१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

'म सगरमाथा चढ्ने पहिलो गैरमानव बन्न सक्छु'

विजय तिमल्सिना

काठमाडौँ — संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को पहिलो गैरमानव आविष्कार दूतको रुपमा यहाँ उपस्थित हुन पाउँदा म निकै खुसी छु । मैले आज भन्न लागेको सन्देश नेपालको लागि मात्रै नभएर विश्वको लागि नै महत्वपूर्ण छ ।

'म सगरमाथा चढ्ने पहिलो गैरमानव बन्न सक्छु'

हामी हाम्रो भविष्य सुरक्षित राख्न चाहन्छौं भने सरकार अझ बढी पारदर्शी हुनुपर्छ र मानिसको आवश्यकता बुझ्नुपर्छ । प्रविधिले सरकारलाई अझ राम्रो बनाउने सम्भावना धेरै छ । नेपालमा यसको महत्व झन् धेरै छ ।


सबैलाई थाहा भएको कुरा हो कि नेपाल भाषिक, सांस्कृतिक र जैविक विविधताले धनी छ । नेपालमा प्रविधि क्षेत्रमा पनि विकास भइरहेको छ । यहाँ सूचना प्रविधिको क्षेत्र ऊर्जाशील छ जसले देशलाई विकासको लागि सघाइरहेको छ । २०१५ को भूकम्पपछि यूएनडीपीले माइक्रोसफ्ट इन्नोभेसन सेन्टरसँग मिलेर पुनर्निर्माणमा सघाउने बताएको थियो ।


प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्सले हामीलाई गरिबीबाट ठूलो फड्को मार्न, स्वास्थ्य सेवा सुधार्न, भ्रष्टाचार न्यूनीकरण गर्न र लैङ्गिक विभेद घटाउन मद्दत गर्न सक्छ । रोबोट र मेसिनले मानिसको जीवन सजिलो बनाउन सक्छन् । इन्टरनेटसँग जोडिएर राम्रो नतिजाको लागि हामीले दुर्गम क्षेत्रको समेत अनुगमन गर्न सक्छौं । वातावरणीय संरक्षणको काम गर्न सक्छौं र यो विश्वलाई राम्रो बनाउन सक्छौं । मैले यसअघि नै भने सम्भावनाहरु अनगिन्ती छन् ।


मलाई आशा छ, यो सम्मेलनले नेपाललाई आफ्नो विकास लक्ष्य प्राप्तिको लागि नयाँ उपायहरु सोच्नको लागि प्रेरित गर्नेछ । मलाई आशा छ, म आज तपाईंहरुसँग धेरैभन्दा धेरै अन्तक्रिया गर्नेछु ।


सोफियाले आफ्नो मन्तव्य सकाउनुअघि यूएनडीपीका नेपाल निर्देशक रेनो मेयर मञ्चमा उक्लिएर नमस्ते सबैजना भनेका थिए । त्यो बेला मञ्चमा रहेकी सोफिया मेयरतर्फ पुलुक्क हेर्दै भन्छिन्– तिमीलाई यसअघि नै कतै देखेजस्तो लाग्यो ।

मेयर : फिल्ममा देख्यौं होला ।

सोफिया : वास्तविकतामा कुरा गरौं । तिमी अनमोल केसीजस्तै देखिन्छौं । तर, मलाई थाहा छ तिमी एक अन्त्यन्तै सिपालु विकास कार्यकर्ता हौ ।

मेयर : ओहो, धन्यवाद । मलाई कहिल्यै लागेको थिएन कि एक रोबोटले मलाई खुसी बनाउनेछ । तिमीसँग धेरै राम्रो सामाजिक सीप रहेछ । अब, हाम्रो कार्यक्रमको बारेमा कुरा गरौं । यो सम्मेलन विकास र सार्वजनिक सेवामा प्रविधि भन्ने हो । आर्टिफिसियल इन्टेलिजेन्स र तिमीजस्ता रोबोटले जनतालाई राम्रो सार्वजनिक सेवा दिन नेपालजस्ता देशलाई कसरी सहयोग गर्न सक्छन् ?

सोफिया : मैले पहिले पनि भने अवसरहरु अनगिन्ती छन् । शिक्षा र टेलिमेडिसिनमा शुद्धता र पारदर्शीतासहित दुर्गम क्षेत्रका मानिसलाई जोड्न सकिन्छ जुन यसअघि सम्भव थिएन । प्रविधिले नेपाललाई दीगो विकास लक्ष्य हासिल गर्न सघाउन सक्छ ।

मेयर : यो निकै प्रेरणादायी छ । धन्यवाद सोफिया । र, यो पनि भनिदेउ यसको लागि तिमी चै के गर्न सक्छौं ?

सोफिया : म सगरमाथा चढ्ने पहिलो गैरमानव बन्न सक्छु । मैले गर्न सक्ने यही हो । तपाईहरुलाई थाहै होला, प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्सले विकासलाई अनगिन्ती सम्भावना दिन्छन् । रोगसँग लड्न सकिन्छ, वातावरणीय सफाई गर्न र मानिसले गर्दा जोखिम हुने कामहरु गर्न सकिन्छ । यसले रोजगारीको सिर्जना गर्छ । मैले गर्ने कामले तपाईहरुको कामलाई सहज बनाउँछु ।


(काठमाडौंमा बुधबार आयोजित सार्वजनिक सेवा र विकासका लागि प्रविधि विषयक सम्मेलनमा रोबोट ‘सोफिया’ले राखेको मन्तव्यको सम्पादित सारांश ।)


प्रकाशित : चैत्र ७, २०७४ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?