चिकित्सक भेट्नै मुस्किल

जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनमा सय कर्मचारी अनुपस्थित

मोरङ — कोसी अञ्चल अस्पतालमा चिकित्सक र कर्मचारी नियमित नबस्दा अस्तव्यस्त बनेको छ । चिकित्सक नभेटेर उपचारका लागि आउने बिरामी मर्कामा परेका छन् ।

चिकित्सक भेट्नै मुस्किल

दरबन्दीका चिकित्सक र कर्मचारी अधिकांश आ–आफ्ना निजी अस्पताल र क्लिनिकमा बस्ने भएकाले बिरामीले सास्ती खेप्नुपरेको हो ।

अस्पतालमा चिकित्सक र कर्मचारी नबस्ने गरेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय मोरङले अनुगमन गरेको छ । यसक्रममा एकै दिन ३ सय अनुपस्थित रहेको पाइएको थियो । विशेषज्ञ चिकित्सकदेखि तल्लो स्तरका कर्मचारीहरू अनुपस्थित रहेको प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले बताए । अस्पताल प्रशासनको मिलेमतोमा चिकित्सक रकर्मचारीहरू पालैपालो अनुपस्थित रहने गरेको अस्पताल स्रोतको भनाइ छ । चिकित्सकहरू आ–आफ्ना निजी क्लिनिक र अस्पतालमा व्यस्त रहने गरेकाले अस्पतालमा अनुपस्थित देखिएको एक कर्मचारी बताउँछन् ।

यहाँका कतिपय चिकित्सकको निजी अस्पताल छ भने अधिकांशको क्लिनिक छ । उनीहरू आ–आफ्नो अस्पताल र क्लिनिकमा व्यस्त भएपछि बिरामी मर्कामा परेको स्थानीय अरबिन्द मण्डल बताउँछन् । चिकित्सकहरू अस्पतालअघि निजी क्लिनिक खोलेर बिहानदेखि बेलुकासम्म त्यहीं व्यस्त रहने गरेको उनको आरोप छ ।

केही चिकित्सकले कोसी अञ्चल अस्पतालमा आउने बिरामीलाई आफ्नै निजी अस्पतालमा उपचारका लागि लैजाने गरेको उनले सुनाए । मण्डलका अनुसार यो विषयमा जानकारी भए पनि सरोकारवाला निकाय मौन छन् ।

चिकित्सक र कर्मचारी नियमित नबस्दा अस्पताल परिसर दिउँसै सुनसान बन्ने गरेको छ । उपचारका लागि आएका रामबहादुर बस्नेतले अस्पतालमा डाक्टर नभेटेको गुनासो सुनाए । ‘सरकारले चिकित्सकलाई पूरा समय बस्ने व्यवस्था गरेको छ,’ उनले भने, ‘तर यहाँ चिकित्सक र कर्मचारी दुबैको मनोमानी छ । आफूलगायत १०/१५ बिरामी चिकित्सकको प्रतीक्षा गर्दै बसे पनि कोही नआएपछि बाध्य भएर निजीमा उपचारका लागि पुग्नुपर्‍यो ।’

जिल्ला प्रशासन कार्यालय मोरङका प्रशासकीय अधिकृत नवराज कार्कीको नेतृत्वमा फागुन २७ मा अस्पतालमा अनुगमन गरिएको थियो । बिहान साढे १० बजे भएको अनुगमनका क्रममा अस्पतालको हाजिर अभिलेखअनुसार एकै दिनमा सय कर्मचारी अनुपस्थित रहेको पाइयो । ७ महिनादेखि चिकित्सक र कर्मचारीहरूले हाजिरीसमेत नगरेको पाइएको कार्कीले जनाए ।

भ्रष्टाचारविरुद्धको अभियान सञ्चालन गर्दै आएको समूहले चिकित्सक र कर्मचारीको हाजिरी अभिलेख माग गर्दा उनीहरू आन्दोलनमै उत्रेका थिए । उनीहरूले अस्पतालको सेवा अवरुद्ध गरी नारासमेत लगाए । प्रजिअ आचार्यले पहिलेदेखि नै चिकित्सक र कर्मचारीलाई सचेत गराउँदै आए पनि अटेरी गरेकै कारण अनुगमन गरिएको जनाए । ‘चिकित्सक र कर्मचारी अनुपस्थित हुँदै आएको अनुगमनका क्रममा भेटेकाले यसबारे अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘पहिलो चरणमा स्पष्टीकरण सोध्ने काम भएको छ ।’ एक–दुई दिन अनुपस्थित हुनेलाई सत्यतथ्य बुझेर अस्पताल प्रशासनलाई जानकारी गराउन निर्देशन दिइएको उनले बताए । सातादेखि अनुपस्थित हुनेलाई जिल्ला प्रशासन कार्यालयमै आएर लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको आचार्यको भनाइ छ । अनुसन्धान प्रक्रिया पूरा भएपछि सत्यतथ्य बाहिर आउने र त्यसपछि थप कारबाही प्रक्रिया अगाडि बढाइने उनले बताए  प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे पनि अस्पतालको सेवा प्रभावकारी बनाउन चासो देखाएका छन् ।

‘आफूले पनि अनुगमन गर्दा अस्पतालको अवस्था अस्तव्यस्त देखिएको थियो,’ उनले भने, ‘विराटनगरस्थित एक मात्र सरकारी अस्पतालको अवस्था यस्तो भएपछि विपन्न गरिबलाई उपचारमा समस्या आएकाले तत्काल सुधार गरी प्रभावकारी सेवा सञ्चालनका लागि प्रक्रिया अघि बढाएका छौं ।’

मेडिकल सुपरिडेन्टेन्ट डा. रोशन पोख्रेलले अस्पतालमा ५ सय चिकित्सक र कर्मचारी कार्यरतमध्ये केहीको बिहान, केहीको दिउँसो र केहीको राति डयुटी रहने भएकाले सबैको हाजिरी नभेटेको दाबी गरे । ‘अनुगमन टोली ११ बजेतिर आएकाले सबैको हाजिरी नभेट्नु स्वाभाविक हो,’ उनले भने । चिकित्सक र कर्मचारीले आ–आफ्नो डयुटी निर्वाह गर्दै आएको उनको दाबी छ ।

प्रकाशित : चैत्र ५, २०७४ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?