कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

सम्बन्ध राम्रो बनाउन भारत जाँदैछु : ओली

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले भारतसँगको सम्बन्ध राम्रो बनाउन केही समयभित्रै भ्रमणमा जान लागेको बताएका छन् । प्रधानमन्त्री ओलीले संविधान जारी गर्दा त्यसमा भारतले केही असन्तुष्टि जनाए पनि अब त्यो विषय नै सकिएको पनि बताएका छन् । 

सम्बन्ध राम्रो बनाउन भारत जाँदैछु : ओली

‘संविधानअन्तर्गत चुनाव नै भएर नयाँ सरकार बनेपछि अब त्यो विषय नै रहेन,’ अन्जान शाक्य र माधवजी श्रेष्ठद्वारा लिखित पुस्तक ‘नेपाल–चाइना रिलेसन्स न्यु एभिन्युज एन्ड पोसिबिलिटिज’ राजधानीमा सोमबार लोकार्पण गर्दै प्रधानमन्त्रीले भने, ‘भारतसँगको सम्बन्ध अझै प्रगाढ बनाउन म नयाँदिल्ली केही समयभित्रै जाँदैछु ।’


प्रधानमन्त्रीको भारत भ्रमणको चर्चा चलिरहे पनि सरकारले अहिलेसम्म यस विषयमा केही बोलेको थिएन । भारतीय पक्षबाट भने चैत २३–२५ मा प्रधानमन्त्री ओलीको भारत भ्रमण हुने सूचना आइरहेको थियो । ओलीको भनाइले त्यसको औपचारिक रूपमा पुष्टि गरे पनि उनले भ्रमणको मिति भने खुलाएनन् ।


उनी पहिलो पटक प्रधानमन्त्री हुँदा भारतसँगको सम्बन्ध अत्यन्तै चिसिएको थियो । नेपालमा संविधान जारी भएको विषयमा असन्तुष्टि राख्दै भारतले नाकाबन्दी लगाएको थियो । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट एमालेसहितको वाम गठबन्धन शक्तिशाली रूपमा उदाएपछि भारतले आफ्नो भूमिका परिवर्तन गर्न चाहेको देखिन्छ । सम्बन्ध सुधारका लागि एमालेको निमन्त्रणामा भारतीय विदेशमन्त्री सुष्मा स्वराज ओली नेतृत्वको सरकार बन्नुअघि नै नेपाल भ्रमणमा आएकी थिइन् । स्वराजको भ्रमणपछि प्रधानमन्त्री ओली एवं सत्तारूढ प्रमुख दल एमालेसँगको सम्बन्ध सुध्रिएको ठानिएको छ ।


दोस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि ओलीले विदेश भ्रमण भारतबाटै सुरु गर्न लाग्नुले यसको औपचारिक पुष्टि भएको छ । प्रधानमन्त्री ओलीले नेपालले सबै छिमेकीसँग मित्रतापूर्ण सम्बन्ध चाहेको पनि बताए । ‘मित्रता असमान हुँदैन र असन्तुलित पनि,’ उनले थपे, ‘असमान व्यवहार गरेर मित्रता हुँदैन ।’


ओलीले चीनको विषयमा पनि बोले । चीनले नेपालको सार्वभौमसत्ता, अखण्डता र आन्तरिक मामिलामा अहस्तक्षेपकारी नीति लिने खुला धारणा राखेको भन्दै ओलीले त्यसप्रति खुसी व्यक्त गरे । ‘अति निकटता देखाउँदा शंका पनि गर्नुपर्छ,’ उनले भने, ‘कसैले धेरै चाट्छ भने छाला नै लैजान सक्छ, गैंडा भएको मुलुकका नागरिक हौं, कतिसम्म चाटेको हो भन्ने थाहा पाउँछौं ।’ प्रधानमन्त्रीले नेपालको आन्तरिक मामिलामा कसैले हात हालेको सह्य नहुने पनि बताए ।


ओलीले विकासका लागि छिमेकीको सहयोग लिने तर भीखमंगाजस्तो माग्दै नहिँड्ने बताए । ‘चीन नेपाललाई सहयोग गर्न सक्ने अवस्थामा छ, चीनको सामथ्र्य पनि छ,’ उनले भने, ‘हाम्रो अवस्था अहिले त्यति राम्रो छैन, सुधार भएपछि नेपालले पनि सहयोग गर्छ ।’


परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–चीन सम्बन्ध नागरिक तहमै पुगेकाले विकासमा साझेदारी गर्नुपर्ने धारणा राखे । कांग्रेस नेत्री सुजाता कोइरालाले ओली सरकारले चीनसँग अघिल्लो पटक गरेका सम्झौता कार्यान्वयन गर्न सुझाव दिइन् । उनले सरकारले स्थायित्व र विकासका लागि काम गर्नुपर्ने बताइन् । चिनियाँ राजदूत यु होङले चीनको विकासबाट छिमेकी देशले पनि लाभ लिन सक्नुपर्ने बताइन् ।


प्रकाशित : चैत्र १२, २०७४ २०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?