सडक विस्तार गर्न जनकपुरमा २ हजार घर भत्काइदैँ

अजित तिवारी

जनकपुर — सडक विस्तार गर्न जनकपुरको मुख्य बजार क्षेत्रका घर र व्यापारिक भवन भत्काएको छ । एक्साभेटरको प्रयोग गरेर जनकपुरको जनक चोकदेखि भानु चोकसम्मको घर भत्काउन सुरु गरेको हो ।

सडक विस्तार गर्न जनकपुरमा २ हजार घर भत्काइदैँ

जनकपुर उप–महानगरपालिकाले सडक क्षेत्रमा परेका घर भत्काउन पटक पटक आग्रह गरे पनि अटेरी गरेकाहरुको घर शनिबार बिहानैदेखि भत्काउन थालिएको हो । उपमहानगरपालिकामा शुक्रबार बसेको बैठकले शनिबारदेखि सडक क्षेत्रमा परेको घर भत्काउने निर्णय गरेको थियो ।


उप–महानगरपालिकाको निर्णय सार्वजनिक भएलगत्तै शुक्रबार साँझदेखि नै केहीले मजदुर लगाएर आफैं घर तोडफोड गर्न थालेका छन् । आफैंले भत्काएको घरमा एक्साभेटरले हिर्काएको छैन । जनकपुरको जनक चोकदेखि भानुचोकसम्मको क्षेत्र यहाँको मुख्य व्यापारिक बजार हो । पसल र व्यापारिक भवन मात्रै रहेको यो क्षेत्रको सडक विस्तार गर्न उप–महानगरपालिकाले शनिबारदेखि डोजर लगाएको छ ।


जनकपुरको भानु चोकमा सडक फराकिलो बनाउन भत्काएकाे बजार क्षेत्र। तस्बिर : अजित/कान्तिपुर

मुख्य बजार क्षेत्रमा घर भत्काउन डोजर लगाउँदा सर्वसधारणको ठूलो भीड लागेको छ । प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थितिमा घर भत्काएको छ ।


एशियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा जनकपुरमा निर्माण भइरहेको ढल–नाला र सडक निर्माणमा मुख्य बजार क्षेत्रकै घर र व्यापारिक भवनले अबरोध पुगेको थियो । सुरुमा उप–महानगरपालिका कार्यालयले नै बजार क्षेत्रको घर भत्काउन अनिच्छा देखाएको थियो । पछि, चौतर्फी दबाब परे पछि भत्काउन सुरु गरेको हो ।


जनकपुरको भानु चोकमा सडक फराकिलो बनाउन भत्काएकाे बजार क्षेत्र। तस्बिर : अजित/कान्तिपुर

१६ मिटर चौडाइको बनाउन लागिएको नयाँ सडकको दुबै छेउमा १/१ मिटर फुटपाथ निर्माण गरिनेछ । उप–महानगरपालिकाले सडक मापदण्ड मिचेर बनेको घर भत्काउन अभियानै थालिने बताएको छ ।


एडीबीको १ अर्ब ९० करोड मध्ये सडक विस्तार र ढलनाला निर्माणमा ९८ करोड ९८ लाखमा बजार क्षेत्रको १० किलोमिटर सडक फराकिलो र २० किलोमिटर ढल–नाला निर्माण भइरहेको छ ।


सहरी विकास आयोजनाका प्रमुख इञ्जिनियर वीरेन्द्रकुमार यादवका अनुसार सडक फराकिलो बनाउन जनकपुर क्षेत्रका करिब दुई हजार घर–टहरा भत्काइने छन् ।

प्रकाशित : चैत्र १०, २०७४ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?