उखु किसानको मागबारे सरकार नबोलेकोमा सांसदहरुको असन्तुष्टि

'वाचा गरेको रकम उद्योगले दिंदैन भने ब्याजसमेत जोडेर सरकारले असुल गरिदिनुपर्छ'

काठमाडौँ — उखु किसानको मागबारे सरकार नबोलेकोमा सांसदहरुको असन्तुष्टि जनाएका छन् ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा एमाले सांसद बलराम बास्कोटा र कांग्रेस सांसद राधेश्याम अधिकारीले उखु किसानका मागलाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।

उखु किसानको मागबारे सरकार नबोलेकोमा सांसदहरुको असन्तुष्टि

सर्लाहीका किसानहरुले उखुको भुक्तानी नदिएको भन्दै हरिवनस्थित इन्दुशंकर चिनी उद्योगविरुद्ध आन्दोलन गर्दै आएका छन् । किसान चरणबद्ध आन्दोलनमा उत्रंदा पनि सरकारले कुनै धारणा सार्वजनिक नगरेकोमा सांसदहरुको आपत्ति थियो ।


‘उखु मिलले अहिलेसम्म किसानलाई भुक्तानी दिएको छैन । किसानहरु रिले अनसनमा बसेका छन् । आमरण अनसनमा बसेका छन्,’ एमाले सांसद बास्कोटाले भने, ‘यति हुँदा पनि सरकारको ध्यानाकर्षण भएको छैन । सरकारको जिम्मेवार तहबाट कुनै कुरा आएको छैन ।’


मुलुकमा कृषि यान्त्रिकरण, कृषि बजारीकरण र कृषि विकासको कुरा गरिरहेको सरकारले किसानलाई राहत दिने कुरामा ध्यान नदिएको भन्दै बास्कोटाले तत्काल उखु किसानका माग पूरा गर्न आग्रह गरे ।


कांग्रेस सांसद राधेश्याम अधिकारीले किसानको लगानी सुरक्षा हुन नसकेको भन्दै सर्लाहीको चिनी उद्योगबाट किसानको ब्याजसमेत असुल गर्नुपर्ने धारणा राखे । ‘किसानले उत्पादनको मूल्य पाउदैनन् भने लगानी सुरक्षण कसरी हुन्छ ?,’ अधिकारीको प्रश्न थियो, ‘मैले यति बेचे भने यति पैसा पाउँछु भन्ने थाहा हुँदा हुँदै पनि किसानले मुल्य पाएको छैनन् । संघर्ष गर्नुपरेको छ । सरकारले केही गरेको छैन । वाचा गरेको रकम उद्योगले दिंदैन भने ब्याजसमेत जोडेर सरकारले असुल गरिदिनुपर्छ ।’


अधिकारीले उखु किसानका मागबारे सरकारको धारणा सदनलाई जानकारी दिनुपर्ने माग राखे ।


प्रकाशित : चैत्र १३, २०७४ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?