेह्रथुमस्थित म्याङलुङ सशस्त्र प्रहरी गणका गणपति छन् । उनले आफूसित दुईवटा राहदानी रहेको स्विकारे । तर एउटा संयुक्त राष्ट्रसंघ मिसन र अर्को व्यक्तिगत भएको बताए । दुवै हकवाला एउटै व्यक्ति नाता पर्ने रहेको तर परराष्ट्रको कमजोरीले दिदीको नाम श्रीमती भनेर उल्लेख भएको दाबी गरे । यसअघि उनी सीमा सुरक्षा बल नेपालगन्जमा कार्यरत थिए । उनले पछिल्लो समय पत्नी गीतासँग विवाद भएपछि सम्बन्ध विच्छेद मुद्दा दर्ता गरेको दाबी गरे ।

प्रकाशित : फाल्गुन ३०, २०७४ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?