कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नारायणगढ–मुग्लिन सडकखण्डको मिति थपियो

रासस

काठमाडौँ — नारायणगढ–मुग्लिन सडकखण्डको निर्माण सम्पन्न गर्ने मिति तीन महिना थपिएको छ । विभिन्न समयमा काम गर्न नपाएको भन्दै निर्माण कम्पनीले मिति थप्न माग गर्दै आएका थिए । उनीहरुले एक हजार दिनसम्म मिति थपको माग गरेको भए पनि तीन महिना मात्रै थपिएको हो ।

नारायणगढ–मुग्लिन सडकखण्डको मिति थपियो

नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार पहिलो खण्डलाई १० मे, दोस्रो खण्डलाई २० मे र तेस्रो खण्डलाई ३० मे २०१८ सम्मको मिति थपिएको छ ।


सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी ठेक्का दिइएको थियो । त्यसलगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म बर्सात् बढी भएका कारण मिति थप गरिँदै आएको थियो । २०७४ साल सुरु भएयताको दुईपटकको निर्वाचनको समयमा काम गर्न नपाएको, बर्सात्को समय, चाडपर्वको समय र थपिएको काम समेतलाई मिलाएर मिति थप गरिएको खनालले बताए ।


यसअघि तेस्रोपटक थपिएको मिति गत फागुन दोस्रो साता सकिएको थियो । स्वीकृतिका लागि विभागमा पठाइएको भए पनि विभागले बुधबार मात्रै मिति थपको स्वीकृति प्रदान गरेको हो ।


परामर्शदाता कम्पनीले गरेको सिफारिसअनुसार मिति थप भएको खनालले बताए । हालसम्म उक्त आयोजनाका ८२ प्रतिशत काम भएको छ । आयोजनाका इन्जिनियर खनालका अनुसार ३३.२ किलोमिटरमध्ये २४.५ किलोमिटर सडक कालोपत्र भएको छ ।


राजधानी काठमाडौँ र पोखरा जस्ता ठूला शहरलाई तराईसँग जोड्ने मुख्य मार्गका रुपमा रहेको उक्त खण्डको निर्माण ढिलाइ भएको भन्दै चौतर्फी आलोचना हुँदै आएको छ ।

प्रकाशित : चैत्र ८, २०७४ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?