कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस कोषाध्यक्ष भेला: देउवा–पौडेल समूह ध्रुवीकरण बढ्यो

हारको जिम्मेवारी नेतृत्वले लिनुपर्छ – रामचन्द्र पौडेल
सुगा हौं र देखेको बोल्न नपाउने ? – प्रकाशमान सिंह
महाधिवेशन भए देउवाले नै जित्नुहुन्छ – विमलेन्द्र निधि

नुवाकोट — निर्वाचनमा पार्टी हारको समीक्षा गर्ने एजेन्डासहित कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्नु दुई दिनअघि यहाँ सुरु जिल्ला कोषाध्यक्षको राष्ट्रिय भेलामै नेताहरूबीच ध्रुवीकरण सुरु भएको छ ।

कांग्रेस कोषाध्यक्ष भेला: देउवा–पौडेल समूह ध्रुवीकरण बढ्यो

निर्वाचनमा हारको दोष नेतृत्वलाई मात्रै दिने या सबैले जिम्मेवारी लिने, यसै विषयमा विशेष वा ‘अर्ली’ महाधिवेशन बोलाउने या महासमिति बैठकमै चित्त बुझाउने, नेतृत्व परिवर्तनको दिशामा अघि बढ्ने या नबढ्ने, निर्वाचन हार्नुमा नेतृत्वको कार्यशैलीलाई दोष दिने या नदिनेजस्ता सवालमा ध्रुवीकरण देखिन थालेको हो ।

निर्वाचनमा पराजित हुनुमा पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई मुख्य कारण ठान्दै संस्थापनइतर पक्ष एकठाउँमा उभिएपछि देउवासमर्थित संस्थापन पक्षका नेताहरू पनि नेतृत्वको बचाउमा लागेका छन् । यस्तै परिदृश्यका साथ कांग्रेस कोषाध्यक्षको दोस्रो राष्ट्रिय भेला बुधबारदेखि सुरु भएको हो ।

उद्घाटन सत्रमा नै संस्थापन पक्ष सभापति देउवाको बचाउमा लागे भने वरिष्ठ नेता रामचन्द्र पौडेलपक्ष नेतृत्वको विरोधमा उत्रिएको थियो । नेताहरूबाटै सुरु भएको यो ध्रुवीकरणको प्रभाव बिहीबार हुने बन्द सत्रमा समेत देखिने छ ।

हारमा सभापति देउवाको मात्रै दोष नभएको भन्दै संस्थापन पक्षका नेताहरूले सार्वजनिक स्थलमै विरोध र एकले अर्कोलाई खुइल्याउने गरी नबोल्न आह्वान गरेका थिए । तर, पौडेल पक्षीय नेताहरूले भने पार्टी सभापति देउवाले संस्थागत रूपमा पार्टी हाँक्न नसकेको, आफ्नो समूहलाई बलियो बनाउने नाममा विधानविपरीतका कदम चालेको र सरकारको नेतृत्व लिँदासमेत प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका थिए ।
उद्घाटन सत्रमा दस मिनेट मात्रै मन्तव्य राखेका देउवाले भने ती आरोपका कुनै जवाफ दिएनन् । उनले पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा नै सबै समीक्षा हुने भन्दै वाम गठबन्धनको सरकारबाट आउने सक्ने चुनौतीका बारेमा आन्दोलनका लागि सचेत रहन नेता–कार्यकर्तालाई आग्रह गरे । ‘अहिल्यै भन्ने बेला त भएको छैन, तर जुन खालको गतिविधि देखिँदै छ, त्यसले लोकतन्त्रमाथि खतरा ल्याउन सक्छ,’ देउवाले भने, ‘त्यतिबेला सदनको विरोधले मात्रै नहुन सक्छ, सडक आन्दोलनसमेत गर्नुपर्ने अवस्था आउँछ, सजग रहनुहोला ।’

संस्थापन पक्षीय नेताहरूले सार्वजनिक रूपमा पार्टी नेतृत्वको आलोचना नगर्न आग्रह गरे पनि वरिष्ठ नेता पौडेलले भने हारमा नेतृत्वको दोष रहेको टिप्पणी गर्दै आलोचनाबाट कांग्रेस अघि बढ्ने जवाफ दिएका थिए । ‘हारको निर्मम समीक्षा गर्नुपर्छ, यसले कांग्रेस कमजोर बनाउँदैन, झन् आत्मबल बढाउँछ,’ उनले भने, ‘नैतिक आत्मबलले मात्रै कांग्रेसलाई अघि बढाउँछ, अन्य साधन र स्रोत त कम्युनिस्टका हातमा पुगिसकेका छन् ।’

पौडेलले इतिहासमै पहिलो पटक संघीय संसददेखि प्रदेशसम्ममा कांग्रेसको स्थान एक चौथाइसम्म पनि नभएको भन्दै यसको जिम्मेवारी लिने कि नलिने भनी पार्टी सभापति देउवाप्रति बारम्बार प्रश्न उठाएका थिए । आफूले पार्टीका लागि आफ्नो स्वार्थ दाउमा राखेको तर पार्टी नेतृत्वले आफ्नो स्वार्थका लागि पार्टीलाई दाउमा राखेको टिप्पणी गर्दै उनले भने, ‘अब हामीसँग बचेको भनेको जनता हुन् । जनतालाई साथ र विश्वासमा लिन मूल्य, मान्यता र काम गर्ने शैलीमा परिवर्तन आउनुपर्छ कि पर्दैन ? त्यसो हुन सकेन भने हामी झनै कमजोर हुनेछौं ।’ सबै नेताहरू अबको महासमिति बैठकबाट विधान संशोधन गरी पार्टीलाई संघीय ढाँचाअनुसार रूपान्तरण गर्नेमा एकमत देखिएका थिए । तर, विधान संशोधनभित्र पनि दुई पक्षका आ–आफ्ना स्वार्थ देखिएका छन् । सभापति देउवा विधान संशोधन गरेर पार्टी संरचनालाई संघीय ढाँचामा रूपान्तरण गर्नुका साथै पदाधिकारी संख्या र सभापतीय अधिकारसमेत बढाएर आफू थप शक्तिशाली बन्ने योजनामा छन् । तर, संस्थापनइतर पक्ष संघीय ढाँचाअनुसार पार्टीलाई रूपान्तरण गर्न महाधिवेशनमा जानुपर्ने पक्षमा लबिइङ गरिरहेको छ ।

महामन्त्री शशांक कोइरालाले भने सदाझंै सभापति देउवाको आलोचना र प्रशंसा केही नगरी आफ्नो मन्तव्य राखेका थिए । उनले भने, ‘पार्टीमा आमूल सुधारको खाँचो छ, अब छिट्टै हुने जिल्ला सभापतिको भेला तथा जिल्ला कार्यसमितिको सुझावलाई टेकेर महासमिति बैठकले पार्टीलाई नयाँ कार्यदिशा दिन सक्नुपर्छ ।’

पूर्वमहामन्त्री प्रकाशमान सिंहले देउवाले विधानविपरीत पार्टी सञ्चालन गरेको, आफ्ना अन्धभक्तहरूलाई मात्रै अवसर दिने गरेको भन्दै खुला रूपमा आलोचना गरे । ‘व्यक्तिको पूजा गरेर, अन्ध समर्थन गरेर यो पार्टी उँभो लाग्नेवाला छैन, अहिलेको मुख्य चुनौती नै कांग्रेसलाई संस्थागत रूपमा कसरी चलाउन सकिन्छ भन्ने हो,’ उनले भने, ‘विधान र नियमावलीअनुसार अब पार्टी चलाउने कि नचलाउने ?’ सिंहले महासमिति बैठकबाट पार्टीलाई संघीय संरचनाअनुसार नयाँ व्यवस्थामा लैजानुपर्ने भएकाले महाधिवेशन आवश्यक हुने बताएका थिए । ‘त्यतिबेला अर्ली र विशेष महाधिवेशन भनिराख्न परेन,’ उनले भने, ‘संघीय संरचनाअनुसार पार्टीलाई लैजान पनि महाधिवेशनमा जानुपर्ने हुन्छ ।’ सिंहले सार्वजनिक रूपमा सभापतिको आलोचना गरेर बोल्न नहुने भनी संस्थापन पक्षले दिएको अभिव्यक्तिको खण्डन गरे । भने, ‘हामी सुगा हो र भएको कुरा पनि बोल्न नपाउने ? सुगाले मात्रै सिकाएको कुरा बोल्छ तर हामी देखेको कुरा बोल्छौं ।’

विशेष महाधिवेशनको माग नराख्न संस्थापन पक्षीय अर्का नेता विमलेन्द्र निधिले पौडेललाई आग्रह गरे । ‘संघीय संरचनाअनुसार पार्टीलाई रूपान्तरण गरौं तर विशेष महाधिवेशनमा जानुको कुनै तुक छैन,’ उनले भने, ‘म रामचन्द्रजीलाई पनि आग्रह गर्छु कि पुरानै प्रतिनिधि सहभागी गराएर महाधिवेशन नगरौं, यो तपाईंको हितमा पनि छैन, किनकि पुरानै प्रतिनिधिबाट फेरि पनि शेरबहादुरजी नै सभापति बन्नुहुन्छ ।’ तर, १३ औं महाधिवेशनमा देउवा पक्षबाट महामन्त्रीका उम्मेदवार भएका नेता अर्जुननरसिंह केसीले भने खुलेर देउवाको आलोचना गरे । निर्वाचनपछि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको तेस्रो धार र केसी देउवाइतर पक्षमा गोलबन्द भएका छन् । सिटौला भने भेलामा सहभागी भएनन् ।

त्यसअघि संस्थापन पक्षीय केन्द्रीय सदस्य प्रकाशशरण महतले निर्वाचन हार्नुमा एमाले र माओवादी केन्द्रको गठबन्धनलाई मुख्य कारण बताएका थिए । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने अहिलेको नेतृत्व पार्टीभित्रका सबै उमेर समूहलाई समेट्न सक्ने क्षमता राख्ने भन्दै पार्टीको काम गर्ने शैली र तरिकामा परिवर्तन गरे पुग्ने बताए । नेताहरूले आफूमा राज्यशक्तिका सम्पूर्ण अधिकार केन्द्रित गरी प्रधानमन्त्री केपी ओलीले अधिनायकवादको यात्रा तय गर्न लागेको भन्दै संशय व्यक्त गरेका थिए । उनीहरूले यसका लागि सडक संघर्ष गर्नुपर्ने दिनसमेत आउन सक्ने भन्दै तयारीका साथ बस्न कार्यकर्तालाई अपिलसमेत गरे ।

यसैबीच, निर्वाचनमा पार्टी हारको मुख्य कारण गुटबन्दीलाई ठान्दै कोषाध्यक्षहरूले यसको अन्त्य गर्न नेताहरूलाई दबाब दिन नुवाकोट घोषणापत्रसमेत जारी गर्ने तयारी गरेका छन् ।

प्रकाशित : चैत्र ८, २०७४ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?