२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

मधुवन आगलागीमा २३५ परिवार विस्थापित 

८५ घर जले, एक करोड ८७ लाखको क्षति
प्रदीप मेन्याङ्बो

सुनसरी (मुधवन) — विद्युत सर्ट भएर सुनसरीको साविकको मधुवन–९ (हाल बराहक्षेत्र नगरपालिका–११) स्थित इक्राहीको वातर बस्तीमा शनिबार राति भएको आगलागीबाट अन्नपात, लत्ताकपडा, जिन्सी, नगद र गरगहना सहित १ करोड ८७ लाख मुल्य बराबरको धनमाल क्षति भएको छ । 

मधुवन आगलागीमा २३५ परिवार विस्थापित 

आगो निभाउदा कोशी गाउँपालिका–३ का ४१ वर्षीय प्रभु सरदारको गम्भीर घाइते भएका छन् । ग्याँस सिलिण्डर पड्केर हातमा गहिरो चोट लागेका उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पठाएको प्रहरीले जनाएको छ ।


वडा अध्यक्ष केदार बिष्टका अनुसार ८५ घरमा आगलागी हुदाँ २ सय ३५ घरपरिवार पुर्ण रुपमा विस्थापित भएका छन् । उनीहरुको करिब ६ लाख नगद, ५० लाख बढीको गरगहना, ५० लाख बराबरको अन्न र भाडावर्तन, १० लाख मूल्यका पशुचौपाया, १० लाख बराबरको पशु आहार र ६० लाख बराबरको घर जलेर खरानी भएको वडाध्यक्ष बिष्टले बताए ।


इटहरी, धरान, इनरुवा र राजविराजबाट चार बारुणयन्त्र तथा सेना, सशस्त्र प्रहरी र जनपद प्रहरी एवं स्थानीयवासीको सक्रियतामा राति १ बजेतिर आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाले बताए ।


बराह नगरपालिकाले आगलागि पीडितको विजोग भएकाले यथासक्य सहयोग गर्न अपील गरेको छ । आगलागीमा खाद्यान्न, लत्ताकपडा, भाडावर्तन र गरगहना खरानी भएकाले आपत्कालीन सबै प्रकारका राहतको आवश्यकता रहेको बराह नगरपालिकाका प्रमुख निलम खनालले बताए ।


विस्थापित भएकाहरु हुन पुगेका पीडितहरु खुल्ला आकासमुनि बस्न बाध्य छन् । तत्कालकालागि नगरपालिकाले कम्बल र खाद्यान्न वितरण गरेको छ । रेडक्रस, लगायत अन्य सस्थाले घटनास्थलमा पुगेर राहत वितरण गरेका छन् । नगरप्रमुख खनालले ८५ घरका करिब २ सय ५० जना घरबारविहीन भएकाले तत्काल राहत जुटाउन समस्या भएको बताए ।


यसैबीच आगलागी पीडितलाई जिल्ला दैवी प्रकोप उद्धार समितिले प्रति परिवार नगद ५ हजार र नेपाल रेडक्रस सोसाइटीले आकस्मिक राहत वितरण गरेको जनाएको छ । भोक्राहा नरसिंह गाँउपालिकाका स्थानीय व्यापारी तथा सर्वसाधारणले संकलन गरेको राहत सामग्री समेत वितरण गरेको स्थानीय सुनिल कुमार साहले बताए ।


घटनास्थल पुगेका प्रदेश १ का प्रवक्ता तथा आन्तरिक मामिला, कानुन तथा गृहमन्त्री हिक्मत कार्की र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री जगदीस प्रसाद कुसियतले अन्य स्थानीय तह र जिल्लालाई सहयोगको आव्हान गरेका छन् । बस्ती निरिक्षण पछि एकमहिना भित्र पीडित परिवारहरुलाई नयाँ घर बनाएर हस्तान्तरण गरिने उनीहरुले बताएका छन् ।

प्रकाशित : चैत्र ४, २०७४ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?