३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

२० वर्षे यातायात थन्किए

संखुवासभा — बीस वर्षे पुराना गाडी विस्थापित गर्ने सरकारी नीति लागू भएपछि यस्ता यातायातका साधन ग्यारेजमा थन्किएका छन् । तर, ग्रामीण क्षेत्रमा भने यातायात ठप्प भएको छ । गाउँगाउँसम्म चल्ने सवारी नगुडेपछि स्थानीयलाई यात्रा गर्न समस्या भएको छ ।

२० वर्षे यातायात थन्किए

कच्ची र कृषि सडकमा सञ्चालन हुने साना सवारीका साधनहरू ठप्प भएका छन् । ग्रामीण सडकमा सञ्चालन भइरहेका अधिकांश सवारी विस्थापित भएका छन् । बीस वर्षे सवारी साधन चलाएको भेटिए कारबाही गर्ने डीएसपी सन्तोष खड्काले बताए । चैत १ देखि हामीले यस्ता यातायातका साधन चलाउन रोक लगाएका छाैं, उनले भने, ‘कसैले चलाएको भेटिए नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राख्छौं ।’ सबै तहका प्रहरी युनिटमा खबर गरिसकेको उनले बताए ।

२० वर्ष नाघेका सवारी सञ्चालन हुन नदिएपछि ग्रामीण क्षेत्रमा दैनिक सञ्चालन हुने सवारी सञ्चालन हुन नसकेको संखुवासभा यातायात व्यवसायी संघका अध्यक्ष हरिश्वर थापामगरले बताए । हिले खाँदबारी, गुफापोखरी, मादी, भोटखोला लगायतका ग्रामीण क्षेत्रमा दैनिक सञ्चालन हुने सवारी रोकिएका छन् । यी सडक खण्डमा फोर ह्वीलका यस्ता सवारी साधनमात्रै चल्दै आएको थियो । प्रहरीले पनि पुराना गाडी चलाउन पूर्णरूपमा रोक लगाएपछि ग्यारेजमा थन्काउन बाध्य भएको यातायात व्यवसायी आशिष शाक्यले बताए । जिल्लामा सञ्चालन हुने अधिकांश गाडीहरू २० वर्ष नाघेका भएकाले अहिले सवारी साधनहरू कम मात्रै सञ्चालन हुँदा यात्रुलाई मर्का परेको छ । विशेषगरी सदरमुकामदेखि गाउँसम्म सञ्चालन हुने वान टेन, महिन्द्रा पिकअप र वान नाइनलगायतका गाडीहरू विस्थापित भएपछि दुर्गमका बासिन्दालाई सकस भएको शाक्यले बताए ।

यातायात व्यवसायीहरूका अनुसार जिल्लाबाट वान टेन, वान नाइन, महिन्द्रालगायत साना गाडीहरू सय बढी विस्थापितको सूचीमा परेका छन् । जिल्ला उत्तरी, दक्षिणी र पूर्वी भेगका गाउँपालिका र नगरपालिकासम्म सञ्चालन हुने सवारी नचल्दा यहाँका बासिन्दा धनकुटा भएर धरान, विराटनगर जान पाएका छैनन् ।

उनीहरू सदरमुकाम आएर तराई जाने गरेका छन् । पहिले गाउँबाट सीधै तराई जान्थाैं, अहिले सदरमुकाम घुमेर जानुपर्छ, धुपुका इन्द्र भट्टराईले भने, ‘सदरमुकाम आउन बाध्य भयौं, सदरमुकामसम्म हिँडेरै आउनुपर्छ ।’ तायातका साधन परीक्षण गरेर चलाउन दिनुपर्ने उनले माग राखे ।

प्रकाशित : चैत्र ११, २०७४ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?