कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

बन्धक बनाएर सामूहिक बलात्कार : पक्राउ परेका ५ जनाको म्याद थप

प्रशान्त माली

ललितपुर — १५ वर्षीया किशोरीलाई बन्धक बनाएर सामूहिक बलात्कार आरोपमा पक्राउ गरेका पाँच जनालाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर प्रहरीले जबर्जस्ती करणी मुद्दामा अनुसन्धान थालेको छ ।

बन्धक बनाएर सामूहिक बलात्कार : पक्राउ परेका ५ जनाको म्याद थप

१५ वर्षीया किशोरी बलात्कारको आरोपमा पक्राउ परेका चालक र सहचालक । तस्बिर : कान्तिपुर

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले बालिकाको मेडिकल जाँच गर्न प्रसूति गृहमा पठाइएको बताए । ‘एक/दुई दिनमा रिपोर्ट आउँछ होला,’ उनले भने, ‘किशोरी अहिले पनि कराउने, तर्सने र बर्बराउने हालतमा छिन् ।’ उनले पीडकलाई हदैसम्मको कारबाहीको माग राखेर सरकारी वकिलमार्फत अदालतमा मुद्दा पेस गरिने बताए ।


बालिकाकी आमाले प्रहरी प्रशासनले निष्पक्ष भएर अनुसन्धान गरेर न्याय दिलाउनुपर्ने बताइन् । ‘छोरीको भविष्य खत्तम गर्ने पाँचै जनालाई कडा कारबाही गरियोस्,’ उनले भनिन् । बल्खुबाट तीन साताअघि हराएकी किशोरीलाई चक्रपथमा चल्ने बा४ख ३८५१ नम्बरको बसका चालक सन्तोष घिमिरे र सहचालक दिवस गडतौलाले भेट्टाएका थिए । चालक घिमिरेको हरिसिद्धिस्थित कोठामा लगेर ६ दिनसम्म बन्धक बनाई बलात्कार गरेका थिए । अर्का बसका चालक सुदीप बजगाईं र चक्रपथ गुड्ने बा२ख ४१९५ नम्बरको गाडीका चालक भोला तामाङ र सहचालक चन्द्र सापकोटाले पनि मिलेर पालैपालो बलात्कार गरेका थिए । मुलुकी ऐनको महल १४ मा व्यवस्था भएअनुसार १५ वर्षकी किशोरीलाई करणी गरेमा ६ वर्षदेखि १० वर्षसम्म कैद सजाय हुने कानुनी प्रावधान छ ।


अर्का बलात्कार आरोपीको पनि म्याद थप

प्रहरीले ललितपुर प्युटारकी ७ वर्षीया बालिका बलात्कार आरोपमा पक्राउ परेका प्युटारका २४ वर्षीय कृष्ण बम्जनलाई पनि जिल्ला अदालत ललितपुरबाट चार दिनको म्याद थप गरेर अनुसन्धान थालेको छ । पीडितका अभिभावकले सोमबार बम्जनमाथि जबर्जस्ती करणी मुद्दा दर्ता गरेका थिए । महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी रवीन्द्र रेग्मीले बलात्कारीलाई हदैसम्मको कारबाही माग गरी सरकारी वकिलसमक्ष पेस गरिने बताए । ‘पीडितको थापाथलीस्थित प्रसूति गृह र पीडकको वीर अस्पतालमा मेडिकल जाँच भइरहेको छ,’ उनले भने । बम्जनले दक्षिण दुर्गम पहाडी गाउँकी ती बालिकालाई ललाइफकाई एकान्त ठाउँमा लगेर बलात्कार गरेको प्रहरीको भनाइ छ ।


प्रधानाध्यापक थप ७ दिन हिरासतमा

यस्तै, सातदोबाटोस्थित ज्ञानकुञ्ज माध्यमिक विद्यालयकी एक छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका सोही विद्यालयका प्रधानाध्यापक शिव कार्कीलाई पनि प्रहरीले सात दिनको म्याद थप गरेर अनुसन्धान थालेको छ । सातदोबाटो प्रहरीले कार्कीलाई म्याद थप गरेको यो दोस्रोपटक हो । यसअघि तीन दिनको म्याद थपिसकेको छ । पछिल्लो पटक थपेको म्याद बुधबार सकिनेछ । महानगरीय प्रहरी परिसर सातदोबाटोका डीएसपी विनोद सिलवालले कार्कीको मेडिकल रिपोर्ट आइसकेको बताए । ‘किशोरीको आउन बाँकी छ,’ उनले भने । आरोपित कार्की निजी विद्यालयको छाता संगठन (प्याब्सन) का ललितपुर जिल्ला अध्यक्ष हुन् ।


प्रकाशित : चैत्र ९, २०७४ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?