२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

चीनसँग भएका सम्झौता–सहमति बुझ्दै परराष्ट्रमन्त्री

चिनियाँ राजदूतले भेटिन् ज्ञवालीलाई

काठमाडौँ — परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले छिमेकसँग भएका दुईपक्षीय समझादारीका काम अघि बढाउन ढिलाई गर्न नहुने बताएका छन् । चीनसमेत हेर्ने उत्तरपूर्वी एसिया महाशाखाको ब्रिफिङ लिने क्रममा उनले त्यस्तो बताएका हुन् । चीनसँग भएका सम्झौता र सहमतिको वर्तमान अवस्थाबारे मन्त्री ज्ञवालीले जानकारी लिएका हुन् । 

चीनसँग भएका सम्झौता–सहमति बुझ्दै परराष्ट्रमन्त्री

उनले चीनसँग भएका सम्झौता, सहमति र गर्न सकिने कामबारे नेपालको धारणा कस्तो रहेको र यसमा कुन प्रकारको चासो देखाइएको भन्ने विषयमा समेत चासो व्यक्त गरेको ब्रिफिङमा सहभागीले बताए । मन्त्रालयअन्तर्गतका दुई विभाग र १० महाशाखा छन् । त्यही महाशाखाअन्तर्गत दूतावास रहने गर्छन् । चीनसँग भएका सम्झौता र सहमतिका साथै अन्य दुईपक्षीय परियोजना अघि बढाउन र त्यसको अवस्थाबारे अध्ययन गर्न परराष्ट्र सचिव शंकरदास बैरागीलाई जिम्मा दिइएको भए पनि यसको अवस्थाका बारेमा पनि त्यहाँ छलफल भएको एक अधिकारीले बताए ।


मन्त्री ज्ञवालीलाई भेट्न आइतबार नै चिनियाँ राजदूत यू होङ परराष्ट्र मन्त्रालय पुगेकी थिइन् । चीन हेर्ने महाशाखाको ब्रिफिङ लिएपछि ज्ञवालीले राजदूतसँग छलफल गरेका हुन् । राजदूतले उनलाई बधाई तथा कार्यकाल सफलताको कामना गर्दै दुईपक्षीय सम्बन्ध उचाइमा लैजान मिलेर काम गर्नुपर्ने धारणा राखेकी थिइन् । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको पनि उनलाई बधाई तथा शुभकामना सन्देश आइसकेको छ ।

परराष्ट्रमन्त्री नियुक्त भएपछि ज्ञवालीले नेपालमा उच्चस्तरीय राजनीतिक भ्रमण गराएर सकारात्मक सन्देश दिँदै आर्थिक हैसियत उकास्ने कार्य अघि बढाउनुपर्ने धारणा सार्वजनिक गरेका छन् । यो वर्षलाई अन्तर्राष्ट्रिय भ्रमण वर्षका रूपमा सम्झनलायक बनाउने गरी काम हुन आवश्यक रहेको पनि उनले बताएका थिए । नेपालमा छिमेकको मात्र नभई अन्य मुलुकहरूबाट पनि भ्रमण गराउन पहल गरिनुपर्ने भन्दै सबै दूतावासलाई यसमा सक्रिय बनाउन उनले निर्देशन दिएका छन् । नेपालको भूराजनीति नै विश्वको चासोमा रहने प्रकारको भएकाले यसमा ख्याल गरेर नै आफू अघि बढ्ने जानकारी उनले दिएको अधिकारीहरूले बताए ।


ज्ञवालीले विश्व शान्तिमा नेपालको योगदानबारे धारणा राख्दै त्यसअनुरूपको उच्चस्तरीय उपस्थिति जनाउन नसकेकाले यसमा कूटनीतिक लबिइङ तीव्र पार्नसमेत जोड दिने बताएका छन् । त्योअनुरूपको कूटनीतिक क्षमता देखाउन नसकेको वा चुकेको हो भन्नेमा अध्ययन जरुरी भएको उनले बताएका छन् । उनले कूटनीतिमा नतिजा निकाल्ने गरी काम गर्न आवश्यक पर्ने सन्देश मातहतलाई दिएको अधिकारीहरूले बताए । नेपाल विश्वको कुनै पनि मुलुकको विरुद्ध उपयोग हुन नहुनेतर्फ सजक रहनुपर्नेसमेत उनले बताए ।


छिमेकसँग आ–आफ्नै प्रकारको सम्बन्ध स्थापित गरेर अघि बढ्नुपर्ने धारणा पनि उनले राखेका छन् । यसका लागि छुट्टै खाकामा आफूले काम गर्ने पनि मन्त्री ज्ञवालीको संकेत छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको अध्यक्ष भएका नाताले सार्क शिखर सम्मेलन जतिसक्दो छिटो गराउन नेपालले पहल गर्ने पनि उनले यसअघि नै बताइसकेका छन् । यस क्षेत्रमा अर्को आर्थिक संगठन बिमस्टेक पनि रहेको र त्यसको अध्यक्षता पनि नेपालले गरेको हुनाले त्यसको पनि जतिसक्दो छिटो शिखर सम्मेलन काठमाडौंमा गर्ने स्पष्ट पार्दै उनले त्यसअनुरूपको तयारी गर्न पनि निर्देशन दिएको परराष्ट्र अधिकारीले बताए ।

प्रकाशित : चैत्र ४, २०७४ २१:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?