कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

कांग्रेसले निर्वाचन पराजयको समीक्षा गर्ने

जिल्ला कोषाध्यक्ष भेला आजदेखि

नुवाकोट — पार्टी शुद्धीकरणका लागि गुटबन्दी अन्त्य गर्न नेतृत्वलाई सचेत गराउने उद्देश्यसाथ कांग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्षहरूको दोस्रो राष्ट्रिय भेला बुधबार यहाँ सुरु हुँदैछ ।

कांग्रेसले निर्वाचन पराजयको समीक्षा गर्ने

कांग्रेसले पार्टीको कोष व्यवस्थित र पारदर्शी बनाउने अभियानका रूपमा यस्तो भेला गर्दै आएकोमा यस पटक प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन हारेपछिको पहिलो राष्ट्रियस्तरको भेला भएकाले राजनीतिक मुद्दालाई प्राथमिकतामा राखिएको कोषाध्यक्षहरूको राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले बताए ।

‘यस पटकको सम्मेलन निर्वाचनको समीक्षामै केन्द्रित हुनेछ,’ उनले भने, ‘पार्टीले कुन–कुन कारण निर्वाचन हार्न पुग्यो, त्यसको समीक्षा गर्दै नेतृत्वलाई घोषणापत्रमार्फत सुझाव दिने तयारी छ ।’ केन्द्रीय कार्यसमितिले जिल्ला कार्यसमितिहरूलाई यसअघि नै निर्वाचन हार्नुका कारण उल्लेख गर्दै प्रतिवेदन पठाउन पत्राचार गरेको थियो । अधिकांश जिल्ला कार्यसमितिले केन्द्रलाई सुझावसहितको प्रतिवेदन पठाइसकेका छन् । राष्ट्रिय भेलामा तिनै सुझावका आधारमा समीक्षा गरिने पुडासैनीले बताए ।

भेला उद्घाटन गर्न कांग्रेस सभापति शेरबहादुर देउवा बुधबार बिहान यहाँ आउँदै छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलासहितका केन्द्रीय नेताहरू पनि आउँदै छन् ।

शीर्ष सबै नेतालाई एउटै मञ्चमा राखेर कोषाध्यक्षहरूका प्रतिनिधि नेताले पार्टीमा गुटबन्दी अन्त्य गर्न सार्वजनिक रूपमै आह्वान गर्ने तयारी छ । ‘निर्वाचन हार्नुमा पार्टीभित्रको गुटबन्दी नै मुख्य कारण हो भन्ने हाम्रो ठम्याइ छ,’ पुडासैनीले थपे, ‘गुटबन्दी जरैदेखि नउखेलेसम्म पार्टी बन्दैन । त्यसका लागि विशेष पहल गर्ने तयारी गरेका छांै ।’

७७ जिल्ला भए पनि पार्टी संगठन रहेका ७५ जिल्लाका कोषाध्यक्षहरू कार्यक्रममा सहभागी हुनेछन् । उनीहरूमध्ये अधिकांश आइसकेका छन् । छिमेकी र नजिकका जिल्लाका कोषाध्यक्षहरू बुधबार बिहान आइपुग्ने छन् ।

पहिलो दिन उद्घाटन सत्र हुनेछ । त्यसै दिन बेलुकादेखि बन्दसत्र आयोजना गर्ने तयारी भइरहेको आयोजक जिल्ला नुवाकोट र रसुवा जिल्लाका कोषाध्यक्षद्वय महेन्द्र सिंह र पदम न्यौपानेले जानकारी दिए ।

सिंहका अनुसार सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको छ । भेलामा शीर्ष नेताका अतिरिक्त केन्द्रीय सदस्य, सांसद र जिल्ला सभापतिहरूलाई समेत निमन्त्रणा गरिएको छ ।

बन्दसत्रमा पार्टी संगठन सुदृढीकरणसम्बन्धी प्रशिक्षण दिने कार्यक्रमसमेत रहेको तनहुँ जिल्ला कार्यसमितिका कोषाध्यक्ष रेशम गुरुङले बताए । ‘यो सम्मेलन पार्टी संगठनलाई पुनर्जीवन दिने अभियान हो,’ उनले भने, ‘सम्मेलनमा पहिलो पटक निर्वाचन समीक्षा हुनेछ ।’

पार्टी सभापति देउवाले निर्वाचन समीक्षाका लागि भनेर शुक्रबार केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । यसअघि दुई पटक केन्द्रीय कार्यसमितिका बैठक बसे पनि निर्वाचन समीक्षा भएको थिएन । ती बैठक राष्ट्रिय सभा निर्वाचन, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखको निर्वाचनमा केन्द्रित रहेर छलफल भएको थियो । निर्वाचन समीक्षा बैठक बोलाउन ढिलाइ गर्दै आएको भन्दै केही केन्द्रीय सदस्यहरूले सभापतिको आलोचना गर्दै आएका थिए । अब बस्ने केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचनको समीक्षा गर्नुका साथै महासमिति बैठकको मिति र स्थानसमेत तय गर्नेछ ।

प्रकाशित : चैत्र ७, २०७४ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?