आगलागीबाट ५० लाख रुपैयाँ बराबरको क्षति

देवनारायण साह

मोरङ — ग्रामथान गाउँपालिका-२ दलित बस्ती बतराहीमा शुक्रबार भएको आगलागीबाट ५० लाख मूल्य बराबरको क्षती भएको छ । आगलागीबाट ८ परिवारको १३ घर र एक पसल जलेर नष्ट भएको हो । 

आगलागीबाट ५० लाख रुपैयाँ बराबरको क्षति

प्रहरी नायव निरीक्षक दुखन यादवका अनुसार दिउँसो २:३० वजे सुरु भएको आगलागीबाट स्थानीय गोपाल सरदार, नेपाललाल, फणिलाल, ननुलाल, रामप्रसाद, सन्तोषीया, माहाबत्ती र मुनीलाल सरदारको घर जलेर नष्ट भएको छ । उनीहरुको घरमा भएको सम्पूर्ण धन सम्पत्ति जलेर ५० लाख मूल्य बराबरको क्षती भएको प्रहरी नायव निरीक्षक यादवले बताए । दुवै आँखा नदेख्ने मुनीलालको किराना पसलसमेत जलेर नष्ट भएको उनले सुनाए ।


उनले नेपाललालको घरमा बिहान खाना पकाएको खरानी फालेको ठाउँबाट सल्केर सुरु भएको आगलागी बेलुका ४ बजेतिर ८ वटा बारुणयन्त्र, प्रहरी र स्थानीयबासीले नियन्त्रणमा लिएको बताए ।

आगलागी पीडितहरुलाई सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल, रेडक्रश र ग्रामथान गाउँपालिकाका अध्यक्षले राहत सामग्री वितरण गरे ।


प्रमुख ढकालले आगलागी पीडित प्रत्येक परिवारलाई एक बोरा चामल, त्रिपाल, कम्बल, २ किलो च्यूरा, १ लिटर खानेतेल, २ किलो नुन, भुजिया, चाउचाउ, बिस्कुट, भाँडाकुँडा सेट, पाइण्ट सर्ट र साडी चोलो बितरण गरे । यस्तै, रेडक्रश सोसाइटी शाखा मोरङले त्रिपाल, कम्बल, च्युरा र भुजा प्रत्येक परिवारलाई वितरण गरे ।


ग्रामथान गाउँपालिका अध्यक्ष शिवनारायण माझीले प्रत्येक पीडित परिवारलाई २५ किलो चामल, २० किलो च्यूरा, ३ किलो भुजा, म्याट्रेस, खानेतेल, नुन, मसला, चाउचाउ, बिस्कुट, साबुनलगायतका सामग्री वितरण गरे ।

प्रकाशित : चैत्र २, २०७४ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?