कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश ५ मा सरकार विस्तार हुँदै: एमालेबाट २, माओवादीवाट १ मन्त्री थपिँदै

प्रदेश ५

रूपन्देही — सरकार गठन एक महिनापछि मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल विस्तार तयारी गरेका छन् ।

प्रदेश ५ मा सरकार विस्तार हुँदै: एमालेबाट २, माओवादीवाट १ मन्त्री थपिँदै

तीन सदस्यीय सरकार बनेको शनिबार एक महिना पुग्यो । सोमबार उनले तीन मन्त्री थप्ने तयारी गरेका हुन् । स्रोतका अनुसार एमालेबाट २ र माओवादीबाट १ मन्त्री थपिनेछन् । एमालेबाट रूपन्देहीका लीला गिरी र बाँकेकी आरती पौडेल भने माओवादीबाट गुल्मीका सुदर्शन बराल मन्त्रीमा थपिनेछन् ।

यसअघि मुख्यमन्त्रीसँगै आन्तरिक मामिला तथा कानुन मन्त्रीमा माओवादीका कुलप्रसाद केसी र भौतिक पूर्वाधार तथा विकास मन्त्रीमा एमालेका बैजनाथ चौधरी नियुक्त भएका थिए । आकांक्षी बढेपछि प्रदेश सरकारले मन्त्रालय फुटाउने तयारी गरेको छ ।

सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट कानुन, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट कृषि, उद्योग, पर्यटन, वन तथा वातवरणबाट पर्यटन मन्त्रालय छुट्याउने तयारी भएको हो । तर संघीय सरकारमा सँगै रहेका मन्त्रालय प्रदेश सरकारमा टुक्र्याउन नमिल्ने भएकाले अप्ठयारो छ । तीन ठूला सहर रहेकाले सहरी विकास मन्त्रालय छुट्टै राख्ने तयारी सरकारको छ ।

सरकार गठनका बेला मुख्यमन्त्री, आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार विकास मन्त्रालय एमालेले लिने र सभामुख, आन्तरिक मामिला तथा कानुन र सामाजिक मन्त्रालय माओवादीले लिने सहमति भएको थियो । माओवादीबाट सभामुखमा पूर्णबहादुर घर्ती र आन्तरिक मामिला तथा कानुन मन्त्री केसी भए ।

सामाजिक विकासमा माओवादीका आकांक्षी धेरै भएपछि विस्तार रोकिएको थियो । आइतबार माओवादीले सुदर्शन बरालको नाम सिफारिस गरेपछि सरकार विस्तार तयारी सुरु गरेको हो । पूर्वसहमतिअनुरुप माओवादीले सामाजिक विकास मन्त्रालय दाबी गरेको छ ।

एमालेले भने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय माओवादीलाई प्रस्ताव गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री केसीले पूर्व सहमतिअनुरुपकै मन्त्रालय माग गरिएको बताए । ‘हाम्रो पूर्वसहमति अनुरुप माग हो,’ उनले भने, ‘भोलि सरकार विस्तार हुन्छ ।’

बराल सामाजिक विकास मन्त्री भए एमालेका लीला गिरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री हुनेछन् । यसबारे छलफल भइरहेकाले सोमबार सरकार विस्तार हुने मुख्यमन्त्री पोखरेलले बताए । ‘व्यक्ति जो भए पनि सोमबार सरकार विस्तार हुन्छ,’ उनले भने । उनलाई ५ सांसद रहेको संघीय समाजवादी फोरम र १ मत रहेको राष्ट्रिय जनमोर्चाको पनि समर्थन छ । फोरमले २ मन्त्रालय माग्दै आएको छ । एमालेभित्र पनि मन्त्रीका आकांक्षी धेरै छन् ।

कपिलवस्तुका विष्णु पन्थी, गुल्मीका कमलराज श्रेष्ठ, अर्घाखाँचीका चेतनारायण आचार्य, बर्दियाका कुलप्रसाद पोखरेल पनि आकांक्षी छन् । माओवादीमा रुपन्देहीका दधिराम न्यौपाने, पाल्पाका तुलाराम घर्ती, दाङकी दामा शर्मा, बाँकेकी कृष्णा केसी आकांक्षी हुन् । आकांक्षी धेरै भएकाले दुवै दलबीच अहिले पनि मन्त्रालय ११ देखि १३ सम्म बनाउने छलफल भइरहेको छ ।

प्रकाशित : चैत्र ५, २०७४ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?