कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

कांग्रेस बैठकः आरोप/प्रत्यारोपमा केन्द्रित

कोइरालाद्वारा अग्रिम महाधिवेशनको माग
कुलचन्द्र न्यौपाने

काठमाडौँ — निर्वाचन हार्नुका कारणबारे समीक्षा गर्न बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आरोप/प्रत्यारोपमा केन्द्रित भएको छ । निर्वाचन पराजयमा सभापति शेरबहादुर देउवाको भूमिकाबारे आरोपप्रत्यारोप चलेको हो ।

कांग्रेस बैठकः आरोप/प्रत्यारोपमा केन्द्रित

बैठकमा संस्थापन पक्षले वाम गठबन्धनलाई प्रमुख कारण मान्दै नेतृत्वको बचाउ गरेको छ भने संस्थापनइतर पक्ष नेतृत्वकै कमजोरीलाई प्रमुख कारण ठहर्‍याउँदै देउवाको गम्भीर आलोचनामा उत्रिएको छ ।


निर्वाचन हार्नुमा सम्पूर्ण दोष नेतृत्वलाई लगाउँदै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले फागुन १३ र पूर्वमहामन्त्री प्रकाशमान सिंहले चैत ९ को केन्द्रीय कार्यसमितिको बैठकमा पत्र प्रस्तुत गरेका थिए । त्यसपछि संस्थापन पक्षीय सदस्यहरू प्रतिवादमा उत्रिएका हुन् ।


०७५ चैतमा महाधिवेशनको माग

सभापति देउवाको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै आएका नेता शेखर कोइरालाले ०७५ चैत या ०७६ वैशाखमा पार्टीको १४ औं महाधिवेशन हुनुपर्ने लिखित प्रस्ताव सोमबारको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गरेका छन् । यस्तै प्रस्ताव युवा नेताहरूले पनि प्रस्तुत गर्ने तयारी गरेका छन् । कोइरालाले देउवाको कार्यकाल सकिनु एक वर्षअघि ०७५ माघ या ७६ वैशाखमा महाधिवेशन माग गरेका हुन् ।


पार्टी सभापतिको कार्यशैली नै पार्टी हार्नुमा प्रमुख जिम्मेवार रहेको कोइरालाको आरोप छ । वाम गठबन्धनदेखि प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव, आर्थिक चलखेलका आधारमा राजदूत नियुक्ति, प्रहरी महानिरीक्षक नियुक्तिमा हस्तक्षेप, भागबन्डा र गुटका आधारमा टिकट वितरण, आर्थिक चलखेलका आधारमा स्थानीय तह र समानुपातिकमा उम्मेदवार छनोटजस्ता कारण पनि उनले उल्लेख गरेका छन् ।


त्यसअघि कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले पार्टीको १४ औं महाधिवेशनलाई लक्षित गरेर नेतृत्वमाथि हमला हुन थालेको बताए । ‘कहीँ पे निगाहें, कहीँ पे निसाना’ भन्ने हिन्दीको एउटा प्रसंग उल्लेख गर्दै लेखकले भने, ‘नजर निर्वाचनमा पराजितको समीक्षा छ तर यहाँ एउटै व्यक्तिका टाउकामा सम्पूर्ण दोष थुपारेर महाधिवेशनको तयारी भइरहेको छ । नेतृत्वका टाउकामा मात्रै सम्पूर्ण दोष थुपार्ने अतिरञ्जना गरेर यस्तो काम नगरौं ।’


लेखकले भने ०६४ सालमा पनि पार्टी पराजित हुँदा त्यतिबेला अहिले जस्तो आरोपप्रत्यारोप नभएको बताए । ‘०६४ मा २ सय ४० निर्वाचन क्षेत्रमध्ये कांग्रेसले १५ प्रतिशत सिट जितेको थियो । अहिले १ सय ६५ निर्वाचन क्षेत्रमा १३ प्रतिशत जितेको छ,’ उनले भने, ‘त्यतिबेला सर्मनाक नहुने ? अहिले सर्मनाक र पीडादायक हुने ?’


कोइरालाले अहिले अवसर लिन गुट र व्यक्तिनिकट भए हुने रहेछ भन्ने ठम्याइ कार्यकर्तामाझ फैलिएको टिप्पणी गरे । ‘अगाडिका सभापतिहरू सुशील कोइराला, गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईले पनि प्राय: आफू निकटलाई जिम्मेवारी र अवसर दिनुहुन्थ्यो तर त्यतिबेला कांग्रेस हुनुपर्ने मापदण्ड थियो,’ कोइरालाले भने, ‘तर तपाईंका पालामा अवसर लिन कांग्रेस नभए पनि हुने रहेछ । केवल गुट र व्यक्तिनिकट भए हुने रहेछ भन्ने ठम्याइ दूरदराजका कार्यकर्तामाझ फैलिएको छ ।’


सभापतिको व्यक्तिवादी चरित्र, सत्ता र शक्तिलाई मात्रै सर्वेसर्वा मान्ने प्रवृत्ति रहेकै कारण पार्टी अहिलेको पोजिसनमा पुगेको कोइरालाको ठम्याइ छ । ‘सभापतिजी संगठनप्रति त्यति संवदेनशील देखिनुभएको छैन, व्यक्ति हारेको हो, पार्टी हारेको होइन भन्ने अभिव्यक्ति दिनुभएको छ । यो आपत्तिजनक छ,’ कोइरालाले थपे, ‘पार्टी त कब्जा गर्नुभएको छ तर मुलुक वामपन्थीको कब्जामा पुर्‍याउनुभयो ।’ संघदेखि केन्द्रसम्म प्रतिपक्षको हैसियत गुमाउँदा पनि समानुपातिकको पपुलर भोटका आधारमा हामी हारेका छैनौं भनेर नेतृत्वले भन्नु लज्जास्पद रहेको कोइरालाले बताए ।


लेखकले केन्द्रीय कार्यसमितिबाटै संसदीय समिति र केन्द्रीय कार्यसम्पादन समिति गठन भएको भन्दै नेतृत्वलाई विधानविपरीत कदम चालेको भनी दोषारोपण नगर्न आग्रह गरे । सभापति देउवाले यी दुवै समितिमा विधानले व्यवस्था गरेभन्दा बढी सदस्य राखेर गठन गरेका छन् । त्यसलाई लिएर वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री सिंह र कृष्णप्रसाद सिटौलासहित उनीहरू पक्षीय सदस्यहरूले विधानविपरीत गठन भएका यी दुवै समिति पुनर्गठनको माग गर्दै आएका छन् । ‘त्यतिबेला मिलेरै गरिएको हो । अहिले आएर सभापतिलाई मात्रै दोष दिन कसरी मिल्छ ?’ लेखकले प्रश्न गरे । उनीपछि बोल्ने सदस्य लक्ष्मी परियारले पनि देउवामाथि लागेको आरोपको प्रतिवाद गरेकी थिइन् ।


केन्द्रीय सदस्य बलबहादुर केसी, आनन्द ढुंगाना, रामकृष्ण यादव, गोविन्द भट्टराई, सरीता प्रसार्इं, मीन विश्वकर्मालगायतले निर्वाचन हार्नुमा वाम गठबन्धन मात्रै कारण नभई नेतृत्वको कमीकमजोरी जिम्मेवार रहेको बताएका थिए । भट्टराईले पार्टी पराजित हुनुमा नेतृत्वले नैतिक जिम्मेवारी लिनुपर्ने बताए । ‘पार्टी बनाउने र बिगार्ने नेताहरूबाटै हो । तपार्इं (देउवा) हारको जिम्मेवारी लिएर पार्टीलाई पुरानै ठाउँमा लैजान्छु भन्ने आँट किन गर्न सक्नुहुन्न ?’ उनले भने, ‘यतिबेला कांग्रेस साँच्चै नेतृत्वविहीनजस्तो भएको छ ।’ केन्द्रीय सदस्य डिला संग्रौलाले लिखित मन्तव्य राख्दै पार्टीभित्र गुटबन्दी र व्यक्तिवादी चरित्र अन्त्य गर्नुपर्ने माग गरिन् । उनले कार्यकर्ताको मूल्यांकन र मापदण्डअनुसार टिकट वितरण नभएका कारण कांग्रेसले पराजय भोग्नुपरेको बताइन् ।


अधिनायकवादको संकेत

बैठकमा लिखित दृष्टिकोण राख्दै कांग्रेस नेता शेखर कोइरालाले न्याय परिषदका सचिवको पत्रका नाममा प्रधानन्यायाधीश गोपाल पराजुलीलाई बर्खास्त गरिएको दाबी गर्दै यो घटनाले मुलुकमा अधिनायकवाद आउने संकेत मिलेको बताएका छन् । ‘न्यापरिषदको सचिवले प्रधानन्यायाधीशलाई बर्खास्त गर्नु अधिनायकवादको खुडकिलो हो,’ कोइरालाले भने, ‘बिस्तारै थाहा नपाउने तरिकाले मिडियामा सेन्सरसिप लगाउँछ । त्यसपछि सुरक्षा निकाय कब्जा गर्छ अनि अधिनायकवाद आउँछ ।’ उनले अहिलेकै कांग्रेसले कम्युनिस्ट अधिनायकविरुद्ध लड्न नसक्ने बताए ।

प्रकाशित : चैत्र १२, २०७४ २०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?