२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

एआईजीका छोरा थुनाको घटनामा इन्स्पेक्टरमाथि छानबिन

होहल्ला र छाडा बोलेपछि समात्यौं : प्रहरी
बिनाकारण कुटपिट गरियो : सुगम

काठमाडौँ — महानगरीय प्रहरी वृत्त दरबारमार्गका ईन्स्पेक्टर देउप्रसाद लिम्बुलाई प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन शाखाले बयानका लागि बोलाएको छ । शुक्रबार मध्यराति तीन युवकलाई ठमेलबाट समातेर वृत्तमा ल्याएर रातभरी थुनेको विषयमा शाखाले उनीमाथि सोधपुछ गरेको थियो ।

एआईजीका छोरा थुनाको घटनामा इन्स्पेक्टरमाथि छानबिन

ईन्सपेक्टर लिम्बु सम्मिलित टोलीले गरेको पक्राउ र थुनाको घटना छानबिन गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एसएसपी रामकृपाल शाहको नेतृत्वमा तीन सदस्यीय टोली नै बनाएर छानबिन थालेको छ । स्रोतका अनुसार मंगलबार कार्यालयले उक्त घटनाबारे ईन्स्पेक्टर लिम्बुलाई लिखित बयानका निम्ति प्रश्न पठाएको छ ।


आखिर के त्यस्तो घटना थियो, जसबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी कार्यालयले एकैसाथ तदारुपता देखाए । प्रहरीले ठमेलबाट पक्राउ परेका तीनमध्ये एक जना चार नम्बर प्रदेशका एआईजी कमलसिंह बमका छोरा हुन् ।


घटना यस्तो हो

गत शुक्रबार मध्यराति सुगम बमसहितका सात/आठ जना युवा मदिरा सेवन गरेर घर फर्किंदै थिए । ठमेलको सञ्चयकोष भवनअघि सुगमको टोली र एक ट्याक्सी चालकसँग भाडाको विषयमा विवाद भएको थियो । विवाद बढ्दै गएपछि ट्याक्सी चालकले नजिकै रहेका सादा पोसाकका प्रहरीलाई गुर्हाछन् । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा प्रहरीले सुगमसहित अन्य दुई युवालाई पक्राउ गरेर दरबारमार्ग वृत्त पुऱ्याए । शनिबार बिहानै चार बजे आमाको जिम्मा लगाएर सुगमलाई छोडिएपछि सुगमको परिवारले बिनाकारण कुटपिट गरिएको र थुनामा राखिएको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी गरेको थियो । उक्त उजुरीपछि प्रहरी प्रधान कार्यालयल र महानगरीय प्रहरी कार्यालयले ईन्स्पेक्टर लिम्बुमाथि छानबिन सुरु गरेको हो ।


होहल्ला र छाडा बोलेपछि समात्यौं : प्रहरी


राति करिब साढे एक बजेको कुरा हो । मदिराले मातेको एक हुल केटाहरु ट्याक्सी चालकसँग विवाद गरिरहेका थिए । हामीले किन होहल्ला गरेको भनेपछि एकजनाले ह्वाट ? के चाहियो भन्दै प्रतिउत्तर दिए । ट्याक्सी चालकले झगडा गर्न खोजेको बताएपछि र उनीहरुले मदिराको सुरमा होहल्ला गर्न खोजेपछि हामीले समात्यौं र गाडीमा राख्न खोज्दा धक्कामुक्का भयो । सायद त्यही धक्कामुक्कामा सामान्य घाउ भएको हुनसक्छ । त्यसपछि सपोर्ट टोली आएर गाडीमा राखेर दरबारमार्ग वृत्त पुऱ्यायो । गाडीभित्र सुगमले तिमीहरुजस्ता ५/६ जना प्रहरी त मेरो घरमा काम गर्न बस्छन् भन्दै तथानाम बोले । वृत्त पुऱ्याएपछि राति नै करिब २ बजेतिर ट्रमा सेन्टर पुऱ्याएर स्वास्थ्य परीक्षणपछि वृत्तमा ल्याएर थुनामा राख्यौं । भोलिपल्ट बिहानै आमा आएपछि जिम्मा लगाएर पठायौं ।


बिनाकारण कुटपिट गरियो : सुगम

म साथीहरुसँग ठमेलको एक रेस्टुरेन्टमा बसेर घर फर्किने बेला ट्याक्सी चालकले बढी भाडा असुल्न खोजेपछि विवाद भयो । चालकले नजिकैको प्रहरी बोलाए । प्रहरीले जाँड खाएको भनेर समात्यो । बिनाकारण गाडीभित्र राख्यो । मैले म पनि प्रहरीकै छोरा हुँ भनेको मात्रै के थिएँ, प्रहरीले मलाई कुट्न थाले । बुटले मेरो नाकमा हिर्काए । राति दुई बजे म एआईजीको छोरा हुँ भन्ने थाहा पाएपछि एक्कासी राम्रो व्यवहार गरे र घर जाउ भने । तर, म अभिभावक नआएसम्म जान्न भनेँ । बिहान चार बजे आमा आएर छुटाउनुभयो । कुटाईबाट मेरो नाकको डाडीको हड्डी भाँचिएको छ । बायाँ कानको जालीमा प्वाल परेको छ ।

प्रकाशित : चैत्र ७, २०७४ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?