उपसभामुखमा कांग्रेसबाट पुष्पा र वाम गठबन्धनबाट शिवमायाले दिए उम्मेदवारी

मकर श्रेष्ठ

काठमाडौँ — प्रतिनिधिसभाको उपसभामुखमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी पुष्पा भुसालले उम्मेदवारी दिएकी छन् । उनले संसद भवनमा बिहीबार पौने १ बजे उम्मेदवारी दर्ता गराएकी हुन् । उनको प्रस्तावकमा डिला संग्रौला र समर्थकमा देवेन्द्रराज कँडेल रहेका छन् ।

उपसभामुखमा कांग्रेसबाट पुष्पा र वाम गठबन्धनबाट शिवमायाले दिए उम्मेदवारी

उम्मेदवारी दिएपछि उनले प्रतिपक्षीले संसदमा प्रभावकारी भूमिका खेल्ने भएकोले सरकार पक्षले आफूलाई समर्थन गर्नुपर्ने बताइन् ।


यसअघि कांग्रेसले सभामुखमा भने पार्टीका तर्फबाट उम्मदेवारी दिएको थिएन ।


नेपाली कांग्रेसकी पुष्पा भुसाल

यही चैत २ गते हुने प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका लागि कांग्रेस पदाधिकारी बैठकले बिहीबार उनलाई पार्टीका तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रतिनिधिसभा सदस्य भुसाल यसअघि पहिलो संविधानसभामा समेत निर्वाचित भएकी थिइन् ।

यस्तै वाम गठबन्धनबाट उपसभामुखमा शिवमाया तुम्बाहाम्फेले उम्मेदवारी दिएकी छन् । आज दिउँसो करिव साढे १ बजे उनले उम्मेदवारी दिएकी हुन् । उनको प्रस्तावकमा देव गुरुङ र समर्थकमा रवीन्द्र अधिकारी रहेका छन् ।


शिवमाया तुम्बाहाम्फे

संघीय संसद् सचिवालयले शुक्राबार चैत २ गते दिउँसो १ बजे उपसभामुखको निर्वाचनका लागि तय गरेको प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए ।


उपसभामुखको निर्वाचनका लागि आज बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरिएको छ ।


प्रतिनिधिसभाका सभामुखको निर्वाचन गत फागुन २६ गते सम्पन्न भएको थियो । सभामुखमा नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भइसकेका छन् ।


संविधानको धारा ९१ मा प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ । प्रतिनिधिसभाको पहिलो बैठक गत फागुन २१ गते बसेको थियो ।


त्यस्तै सभामुख र उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने र दुवै पदमा फरक फरक दलको प्रतिनिधित्व हुनुपर्ने संवैधानिक प्रावधान छ ।

प्रकाशित : चैत्र १, २०७४ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?