कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

प्रहरी हुँ भन्दै, ठग्दै

बर्दीमा खिचेको तस्बिर र नक्कली परिचयपत्र देखाउँदै ठग्ने गिरोह नै सक्रिय
– नक्कली सशस्त्र प्रहरी महिला पक्राउ
– ठगको फन्दामा प्रहरी नै
जनकराज सापकोटा

काठमाडौँ —  सशस्त्र प्रहरीको फौजी पोसाकमा उभिएका अनेक फोटो देखिन्छन्, मन्जु बुढाथोकीको फेसबुक पेजमा । एउटा फोटोमुनि एक प्रयोगकर्ताले कमेन्ट लेखेका छन्– सेवा नै धर्म हो, सलाम छ । महानगरीय प्रहरी वृत्त, बालाजुले आइतबार तारकेश्वर नगरपालिका १० बाट यिनै बुढाथोकीलाई पक्राउ गर्‍यो । पक्राउपछि पो प्रहरीले थाहा पायो, उनको असली नाम कोपिला बोहोरा रहेछ ।

प्रहरी हुँ भन्दै, ठग्दै

सिन्धुपाल्चोक बलेफी नगरपालिका ७ लामोसाँघु घर भएकी कोपिला पक्राउको कारण अनौठो छ । वास्तवमा उनको परिचय पनि झूटो रहेछ । प्रहरीले उनको कोठामा सशस्त्र प्रहरीको पोसाकमा सजिएको फ्लेक्स प्रिन्ट पनि देखेको थियो । आफू सशस्त्र प्रहरीको प्रहरी सहायक निरीक्षक रहेको बताउँदै सशस्त्रमा जागिर लगाइदिने नाममा ठगी गरेको आरोपमा उनी पक्राउ परेकी थिइन् ।

कोपिलाले आफू भर्खरै रसुवाबाट सरुवा भएर सशस्त्र प्रहरीको प्रधान कार्यालय आएको भन्दै ४ जनाबाट ६ लाख ३० हजार रुपैयाँ ठगेकी थिइन् । सशस्त्र प्रहरीमा जागिर खान प्रतिस्पर्धामा उत्रिएर फेल भएकाहरूसित नाम निकालिदिने भन्दै उनी रकम असुल्थिन् र एकाएक बेपत्ता हुन्थिन् । महानगरीय प्रहरी वृत्त, बालाजुका डीएसपी विश्वराज खडकाका अनुसार कोपिलाले यसअघि पनि यस्तै प्रकृतीको ठगी घटनामा पक्राउ परेर सजाय भोगेकी थिइन् ।

प्रहरीका अनुसार २०७३ फागुन ११ मा भीमप्रसाद राईसहितका पीडितले ५ लाख ५ हजार रुपैयाँ ठगेको भन्दै उजुरी गरेपछि उनी पक्राउ परेकी थिइन् । यही मुद्दामा काठमाडौं जिल्ला अदालतले २०७३ चैत १७ मा उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । ३ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना बुझाएपछि उनी थुनामुक्त भएकी थिइन् । कोही सक्कली सशस्त्र प्रहरीकै मिलेमतोमा उनले ठगी गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

बालाजु वृत्तले कोपिलालाई पक्राउ गरेकै दिन महानगरीय अपराध महाशाखाले मैतीदेवी बस्ने कुमार मण्डललाई पक्राउ गर्‍यो । कोपिलाको जस्तै झूटको सहारा लिएर ठगी गर्न पल्केका कुमारको धन्दा उस्तै रोचक थियो । कोपिलाले सर्वसाधारणलाई ठगेकी थिइन्, तर कुमारले त बहालवाला प्रहरीलाई नै ठग्न भ्याए । प्रहरी प्रधान कार्यालयमा काम गर्ने डीएसपीसँग कुरा मिलाएर ‘सेटिङ’ मा संयुक्त राष्ट्रसंघको मिसन टोलीमा पठाइदिने आश्वासन दिँदै उनले बहालवाला दुई प्रहरीसँग पटक–पटक गरेर ४ लाख रुपैयाँ ठगेका थिए । प्रहरीका अनुसार कुमारले प्रकाशकुमार नामका व्यक्तिसँग मिलेर ठगीे धन्दा चलाएका थिए । आफूलाई डीएसपी नारायणकुमार श्रेष्ठ बताउने प्रकाशको पनि प्रहरीले खोजी गरिरहेको छ । महाशाखाले कुमारलाई ठगीमा कारबाही चलाउने भएको छ ।

नक्कली प्रहरी बनेर ठग्ने र सक्कली प्रहरीलाई नै ठगी गर्ने घटना यो पहिलो भने होइन । गत ५ वैशाखमा कञ्चनपुरका केशव सिंहलाई महानगरीय प्रहरी परिसर, काठमाडौंले पक्राउ गर्‍यो । उनले आफूलाई परिसरको सिभिल पुलिस भएको नक्कली परिचयपत्र देखाउँदै ठगी गरेका थिए । रकम र मोबाइल नदिए विभिन्न मुद्दा चलाएर फसाइदिने भन्दै उनले डोटी, गुगडा– ३ का शुभम बोगटीलाई धम्काउँदै आएका थिए । पैसा लिन कोटेश्वर पुगेका बेला प्रहरीले केशवलाई पक्राउ गरेको थियो । फागुन तेस्रो साता पनि महानगरीय अपराध महाशाखाले एआईजीको ड्राइभर बताउने र राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने आश्वासन दिँदै ठगीधन्दा चलाएका गुल्मीका मिलन पाण्डेलाई पक्राउ गरेको थियो । अपराध महाशाखाको प्रहरी बताउँदै ठगीधन्दा चलाउने सिन्धुपाल्चोकका दीपेन्द्र केसीलाई पनि फागुनकै तेस्रो साता अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ ।

प्रहरीको बर्दीसहितको फोटो देखाउँदै ठगी गर्ने दीपेन्द्रले आफू प्रहरीको केरकार शाखामा काम गर्ने र सजिलै ग्यास उपलब्ध गराइदिने भन्दै सल्लाघारीकी एक महिलासँग ५० हजार ठगेर बेपत्ता भएका थिए ।


प्रकाशित : चैत्र ५, २०७४ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?