१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

‘सेटिङ’ मा विमानस्थल अध्यागमनका ३२ अधिकृत सरुवा

अख्तियार र विभागबाट भइरहेको अनुसन्धानलाई विषयान्तर गर्नकै निम्ति ‘सेटिङ’ मा अधिकृतहरूको सरुवा
सरुवा र अनुसन्धानबीच कुनै सम्बन्ध छैन, सरुवाकै कारण सेवा प्रभावित हुने अवस्था आउन दिँदैनौं – दीपक काफ्ले, महानिर्देशक, अध्यागमन विभाग
जनकराज सापकोटा

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापा सोमबार दलबलसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कक्षको आकस्मिक निरीक्षणमा पुगे । त्यसक्रममा थापाले अध्यागमनका कर्मचारीका विषयमा हुने गरेका नकारात्मक टिप्पणी अन्त्य हुने गरी काम गर्न निर्देशन पनि दिए ।

‘सेटिङ’ मा विमानस्थल अध्यागमनका ३२ अधिकृत सरुवा

तर केही दिनअघि मात्रै गृहसँग सामान्य मौखिक सहमति पनि नलिई सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेका ३२ अध्यागमन अधिकृतबारे केही बोलेनन् ।


एक सय २९ अधिकृत दरबन्दी रहेको विमानस्थल अध्यागमनमा १ सय ४ अधिकृत कार्यरत छन् । चैत २ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पदभार ग्रहण गर्ने अघिल्लो दिन हठात गरिएको अधिकृतहरूको सरुवापछि अब अध्यागमन ७२ अधिकृतको भरमा चल्नुपर्ने भएको छ । स्रोतका अनुसार गृहसँग सामान्य सहमति लिने परम्परालाई लत्याउँदै मन्त्रीले पदभार गर्ने अघिल्लो दिन हतार–हतारमा गरिएको सरुवाले केही प्रश्नहरू उब्जाइदिएको छ ।


स्रोतका अनुसार अध्यागमनका केही अधिकृतहरूले मानव तस्करसँग मिलेर ‘सेटिङ’मा मान्छे पठाउने गरेको भन्दै अध्यागमन विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेका बेला एक्कासि ठूलो संख्यामा अधिकृतको सरुवा भएको हो । अख्तियारका एक उच्च अधिकारीले विमानस्थलभित्रका केही अध्यागमन अधिकारी, प्रहरी र अन्य कर्मचारीको गतिविधि शंकास्पद देखिएको र ‘सेटिङ’मा अवैध धन्दा भइरहेको भन्दै प्रारम्भिक अनुसन्धान थालिएको बताए ।


स्रोतका अनुसार अख्तियार र विभागबाट भइरहेको अनुसन्धानलाई विषयान्तर गर्नकै निम्ति ‘सेटिङ’ मा अधिकृतहरूको एक्कासि सरुवा भएको हो । कतिसम्म भने सामान्यतया सरुवाको सूची मन्त्रालयको आधिकारिक वेबसाइटमा राखिने परम्परालाई लत्याउँदै सरुवाको सूची बुधबार साँझसम्म बेबसाइटमा राखिएको छैन । अध्यागमनकै एक अधिकृतले सरुवाको पछिल्लो कदमका पछाडि विमानस्थल अध्यागमनकै केही अधिकृतको दौडधुपले काम गरेको देखिने बताए । तर अध्यागमन विभागका महानिर्देशक दीपक काफ्ले अधिकृतहरूको सरुवालाई नियमित सरुवाका रूपमा अथ्र्याउँछन् । उनले सरुवाको निर्णयबाट विमानस्थल अध्यागमनमा भइरहेको गलत काममाथिको अनुसन्धान नरोकिने बताउँदै भने, ‘सरुवा र अनुसन्धानबीच कुनै सम्बन्ध छैन ।’


गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले कर्मचारीको सरुवा सामान्य प्रशासनकै क्षेत्राधिकारभित्र पर्ने र गृहसँग अनुमति लिनुपर्ने व्यवस्था नरहेको बताए । तर उनले यसअघि गृह मातहतका कर्मचारी सरुवामा सामान्य सोधपुछसम्म गर्ने चलन रहेको उल्लेख गरे । स्रोतका अनुसार पछिल्लो सरुवाका बारेमा गृहकै उच्च अधिकारी पनि जानकार थिएनन् ।


तीन सिफ्टमा चल्ने विमानस्थल अध्यागमनले विमानस्थल हुँदै विदेश जाने औसतमा दैनिक ५ देखि ६ हजार यात्रुलाई सेवा दिँदै आएको छ । दरबन्दीभन्दा कम संख्यामा रहेको अधिकृतका भरमा चलिरहेको अध्यागमनको सेवा ठूलो संख्यामा गरिएको पछिल्लो सरुवाले प्रभावित हुन सक्ने सम्भावना देखिन्छ । अध्यागमनकै एक अधिकृतले भने, ‘कर्मचारी अभावमा अहिले पनि अध्यागमन डेस्कमा कर्मचारी पुग्दैनन् । समयमै काम नसकिँदा यात्रुको लामो लाइन हुन्छ र भीड बढछ ।’


प्रवक्ता सुवेदीले कर्मचारी सरुवापछि रिक्त रहेको पदपूर्ति छिट्टै गरिने बताए । अध्यागमन विभागका महानिर्देशक काफ्लेले भने रिक्त पदपूर्ति गर्न सम्बन्धित मन्त्रालयसँग कुरा गरिसकिएको बताए । उनले भने, ‘सरुवाकै कारण सेवा प्रभावित हुने अवस्था आउन दिँदैनौं ।’

प्रकाशित : चैत्र ७, २०७४ २१:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?