सेनालाई प्रधानमन्त्रीको निर्देशन-‘जस्तोसुकै चुनौती सामना गर्न तयार रहनू’

‘सेनालाई थप सशक्त बनाउन सरकारले कुनै कन्जुस्याइँ गर्नेछैन’
चन्द्रशेखर अधिकारी

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले मुलुकमा आउन सक्ने जस्तोसुकै चुनौती सामनाका लागि तयार रहन नेपाली सेनालाई निर्देशन दिएका छन् । व्यक्ति र दल उही भए पनि अहिलेको परिस्थिति फरक रहेको भन्दै प्रधानमन्त्रीले सेनालाई सम्भावित चुनौतीप्रति सतर्क गराएका हुन् ।

सेनालाई प्रधानमन्त्रीको निर्देशन-‘जस्तोसुकै चुनौती सामना गर्न तयार रहनू’

राष्ट्रिय सुरक्षा परिषदका अध्यक्षसमेत रहेका ओली शुक्रबार साँझ परिषद् सदस्यहरू रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री युवराज खतिवडासहित सैनिक मुख्यालय पुगेका थिए । टोलीमा सुरक्षा परिषदका सदस्यसचिव एवं रक्षा सचिव विनोद केसी पनि थिए । मुख्यालयमा सुरक्षा परिषद् सदस्यसमेत रहेका प्रधानसेनापति राजेन्द्र क्षत्रीले टोलीलाई ‘ब्रिफिङ’ गरेका थिए ।


परराष्ट्र सम्बन्ध र कूटनीतिक मामिला थप बलियो र प्रभावकारी बनाउन राष्ट्रिय सुरक्षा सल्लाहकार युनिट बनाएर अघि बढ्ने अवधारणा अघि सारेका प्रधानमन्त्रीले सेनाको पछिल्लो अवस्थाबारे जानकारी पनि लिए । ‘मुलुकमा आइपर्न सक्ने जस्तोसुकै चुनौती सामना गर्न सक्ने गरी तयार रहनुपर्छ,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै सेनाले जानकारी दियो, ‘नेपाली सेना आफ्नो मूल्यमान्यतामा कायम रही कर्तव्य पूरा गर्नेमा म पूर्णरूपले विश्वस्त छु ।’


प्रधानमन्त्रीले सुरक्षा परिषद् सदस्यहरूसहित मुख्यालय भ्रमण गरेको सम्भवत: यो पहिलो पटक हो । उनले शुक्रबार साँझ दुई घण्टाभन्दा बढी सैन्य मुख्यालयमा बिताएका थिए । सैनिक मुख्यालयमा प्राय: प्रधानमन्त्री र रक्षामन्त्रीले यस्तो भ्रमण गर्ने प्रचलन थियो । यस्तो छलफलबाट सेनासम्बन्धी जानकारी एकमुष्ट रूपमा सम्बन्धित निकायमा पुगेको सेनाका प्रवक्ता एवं सहायकरथि गोकुल भण्डारीले बताए ।


यसलाई राष्ट्रिय सुरक्षा सल्लाहकार युनिट बनाउने कार्यकै प्रारम्भिक छलफलका रूपमा लिन सकिने प्रधानमन्त्री निकटस्थले सुनाए । ‘प्रधानमन्त्रीको यो भ्रमण पूर्ण निर्देशन दिने र मुख्यालय निरीक्षण गर्ने औपचारिक कार्यक्रम नै हो । यसअघिका प्रधानमन्त्री पनि यसरी आउने गर्नुभएको छ,’ नेपाली सेनाका प्रवक्ता भण्डारीले भने, ‘सेनाको कामको प्रकृतिसँग मिल्ने अन्य विभागीय मन्त्री पनि सँगै रहनुभएको हो ।’ सेनाका विभिन्न विभागको प्रस्तुतिपछि प्रधानमन्त्रीले सीमित स्रोत र साधनमा सेनाले गरेको कामको प्रशंसा गरे । सेनाबारे बाहिर उठ्ने जिज्ञासालाई समेत ध्यान दिन चुक्न नहुने उनले सुझाएको एक सहभागीले बताए ।


‘सेना थप क्षमतावान र प्रशंसनीय हुनुपर्छ,’ अन्तर्राष्ट्रिय क्षेत्रमा विश्व शान्ति स्थापनार्थ गरेका कार्यहरूको प्रशंसा गर्दै उनले सैन्य कूटनीतिको पाटोमा सरकारको ध्यान रहेको बताएका थिए ।


‘राष्ट्रिय सुरक्षा नीतिलाई प्रभावकारी ढंगले कार्यान्वयन तहमा ल्याउने र अन्य विविध प्रकारका चुनौती चिर्न सेनालाई थप सशक्त बनाउन सरकारले कन्जुस्याइँ गर्नेछैन,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै सैन्य स्रोतले भन्यो, ‘सेनाले भन्दै आएको आन्तरिक चुनौतीलाई पनि सरकारले आफ्नो तवरले समाधानको बाटोमा काम गर्नेछ । आवश्यक पर्दा सबै सुरक्षा निकायलाई सहभागी गराइनेछ ।’

प्रकाशित : चैत्र १०, २०७४ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?