चिताबाटै शव बरामद

रासस

रौतहट — लोग्नेको कुटाईबाट मृत्यु भएको आशंकामा प्रहरीले एक चितामा जलाउनै लागिएको महिलाको शव बरामद गरेको छ ।

शवका साथै दुई बोतल पेट्रोल र पाँच किलो चिनीका साथ जलाउन गएका चार आफन्तलाईसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । महिलाका श्रीमान् कटहरिया नगरपालिका–५ का ३५ वर्षीय विजय साह सोनार घटनालगत्तै गए रातिदेखि फरार रहेको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलका अनुसार अभियुक्त सोनार र उनकी श्रीमती ३५ वर्षीया राजकुमारी देवीबीच घरायसी विवादमा गए राति झगडा भएको थियो ।


झगडाका क्रममा अभियुक्तको कुटाइबाट मृत्यु भएकी राजकुमारीलाई मंगलबार बिहान मृतकका दुईभाइ र अभियुक्तका भाइभाञ्जाले लालबकैया किनारमा जलाउन लागेका थिए ।


सूचनाका आधारमा उक्त स्थानमा इलाका प्रहरी कार्यालय कटहरियाबाट गएको टोलीले चिहानमा जलाउनै लागेको शव बरामद गरेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए ।


मृतकको घाँटीमा नीलो डाम देखिएकाले घाँटी थिचेर मारेको आशङ्का प्रहरीले गरेको छ । मृतकका भाइ पर्ने कटहरिया–५ का भन्टु साह र भाञ्जा पर्ने कटहरिया–५ का रामबालक साह तथा मृतकका भाइ रौतहट राजदेवी गाउँपालिका–३ का राजकिशोर साह र सुरेश साह पक्राउ परेका छन् । घटनापछि फरार अभियुक्तको सल्लाहमा आफन्तले शव जलाउन लगेको र माइती पक्षलाई खबर गर्दा भाइ पर्ने दुवै जना बिहान आएर सीधै शव जलाउने ठाउँमा पुगेको प्रत्यक्षदर्शी स्थानीयवासीले बताएका छन् ।

प्रकाशित : चैत्र ६, २०७४ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?