दरबारमार्ग बलात्कार प्रकरणका मुख्य प्रतिवादी पक्राउ

जनकराज सापकोटा

काठमाडौँ — महानगरीय प्रहरी परिसर काठमाडौंले दरबारमार्गको ल्यान्डमार्क होटलमा माघ ७ गते राति भएको सामूहिक बलात्कार घटनाका मुख्य प्रतिवादी शैलेश कार्कीलाई पक्राउ गरेको छ । 

दरबारमार्ग बलात्कार प्रकरणका मुख्य प्रतिवादी पक्राउ

मिलेमतोमा गुपचुप राखिएको उक्त घटना बाहिरिएलगत्तै चारै प्रतिवादी फरार थिए । उक्त प्रकरणका अन्य तीन प्रतिवादी दीपक श्रेष्ठ, विकास गौतम र रवि पौडेल भने हालसम्म फरार छन् ।


महानगरीय प्रहरी वृत्त दरबारमार्गको मुद्दा शाखाका इन्स्पेक्टर लक्ष्मणसिंह ठकुरीले मुद्दाको अनुसन्धान गर्ने बाटो नसमातेर पैसाको लेनदेनका आधारमा घटना सामसुम पार्न खोजेका थिए । त्यसमा मुद्दा शाखाकै सई चन्द्र भण्डारीले मुख्य भूमिका खेलेका थिए । घटनाको चौथो दिन अर्थात् १० गते केटा र केटी पक्षका बाबुआमाबीच आर्थिक लेनदेनका आधारमा घटनालाई गुपचुप राख्ने सहमति बनेको थियो ।


पैसाको लेनदेन मिलाउन चक्रसिंह ठकुरी नामका व्यक्तिले बिचौलियाको भूमिका खेलेका थिए । उनीहरूले एक वकिललाई नै झम्सीखेलको एक होटलमा बोलाएर कागज गर्न लगाएका थिए । इन्स्पेक्टरकै सक्रियतामा पीडित युवतीकी आमालाई २७ लाख रुपैयाँ हातैमा थमाइएको थियो भने तीन लाख रुपैया बिचौलियाहरूले लिएका थिए ।


घटना सार्वजनिक भएलगत्तै फरार रहेका प्रतिवादीहरूलाई पक्रन प्रहरीले काठमाडौं मातहतका सबै वृत्त तथा प्रभागहरूमा परिपत्र गरेको थियो । मंगलबार दिउँसो कार्की दरबारमार्गमा रहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।


सामूहिक बलात्कारको घटनालाई मिलेमतोमा गुपचुप राखेको भन्दै प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले इन्स्पेक्टर ठकुरीलाई निलम्बन गरिसकेको छ भने प्रहरी परिसर काठमाडौंले सई चन्द्र भण्डारीलाई निलम्बन र तत्कालीन डीएसपी दीपक भारतीलाई सरुवा गरिसकेको छ । घटनाको १८ दिनपछि अर्थात् २५ माघमा प्रहरी परिसर काठमाडौंले छानबिनको प्रतिवेदन तयार पारेको थियो । उक्त प्रतिवेदनमा इन्स्पेक्टर ठकुरी र सई भण्डारीलाई बर्खास्त गर्नुपर्ने र डीएसपी भारतीलाई जिम्मेवारीबाट हटाएर हदैसम्मको कारबाही गर्नुपर्ने सिफारिस गरिएको थियो ।


प्रतिवेदनमा सामूहिक बलात्कारजस्तो गम्भीर फौजदारी अपराधलाई कानुनी प्रक्रियामा अगाडि बढाउनुको साटो पीडित पक्षलाई आर्थिक प्रलोभन देखाई मिलापत्र गराएर अपराध लुकाउने/छिपाउने कार्यमा संलग्न व्यक्तिको पहिचान भएको उल्लेख गरिएको थियो ।


दरबारमार्ग बलत्कार प्रकरण: मिलापत्रमा तीन लाख खर्च

दरबारमार्ग बलात्कार प्रकरणः इन्स्पेक्टर ठकुरी निलम्बित

प्रकाशित : चैत्र ६, २०७४ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?