कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

बन्धक बनाएर सामूहिक बलात्कार

राजधानीमै बढ्दै बलात्कारका घटना
‘दलका नेताले नै छुटाउँछन् पीडक’
प्रशान्त माली

ललितपुर — बल्खुबाट तीन साताअघि १५ वर्षीया एक किशोरी हराइन् । तीन/चार दिनसम्म फेला नपरेपछि अभिभावकले बालबालिका खोजतलास केन्द्र काठमाडौंमा निवेदन दिए ।

बन्धक बनाएर सामूहिक बलात्कार

टेलिभिजनमा किशोरी हराएको विज्ञापन दिए । सार्वजनिक स्थानमा किशोरीको तस्बिर र हुलिया खुलाई टाँसे । तर कुनै पत्तो लागेन । ११ दिनपछि किशोरी स्वयम्भूमा फेला त परिन् तर कराउने, तर्सने र बर्बराउने हालतमा ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार गत फागुन १७ गते साँझ उनी घरबाट बल्खुतर्फ निस्केकी थिइन् । परिसरका प्रवक्ता डीएसपी मोहन थापाले भने, ‘हराएको दिन किशोरीलाई चक्रपथमा चल्ने बा४ख ३८५१ नम्बरको बसका चालक सन्तोष घिमिरे र सहचालक दिवस गड्तौलाले भेट्टाए ।ललाइफकाई वसुन्धरास्थित ग्यारेजमा लगेर पालैपालो जबर्जस्ती गरे । भोलिपल्ट चालक घिमिरेको हरिसिद्धिस्थित कोठामा लगेर ६ दिनसम्म बन्धक बनाई बलात्कार गरे ।’

प्रहरीका अनुसार किशोरीलाई पिसाबसमेत कोठाभित्रै गर्न लगाई पालैपालो बलात्कार गरेको देखिन्छ । किशोरी फागुन २४ गते थुनिएको कोठाबाट भागिन् । भागेको दिन अर्को बसका चालक सुदीप बजगाईंले भेटेर रातभर बलात्कार गरे । किशोरीको खोजीमा लागेका सहचालक गड्तौलाले त्यसको भोलिपल्ट फेरि उनलाई फेला पारेर चालक घिमिरेलाई जिम्मा लगाए । र, घिमिरेले पुन: कोठामा लगेर जबर्जस्ती गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । चालक घिमिरेले २७ फागुनमा किशारीलाई सातदोबाटोबाट चक्रपथ गुड्ने बा२ख ४१९५ नम्बरको गाडीमा चढाइदिएका थिए । उक्त गाडीका चालक भोला तामाङ र सहचालक चन्द्र सापकोटा मिलेर दिनभर गाडीमा घुमाए । राति स्वयम्भूस्थित ग्यारेजमा पुर्‍याई दुवैले पालैपालो बलात्कार गरे । उनको स्वास्थ्य बिग्रँदै गएपछि चालक तामाङ र सहचालक सापकोटाले गर्भ निरोधक औषधि र २ सय ५० रुपैयाँ दिएर २८ फागुनमा स्वयम्भू लगेर छाडेको प्रहरीको भनाइ छ ।

प्रहरीले हरिसिद्धिस्थित चालक घिमिरेको कोठाबाट गर्भनिरोधक औषधिको खोल, दुई बोतल पिसाब र कन्डम बरामद गरेको छ । प्रहरीले बालिका बलात्कारको आरोपमा घिमिरे, गड्तौला, बजगाईं, तामाङ र सापकोटालाई पक्राउ गरेको छ । पाँचै जनालाई जबर्जस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको छ । बलात्कार गरेको पुष्टि भएमा मुलुकी ऐनको महल १४ अनुसार ६ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुनेछ ।

राजधानीमै बढ्दै बलात्कारका घटना
यसैसाता ललितपुर प्युटारकी ७ वर्षीया एक बालिका पनि बलात्कृत भइन् । बलात्कार आरोपमा प्रहरीले प्युटारका २४ वर्षीय कृष्ण बम्जनलाई नियन्त्रणमा लिएको छ । बम्जनलाई जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत लगनखेलबाट म्याद थप गरेर अनुसन्धान थालेको महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी रवीन्द्र रेग्मीले बताए । दक्षिण दुर्गम पहाडी गाउँकी ती बालिकालाई ललाइफकाई एकान्त ठाउँमा लगेर बलात्कार गरेको प्रहरीको भनाइ छ ।

यस्तै, सातदोबाटोस्थित ज्ञानकुन्ज माध्यमिक विद्यालयकी एक छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले सोही विद्यालयका प्रधानाध्यापक शिव कार्कीलाई शुक्रबार पक्राउ गर्‍यो । निजी विद्यालयको छाता संगठन (प्याब्सन) का ललितपुर जिल्ला अध्यक्षसमेत रहेका कार्कीलाई प्रहरीले जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोका डीएसपी विनोद सिलवालका अनुसार छात्रा पढाइमा कमजोर थिइन् । ‘छात्रा र प्रधानाध्यापक कार्कीको मेडिकल रिपोर्ट आउन बाँकी छ,’ उनले भने । ती छात्रा विद्यालयमै बसेर एसईई परीक्षाको तयारी गरिरहेकी थिइन् । राति कौसीमा राखेर यौन दुव्र्यवहार गरेको आरोप अभिभावकको छ ।

केही महिनाअघि ललितपुरकै गोदामचौर, काठमाडौंको कपन र दक्षिणकालीमा पनि बलात्कार तथा यौनशोषणका घटना सार्वजनिक भएका थिए । कपनमा बलात्कारको सिकार भएकी सुनसरीकी २४ वर्षीया युवतीको उपचारका क्रममा मृत्यु भयो । अदालतले घटनाका आरोपित मोरङका २२ वर्षीय सागर आचार्यलाई गत भदौमा एक वर्ष ६ महिना कैद सजाय सुनायो । यस्तै, गत मंसिरमा ४५ वर्षीया महिलालाई उपचार गर्ने बहानामा यौन दुव्र्यवहार गरेको भन्दै दक्षिणकाली चाल्नाखेलस्थित गुम्बामा बस्ने धर्मगुरु ४६ वर्षीय रिम्पोछे छुल्ठिम दोर्जेविरुद्ध प्रहरीमा उजुरी पर्‍यो । लामाले उपचारको बहानामा महिलालाई गुम्बाभित्र यौनशोषण गर्दै आइरहेको पीडितको आरोप थियो ।

‘दलका नेताले छुटाउँछन् पीडक’
सन् २०१६ को तुलनामा ०१७ मा काठमाडौंमा यौन दुव्र्यवहार र बलात्कारका घटना बढेका छन् । यसबाट महिला अधिकारकर्मी चिन्तित छन् । राष्ट्रिय महिला आयोगकी कानुनी सल्लाकार विमला खडका भन्छिन्, ‘पीडित महिलालाई न्याय दिलाउन सम्बन्धित निकायमा पुर्‍याउन नपाउँदै कुनै न कुनै राजनीतिक दलका नेता कार्यकताको दबाब प्रहरी प्रशासनमा पुगिसक्छ ।’ उनले अधिकांश महिला हिंसाका घटनामा राजनीतिक दलले पीडितको संरक्षणतर्फ ध्यान नदिएको बताइन् । ‘प्राय: यौन हिंसाका घटनाका पीडित महिलाले न्याय पाउँदैनन्,’ उनले भनिन्, ‘केही गरेर अदालतबाट पीडितको पक्षमा फैसला भए पनि समाजमा पुन:स्थापना, औषधि उपचार, जीविकोपार्जन गर्न अति गाह्रो छ ।’

अधिकांश महिलामा कानुनी ज्ञान नभएकाले पनि पीडा लुकाउन बाध्य भएको खडकाको अनुभव छ । ‘प्रहरी प्रशासनले निष्पक्ष भएर काम गर्ने हो भने पीडितले न्याय पाउन सक्छन्,’ उनले भनिन्, ‘समाजमा व्याप्त कुरीति, मूल्यमान्यता, संस्कार र पितृसत्तात्मक सोचले पनि चेलिबेटी हेपिनु परेको छ ।’ महिला आयोगका अनुसार हरेक पाँच महिलामध्ये दुई जना कुनै न कुनै हिंसाको मारमा परेको तथ्यांक छ । महिला हिंसाविरुद्ध राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन, सन्धि, महासन्धि, विभिन्न अन्तर्राष्ट्रिय सम्मेलन र घोषणापत्र जारी गरिएका छन् । तर प्रभावकारी ढंगबाट व्यवहारमा लागू नभएको पीडित पक्षको भनाइ छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी जयबहादुर चन्द जनचेतना र शिक्षाको कमीले विद्यमान कानुनबारे जानकारी नहुँदा बलात्कारका कतिपय घटना अदालतसम्म पुग्नै नसकेको बताउँछन् । ‘महिलामाथि गरिने दुव्र्यवहारलाई समाजले पुरुषको अधिकार र महिलाको दैनिकीका रूपमा लिने गरेको छ,’ उनले भने, ‘यौन दुव्र्यवहारका घटना नियन्त्रणमा लिन जनचतेना अभिवृद्धि र सूचना विस्तार आवश्यक छ ।’

उनले सार्वजनिक सवारी साधनमा हुने यौनजन्य दुव्र्यवहार नियन्त्रण गर्न सेफ्टी पिन अभियान सञ्चालनमा ल्याएको बताए । प्रहरीका अनुसार गतवर्ष काठमाडौंमा बलात्कार घटनामा २९, बलात्कार प्रयासमा ११ र यौन दुव्र्यवहारका १ आरोपीलाई कानुनी दायरामा ल्याइएको छ । यस्तै, ललितपुरमा बलात्कारमा ४, यौन दुव्र्यवहारमा ५ र भक्तपुरमा बलात्कारमा ३ र बलात्कार प्रयासका ३ आरोपीलाई कानुनी दायरामा ल्याइएको प्रहरीले जनाएको छ ।

मुलुकी ऐनको महल १४ मा व्यवस्था भएअनुसार कसैले कुनै महिलालाई मञ्जुरीबिना करणी गरेमा वा १६ वर्षभन्दा कम उमेरकी बालिकालाई करणी गरेमा जबर्जस्ती करणी गरेको ठहर हुनेछ । १० वर्षभन्दा मुनिकी बालिकालाई जबर्जस्ती करणी गरेमा १० देखि १५ वर्ष कैद, १४ र १५ वर्षकी उमेरकी बालिकालाई करणी गरेमा ६ वर्षदेखि १० वर्ष, १६ देखि १९ वर्षकी किशोरीलाई जबर्जस्ती करणी गरेमा ५ देखि ८ वर्ष र २० वर्ष वा त्यसभन्दा बढी उमेरकी महिलालाई जबर्जस्ती करणी गरेमा ५ देखि ७ वर्ष कैद सजाय हुने कानुनी प्रावधान छ ।

प्रकाशित : चैत्र ८, २०७४ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?