१० दिनमा ५ जनाको हत्या

कान्तिपुर संवाददाता

दमक — दस दिनयता झापा र पूर्वोत्तर मोरङमा सिलसिलाबद्ध हत्याका घटना भएका छन् । घटना पारिवारिक किचलोदेखि संगठित अपराधसम्मका छन् ।

१० दिनमा ५ जनाको हत्या

हत्याका घटना बढेपछि दुवै जिल्लाका बासिन्दा आतंकित बनेका छन् । विशेष गरी सुन व्यापारीमा त्रासको वातावरण बनेको छ । फागुन १९ गते मोरङ उर्लाबारीका सनम शाक्यको हत्या गरी गाडीको डिकीभित्र तौलिया, म्याट्रेस र त्रिपालले बेरी लुकाएको अवस्थामा प्रहरीको विशेष टोलीले शव फेला पारेको थियो ।

२० गते पूर्वी मोरङको मिक्लाजुङ गाउँपालिका ७ मधुमल्लामा एक महिलाको बलात्कारपछि ढुंगाले अनुहार कुच्याएर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । २६ गते उर्लाबारी नगरपालिका ९ का ५८ वर्षीय चन्द्रबहादुर दर्जी मृत अवस्थामा फेला परेका थिए । २७ गते लेटाङ नगरपालिका २ की ३७ वर्षीया कौशिला राईको शव आफ्नै घरमा हत्या गरेको अवस्थामा फेला परेको थियो । सोमबार झापा बिर्तामोडका सुन व्यवसायी साजन मुखियाको हत्या गरेको अवस्थामा शव फेला परेको थियो । लगातारको हत्या घटनाले पूर्वमा संगठित आपराधिक गिरोह सक्रिय रहेको प्रहरीको आशंका छ । अज्ञात समूहबाट केहीका परिवार तथा व्यापारीलाई चेतावनी आउने गरेकाले थप आतंकको अवस्था सिर्जना भएको छ ।

हत्याका प्रकृति क्रूरतापूर्ण देखिन्छन् । अवैध रूपमा भित्र्याएको ३३ केजी सुन हराएको विषयको विवादका कारण सनम शाक्यको हत्या भएको घटना सेलाउन नपाउँदै बिर्तामोडका सुन व्यवसायीको हत्याले आतंक सिर्जना गरेको हो । दुई वर्षदेखि बिर्तामोडमा सुनचाँदीको व्यवसाय गर्दै आएका २६ वर्षीय साजन मुखिया फागुन २० गतेदेखि बेपत्ता थिए । उनको शव सोमबार इलामको रोङ गाउँपालिका–३ कोल्बुङमा फेला परेको थियो । साजनको हत्याविरुद्ध बिर्तामोडका व्यवसायीले मंगलबार बजार बन्द गरेका थिए ।

उर्लाबारीका शाक्यको पनि अपहरणपछि हत्या भएको थियो । उनका काका धर्मराज शाक्यका अनुसार १६ गते साथीले बोलाएपछि घरबाट निस्केपछि शाक्य परिवारको सम्पर्कमा थिएनन् । उनको शव महानगरीय प्रहरी अपराध महाशाखा टेकु र जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले फागुन १९ गते विराटनगरबाट बरामद गरेको थियो ।

यसै घटनाको विषयमा जोडिएको भन्दै प्रहरीले झापा चारआलीका लाक्पा शेर्पालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको जनाएको छ ।


मधुमल्लास्थित सिसौलीकी ४४ वर्षीया शान्तिकुमारी तामाङको २० गते शव फेला परेको थियो । बलात्कारपछि ढुंगाले हिर्काएर विभत्स हत्या गरिएको शव गाउँकै राम्री खोलामा किनारमा फेला परेको हो । हत्यामा संलग्नलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।

२७ गते शव भेटिएकी कौशिला राईको शरीरका विभिन्न भागमा चोट थिए । इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक खगेन्द्र खडकाका अनुसार कौशिला र उनका श्रीमान् ३७ वर्षीय किरण भनिने कुमार राईबीच राति झगडा भएको थियो । श्रीमतीको हत्या गरेर कुमार बिहानै फरार भएका थिए । उनको खोजी भइरहेको प्रहरी निरीक्षक खडकाले बताए ।

तीन पक्राउ
बिर्तामोड– झापाको बिर्तामोडका सुन व्यवसायी साजन मुखियाको हत्यामा संलग्न तीन जनालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोडले हत्यामा बिर्तामोड–३ सैनिकमोड बस्ने २९ वर्षीय पारसकुमार देव, बिर्तामोड–८ त्रिवेणी टोल बस्ने १९ वर्षीय दीपेश पौडेल र बिर्तामोड–३ कै २३ वर्षीय प्रकाश भन्ने चिरञ्जीवी ओलीको संलग्नता देखिएको बतायो । मुखियालाई व्यावसायिक रिसइबीका कारण हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अभियुक्तलाई मानव अपहरण तथा शरीर बन्धक, खुनडाँका र संगठित अपराध मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : फाल्गुन ३०, २०७४ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?