कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

एकता प्रक्रिया सहज ढंगले बढेको छ – दाहाल

प्रताप बिष्ट

हेटौडा — माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया सहजढंगले बढिरहेको बताएका छन् ।

एकता प्रक्रिया सहज ढंगले बढेको छ – दाहाल

बुधबार हेटौंडामा भएको पत्रकार सम्मेलनमा उनले पार्टी एकता एक महिना भित्र टुंगिने बताए । ‘पार्टी एकता प्रक्रिया सहजढंगले अगाडि बढेको छ । दुई वटा कार्यदल काम गरिरहेका छन् । एक/दुईदिनमा कार्यदलको प्रतिवेदन प्राप्त हुनसाथ एकता संयोजन समिति बसेर अन्तिम रुप दिनेछ,’ दाहालले भने, ‘कार्यदलले २२ अप्रिलमा एकता गर्न सुझाएपनि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र आफुले औपचारिक छलफल गरेपछि एकताको समय घोषणा हुन्छ ।’


वर्तमान सरकारलाई मधेशवादी दलहरुको समर्थन पछि दुई तिहाई बहुमत पुगेकाले अबको राजनीति सहजढंगले अगाडि बढ्ने उनको दाबी छ । दाहालले विकासको परिणाम निकाल्न राष्ट्रिय एकता र संकल्पको खाँचो रहेको टिप्पणी गर्दै राष्ट्रिय मुद्दामा सत्तापक्ष र विपक्षी दलबीच समझदारी जरुरी रहेको बताए । ‘स्थानीय, प्रदेश र केन्द्रीय सरकारबाट जनताले प्रत्यक्ष परिणाम खोजिरहेका छन् । त्यसका लागि काम र परिणाम हामीले दिन जरुरी रहेको छ,’ उनले भने । तीनै तहका सरकार गठनसंगै राष्ट्रपति र सभामुखको निर्वाचन पछि मुलुकको निर्वाचनको चक्र सकिएको भन्दै सरकारको चुनौती सुशासन, स्थायित्व र विकासलाई गति दिनु भएको बताए ।


प्रदेश ३ को राजधानी हेटौंडा नै कायम रहने दोहोर्‍याउदै उनले हल्लाको भरमा नसर्ने बताए । ‘हेटौंडा राजधानी कायम भएर काम सुरु भइसकेको छ,’ उनले भने, ‘राजधानीको अन्तिम निर्णय गर्ने अधिकार प्रदेशसभाको हो । बाहिर गरिएको प्रचारबाजी र हल्लाको आधारमा सर्दैन ।’ उनले प्रदेश ३ नम्बर प्रदेशको राजधानी हेटौंडा हुदाँ आफू खुशी रहेको बताए । दाहालले आफ्नो पार्टीका मन्त्रीहरु प्रदेशको राजधानीमा बसेर काम गरिरहेको भन्दै प्रशंसा समेत गरे ।

प्रकाशित : चैत्र ७, २०७४ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?