२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

राष्ट्रिय हितमा काम गर्दा कोही रिसाउला कि भन्ने चिन्ता नगर्नुहोस्ः प्रधानमन्त्री

शेखर अधिकारी

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय हितमा काम गर्दा 'कोही रिसाउला' भनेर चिन्ता नगर्न मन्त्री र प्रदेश मुख्य मन्त्रीलाई सुझाव दिएका छन् । बुधबार बिहान सिंहदरबारमा मन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीसँगको छलफलमा उनले आफ्नो देशको हितमा काम गर्दा अरु देश रिसाउला की भन्ने सोच नराख्न आग्रह गरे ।

राष्ट्रिय हितमा काम गर्दा कोही रिसाउला कि भन्ने चिन्ता नगर्नुहोस्ः प्रधानमन्त्री

उनले भने, 'अरु देशले पनि आफ्नो हितमा काम गर्ने हो। त्यसमा को रिसाउँछ भन्ने तिर जाँदैनन् । हामी पनि को रिसाउँछ भन्नेतिर जाँदैनौं ।'


छलफलमा प्रधानमन्त्री ओलीले अब असफल हुने छुट कसैलाई नभएको बताए । केन्द्र सरकार र प्रदेश सरकारलाई पनि असफल हुने छुट नभएको भन्दै उनले भने, 'हामीले सबै राजनीतिक क्रान्ति पुरा गरिसकेका छौं । हामीलाई असफल हुने कुनै बहाना छैन । अबको एकमात्रै एजेन्डा भनेको विकास मात्रै हो ।'


उनले अब सातै प्रदेशले विकासमा प्रतिस्पर्धा गर्नुपर्ने बताए । उनले भने, 'राम्रो कामको लागि सबै प्रदेशबीच आन्तरिक प्रतिस्पर्धा गर्नुहोला ।'


यसैगरी प्रधानमन्त्री ओलीले सहस्राब्दी विकास लक्ष्य पुरा गर्न १३ वर्ष बाँकी रहेको बताउँदै यो बीचमा विकासका सबै लक्ष्य पुरा गर्नुपर्ने उल्लेख गरे । उनले भने, ' कसरी विकास लक्ष्य भेट्टाउने हो भनेर अहिलेदेखि नै त्यसको योजना बनाएर काम गर्नुहोस् ।'


उनले यही प्रसंगमा तराइमा हरेक जाडोमा मानिस मरेका समाचार आउने गरेको उल्लेख गर्दै अबका जाडोमा यस्ता समाचार सुन्न नपर्ने गरी काम गर्न आग्रह गरे । उनले भने, 'जाडोममा यति मरे उति मरे भनेर सुन्न नपरोस् । अब अर्को जाडोमा यसको न्यूनीकरण गर्न आजैका दिनदेखि योजना बनाउनुहोस् । समयमा नै योजना बनाउँदा कार्यान्वयनमा सफल होइन्छ ।'


यस्तै उनले प्रदेशबीच कुनै कानुनी समस्या भए उक्त समस्या फुकाउन महान्यायाधिवक्ताको संयोजकत्वमा सहजीकरण समिति बनेको बताए । उनले भने, 'समितिको सहयोग लिनुहोस्। कानुनी अड्चन फुकाउनुहोस् ।'


छलफलमा रक्षा, गृह, कानुन र अर्थ मन्त्री, सातै प्रदेशका मुख्य मन्त्री र सचिव सहभागी छन् ।

बैठक जारी छ ।


अहिले मुख्य मन्त्रीले आफ्नो कुरा राखिरहेका छन्।

प्रकाशित : चैत्र ७, २०७४ १३:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?