कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

तुम्बाहाम्फे भइन् उपसभामुख, को हुन् उनी ?

काठमाडौँ — एमाले सांसद शिवमाया तुम्बाहाम्फे प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकी छन् ।

कांग्रेस उम्मेदवार पुष्पा भूसाललाई हराउँदै तुम्बाहाम्फे उपसभामुख निर्वाचित भएकी हुन् । वाम गठबन्धनकी तुम्बाहाम्फेले २०१ मत पाउँदा भूसालले ६१ मत पाइन् ।

तुम्बाहाम्फे भइन् उपसभामुख, को हुन् उनी ?

माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङको प्रस्ताव र एमालेका रवीन्द्र अधिकारीको समर्थनमा तुम्बाहाम्फे उपसभामुख भएकी हुन् ।


५३ वर्षीया तुम्बाहाम्फे एमालेकी समानुपातिक सांसद हुन् ।


सभामुख निर्वाचनमा गठबन्धनकै कृष्णबहादुर महराविरुद्ध उम्मेदवार नउठाएको कांग्रेसले उपसभामुखमा भने भूसाललाई अघि सारेको हो । एमाले र माओवादी केन्द्र एकीकरण नजिक रहेको भन्दै कांग्रेसले संवैधानिक व्यवस्थाअनुसार सभामुख–उपसभामुख एकै पार्टीले लिन नमिल्ने तर्क गरेको छ । तर, गठबन्धनले पार्टी एकीकरण नभएको बताउँदै जनमतको कदर गर्न विपक्षीलाई अपिल गरेको छ ।


कानुन पृष्ठभूमिकी तुम्बाहाम्फे लामो समयदेखि एमालेको राजनीतिमा थिइन् । उनी एमाले निकट अनेरास्ववियुको तत्कालीन प्रारम्भिक कमिटी अध्ययन दलबाट राजनीतिमा लागेकी हुन् ।


तेह्रथुममा जन्मिएकी तुम्बाहाम्फेले झापाको गौरादहमा अध्ययन गरेकी हुन् भने मोरङ केन्द्रित भएर राजनीति गरिन् । उनी २०५२ सालमा अनेरास्ववियुको केन्द्रीय उपाध्यक्षसम्म पुगेर विद्यार्थी राजनीतिबाट बिदा भएकी थिइन् ।


२०४७ सालमा पार्टी सदस्यता लिएकी तुम्बाहाम्फे काठमाडौंमा तीन वर्षअघि भएको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य भएकी थिइन् । उनी एमाले मोरङ ईञ्चार्ज हुन् ।


तुम्बाहाम्फेले आफूले पाएको नयाँ जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने बताइन् । ‘पार्टी राजनीतिबाट माथि उठेर उपसभामुखको भूमिका निर्वाह गर्नेछु,’ उनले कान्तिपुरसित भनिन्, ‘ती भूमिका निर्वाह गर्न म सक्षम छु ।’


प्रकाशित : चैत्र २, २०७४ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?