कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नृत्यमा एमए अध्यापन सुरु

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयमा पहिलो पटक स्नातकोत्तर तहमा नृत्य विषयको पठनपाठन सुरु भएको छ । बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पसले यसै शैक्षिक सत्रबाट नृत्यमा स्नातकोत्तर सुरु भएको हो । संस्कृतिविद् सत्यमोहन जोशीले आइतबार एक समारोहबीच उक्त विषयको पठनपाठन उद्घाटन गरे । 

नृत्यमा एमए अध्यापन सुरु

पद्मकन्यामा यसअघि नृत्यमा स्नातक तहसम्मको पढाइ हुँदै आएको थियो । ‘पद्मकन्यामा २०२० सालदेखि नृत्य विषय पठनपाठन हुँदै आएको छ,’ क्याम्पस प्रमुख प्राध्यापक रेनुका जोशीले भनिन्, ‘विद्यार्थीका मागलाई ध्यानमा राखेर स्नातकोत्तर तहमा समेत नृत्य विषय पठनपाठन सुरु गरेका हौं । अब यही विषयका निम्ति विद्यार्थीले विदेशतिर भौंतारिनुपर्ने छैन ।’


स्नातकोत्तर तहमा पठनपाठन सुरु भएसँगै नेपालको नृत्य परम्परा र यसको प्राज्ञिक स्तरमा नयाँ आयाम थपिने उनको दाबी छ । ‘नृत्य परम्पराको सिर्जनात्मक दक्षता र पठनपाठनले नेपाल र दक्षिण एसियाकै सांस्कृतिक सम्पदाका संरक्षणमा सहयोग पुग्नेछ,’ प्रमुख जोशीले भनिन् । स्नातकोत्तर तहमा नृत्यसम्बन्धी औपचारिक अध्ययन, व्यावहारिक कलाको प्रशिक्षण र अन्तर्राष्ट्रिय रूपमा चलेका नृत्य परम्परासमेत अनुसन्धान गराइने जनाइएको छ । नृत्य विषयको पहिलो सेमेस्टरमा २१ जना भर्ना भएका छन् ।


विसं २००८ सालमा स्थापित पद्मकन्या त्रिविको आंगिक क्याम्पसमध्ये एक हो । यसै वर्षबाट त्रिविबाट स्वायत्तता प्राप्त गरेको छ । यहाँ मानविकी, व्यवस्थापन र विज्ञान संकायको पठनपाठन हुँदै आएको छ । स्नातक र स्नातकोत्तर तहमा गरी ४ हजार ५ सय छात्रा अध्ययनरत छन् ।

‘हाम्रो लक्ष्य पद्मकन्या क्याम्पसलाई पहिलो महिला विश्वविद्यालय बनाउने हो,’ प्रमुख जोशीले भनिन्, ‘त्रिविलाई भार नपर्ने गरी नयाँ कार्यक्रम ल्याएका छौं । यसै सत्रमा मानविकीतर्फ नृत्य र व्यवस्थापनमा बीसीए नयाँ विषयका रूपमा पढाउँदै छौं ।’


मानविकीतर्फ स्नातकमा नेपाली, अंग्रेजी, हिन्दी, संस्कृत, नेपालभाषा, समाजशास्त्र, ग्रामीण विकास, गृहविज्ञान, बौद्ध अध्ययन, संस्कृति, जनसंख्या, राजनीतिशास्त्र, पत्रकारिता, वाद्यवादन, संगीत, नृत्य, मनोविज्ञान, अर्थशास्त्रलगायत विषय पठनपाठन हुँदै आएको छ । त्यस्तै स्नातकोत्तरमा नृत्यसहित दस विषय पुगेको छ । व्यवस्थापनतर्फ स्नातकमा बीबीएस, बीबीए, बीबीएम पढाइन्छ भने स्नातकोत्तरमा एमबीए पठनपाठन हुन्छ । विज्ञानतर्फ बीएस्सी, माइक्रोबायोलोजी, वातावरण विज्ञान पठनपाठन हुँदै आएको छ । सहायक क्याम्पस प्रमुख केशवराज सापकोटाका अनुसार अलोकप्रिय विषयलाई पुन:संरचना गर्ने तयारी भइरहेको छ ।


पद्मकन्या क्याम्पसमा ३ सय २२ शिक्षक र ९९ कर्मचारीको दरबन्दी छ, जसमा २ सय ८० शिक्षक र ८७ कर्मचारी कार्यरत रहेको क्याम्पस प्रमुख जोशीले जनाइन् । साढे ३७ रोपनी क्षेत्रफलमा फैलिएको क्याम्पसको प्रज्ञा, मैत्री र पुस्तकालय गरी तीनवटा भवन छन् । दुई सय जना क्षमताको दुइटा छात्रावास भवन छन् । अहिले १ सय ७० छात्राले मासिक ५ सय रुपैयाँ शुल्क तिरेर पढदै आएका छन् ।

प्रकाशित : चैत्र ५, २०७४ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?