कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

कांग्रेस कोषाध्यक्ष भेला : गुट अन्त्य गर्न सामूहिक दबाब दिइने

पार्टीलाई हुकुमी र हैकमवादी शैलीबाट सञ्चालन नगर्न दबाब दिनुपर्छ : केसी
नेतृत्व परिवर्तनको एजेन्डा भेलामा प्रतिविम्ब हुन्छ : भण्डारी

काठमाडौँ — कांग्रेसमा सभापति शेरबहादुर देउवा र उनीइतर पक्षबीच निर्वाचन पराजयलाई लिएर आरोप–प्रत्यारोप चलिरहेका बेला जिल्ला कोषाध्यक्षहरूले ‘गुटतन्त्र’ अन्त्य गर्न शीर्ष नेतृत्वलाई सामूहिक दबाब दिने भएका छन् ।

कांग्रेस कोषाध्यक्ष भेला : गुट अन्त्य गर्न सामूहिक दबाब दिइने

नुवाकोटमा चैत ७ र ८ मा हुने जिल्ला कोषाध्यक्षहरूको राष्ट्रिय भेलामा कांग्रेस शुद्धीकरणका लागि भन्दै उनीहरूले शीर्ष नेतृत्वबाट आ-आफ्नो स्वार्थसिद्धिका लागि खोलिएका गुट अन्त्य गर्न दबाब कार्यक्रम बनाएका हुन् ।


सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य खुमबहादुर खडका, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायतका शीर्ष नेताहरूलाई गुट अन्त्यका लागि सामूहिक दबाब दिने तयारी कोषाध्यक्षहरूको छ । यी सबै नेताले पार्टीभित्र आ–आफ्ना गुट सञ्चालन गर्दै आएका छन् । भेलामा शीर्ष नेतृत्वसहित पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य र जिल्ला सभापतिहरूलाई समेत आमन्त्रण गरिएको छ ।


‘निर्वाचनमा पार्टी पराजय हुनुको मुख्य कारण नै पार्टीभित्र अस्वस्थ ढंगले मौलाएको गुटतन्त्र हो भन्ने हाम्रो ठहर छ,’ कोषाध्यक्षहरूको राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले भने, ‘यसको अन्त्य नगरी पार्टी अघि बढ्न सक्दैन ।’


कांग्रेस नेता अर्जुननरसिंह केसीले भेलामा नेतृत्वको कमीकमजोरीबारे निर्मम समीक्षा गर्न सुझाए । ‘तीनै तहका निर्वाचनमा पार्टीले नराम्रो पराजय भोग्दा पनि साढे तीन महिनासम्म पार्टीभित्र आन्तरिक समीक्षा नहुनु लज्जाको विषय हो,’ केसीले भने, ‘गुट, उपगुटको अन्त्यभन्दा पनि पार्टीलाई हुकुमी र हैकमवादी शैलीबाट नभएर संस्थागत र विधिसम्मत रूपमा सञ्चालन गर्न दबाब दिनुपर्ने अवस्था छ ।’


निर्वाचनपछि पार्टीभित्र चर्केको आन्तरिक कलहको प्रभाव कोषाध्यक्ष भेलामा समेत देखिने भएको छ । पार्टीका युवा नेताहरूले कोषाध्यक्ष भेलामा आ–आफ्नो एजेन्डालाई प्रवेश गराउन ‘लबिइङ’ थालेका छन् । केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टी सुदृढीकरणका लागि आफूहरूले थालेको अभियानको आवाज कोषाध्यक्ष भेलामा प्रकट हुने बताए । ‘अहिलेकै नेतृत्वले यो पार्टीलाई अब अघि बढाउन सक्दैन,’ उनले भने, ‘पार्टीभित्र आमूल परिवर्तन आवश्यक छ । त्यो भनेको नीति, कार्यक्रम मात्रै नभई नेतृत्व परिवर्तन पनि हो ।’


भण्डारीले पार्टीभित्र चलेका गुट स्वार्थ र अवसरका लागि मात्रै रहेको भन्दै त्यसको अन्त्य हुनुपर्ने बताए । ‘योग्यता र क्षमताका आधारमा अवसर दिने पद्धति नबस्दासम्म यो स्वार्थ गुटको अन्त्य हुँदैन,’ उनले भने, ‘गुटगत राजनीति अन्त्य गर्न पार्टी पुरानो ढर्राबाट चलाएर हुँदैन ।’


पार्टीका धेरैजसो जिल्ला कार्यसमितिले निर्वाचनमा पराजय हुनुमा पार्टीभित्र अस्वस्थ ढंगमा मौलाएको गुटतन्त्रलाई कारण ठान्दै केन्द्रमा प्रतिवेदन बुझाएका छन् । त्यही प्रतिवेदनलाई आधार मान्दै कोषाध्यक्षहरूले राष्ट्रिय सम्मेलनमा गुट अन्त्य गर्न सामूहिक दबाबको कार्यक्रम बनाएका हुन् ।


‘दुइटा दर्शन भएका वामपन्थीहरू त अहिले एउटै बाटामा हिँड्न सकेका छन् भने हाम्रा नेताहरू किन हिँड्न सक्दैनन् ?,’ काठमाडौं कांग्रेसका कोषाध्यक्षसमेत रहेका पुडासैनीले भने, ‘अब सबै गुट र उपगुटको अन्त्य गरेरै छाड्नुपर्छ । गुटतन्त्रले कांग्रेसको भलो गरेन, भेलामा हाम्रो प्रमुख एजेन्डा यही हुनेछ ।’


कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा भने पार्टीको आन्तरिक जीवनमा स्वस्थ प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासकै रूपमा लिनुपर्ने बताउँछन् । ‘समूहलाई पनि मर्यादित र जीवन्तता दिन सक्यो भने यसले पार्टीलाई फाइदै गर्छ,’ उनले भने, ‘तर अयोग्यलाई अघि बढाएर योग्यलाई पछार्न गुटतन्त्रको विकास गरियो भने घातक हुन्छ । फरक–फरक विचारलाई एकताको मालामा उन्न सक्यौं भने त्यसले सौन्दर्य नै बढाउँछ ।’


पछिल्लोपटक कांग्रेसमा गुटका आधारमा भागबन्डाको परम्परा बसेको छ । कांग्रेस र हालका पार्टी सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको तत्कालीन कांग्रेस (प्रजातान्त्रिक) बीच एकीकरण हुँदादेखि यस्तो भागबन्डाको शृंखला सुरु भएको हो । १३ औं महाधिवेशनपछि भागबन्डा झनै झंगिएको छ ।


केन्द्रीय सदस्य कल्याण गुरुङ पार्टीभित्र राजनीतिक कार्यकर्ता र नेताहरूको न्यायोचित व्यवस्थापन नभएकै कारण गुटहरूको जन्म भएको बताउँछन् । ‘रामराज्यको कल्पना गर्न त गाह्रो हुन्छ तर नेताहरूले निष्पक्ष र क्षमताका आधारमा मूल्यांकन गर्ने र अवसर दिने पद्धति बसाल्न सके स्वार्थका लागि खोलिएका गुट अन्त्य गर्न सकिन्छ,’ गुरुङले भने, ‘तर नेतृत्वमा रहेकै व्यक्ति नै आत्मकेन्द्रित भएर आफूलाई बलियो बनाउन गुट बनाएका छन् । यस्ता गुट नेताहरूले बनाउने हुन्, कार्यकर्ताले होइन । गुट अन्त्य गर्न पहिला नेतृत्वको कार्यशैलीमै परिवर्तन आवश्यक छ ।’


कांग्रेसमा उपगुट धेरै भए पनि मुख्य रूपमा सभापति देउवाले नेतृत्व गरेको संस्थापन र वरिष्ठ नेता पौडेलले नेतृत्व गरेको समूह हाबी छ । १३ औं महाधिवेशनको पूर्वसन्ध्यामा पूर्वमहामन्त्री सिटौलाको नेतृत्वमा तेस्रो धारको नेतृत्व गर्दै छुट्टै गुट जन्मेको थियो । पार्टी नेतृत्वको कार्यशैलीलाई लिएर चिढिएका पौडेल र सिटौला निर्वाचनपछि एकै ठाउँमा आउने प्रयासमा छन् । उनीहरूलाई एकै ठाउँमा जोड्न कांग्रेस नेता अर्जुननरसिंह केसी, युवा नेताहरू चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, प्रदीप पौडेलसहित जुटेका छन् ।


कोषाध्यक्षहरूको राष्ट्रिय कार्यसमितिकी महासचिव लक्ष्मी पाण्डेका अनुसार राष्ट्रिय भेलाको उद्घाटन पार्टी सभापति देउवाले गर्नेछन् । उद्घाटन सत्रपछि निर्वाचनमा पार्टी हारको समीक्षा गरिनुका साथै पार्टीको भावी रणनीति र कार्यक्रमबारे प्रशिक्षणसमेत हुनेछ ।

प्रकाशित : चैत्र ४, २०७४ २१:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?