निवर्तमान प्रधानन्यायाधीश पराजुलीविरुद्ध प्रहरीमा उजुरी

कान्तिपुर संवाददाता

काठमाडौँ — निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध प्रहरीमा उजुरी परेको छ । प्रचलित कानून विपरीत नागरिकताको विवरण सच्याएको र शैक्षिक प्रमाणपत्र लिएको भन्दै महानगरिय प्रहरी परिसर काठमाडौंमा उजुरी परेको हो ।

पत्रकार मदनबाबु भण्डारीले दिएको जाहेरी दर्खास्तमा पराजुलीको ‘शैक्षिक प्रमाण र नागरिकताको बारेमा सत्य तथ्य छानविन गरि हदैसम्मको कारवाही गर्न’ माग गरिएको छ ।

‘नागरिकतामा एउटा मिति, सेवा प्रवेश गर्दा अर्को मिति, शैक्षिक प्रमाणपत्रहरुमा अलग अलग मिति भएका पराजुलीले प्रधानन्यायाधीशको पद लम्ब्याउनको लागि शैक्षिक प्रमाणपत्रका कागजात न्यायपरिषद् सचिवालयमा समेत पेश गरेनन्,’ उजुरीमा भनिएको छ, ‘यस्तो व्यक्तिका शैक्षिक प्रमाण र नागरिकताको बारेमा सत्य तथ्य छानविन गरि निजलाई हदैसम्मको कारबाही गरि पाऊँ ।’

उजुरीमा नेपाल ल क्याम्पस, नेपाल कानून व्यवसायी परिषद्, परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुर, जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला प्रशासन कार्यालय काठमाडौं, न्यायपरिषद्, कर्मचारी कल्याण कोष लगायतका निकायबाट उनको आवश्यक विवरण छानविनको माग समेत गरिएको छ ।

प्रकाशित : चैत्र ५, २०७४ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्

बलेवामा २६ बर्षपछि जहाज

प्रकाश बराल

बागलुङ — २६ बर्षदेखि बन्द भएको बागलुङको बलेवा बिमानस्थलमा सोमबार परिक्षण उडान गरिएका छ । यो उडानले यहाँको बिकासमा नयाँ ढोका खुलेको स्थानीयले बताएका छन् ।

नेपाल नागरिक उड्ययन प्राधिकरणले कर्मचारी र प्राविधिक सहित १० राखेर पहिलो पटक तारा एयरलाइन्सको १८ सिट क्षमताको ९ एन एकेएल जहाज बागलुङको बलेवा मैदानमा अवतरण गरेको हो । बागलुङ नगरपालिकाको अगुवाईमा दुई महिना अघिदेखि थालिएको तयारी स्वरुप जहाज आएको हो । पहिलो उडान हेर्न यहाँका सयौं मानिस बिमानस्थल वरपर भेला भएका थिए । उनीहरुले जहाज अवतरण गर्दा ताली बजाएर स्वागत पनि गरे । साथै उडानमा आएका पाईलट र प्राविधिकलाई फूलमालाले स्वागत पनि गरेका थिए ।

चैत ९ गते देखि यात्रीका लागि नेपाल एयरलाइन्स र तारा एयरलाइन्सले नियमित उडान भर्ने सहमति अनुसार सोमबार परीक्षण गरिएको प्राधिकरणका पोखरा स्थित निर्देशक भोलाप्रसाद गुरागाईंले बताए । पहिलो उडानका क्रममा पाईलटहरु सन्तोष शाह, प्रभाकर घिमिरे र संजीव श्रेष्ठ तथा कोपाईलट सिर्जना हुमागाईंलगायतको टोली आएका थिए । टोलीले मैदानलाई अझै सम्याउन, जहाजको पार्किङ स्थल तथा यात्री प्रतिक्षालय बनाउन प्राधिकरण र नगरपालिकालाई सुझाव दिएका छन् ।

चालक शाहका अनुसार बलेवादेखि काठमाडौंस्थित त्रिभूवन बिमानस्थलमा पुग्न ४५ मिनेटको उडान हुनेछ । २०१८ सालमा निर्माण भएपछि नियमित संचालन भएको बिमानस्थल २०४८ सालमा पोखरा–बागलुङ राजमार्गको ट्रयाक खुलेपछि जहाज आउन छाडेको थियो । तस्बिरहरु: प्रकाश बराल/कान्तिपुर ।


प्रकाशित : चैत्र ५, २०७४ १५:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्